प्रदेश नामाङ्कनमा सुझाव संकलन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रदेश नामाङ्कनमा सुझाव संकलन


१० बैशाख २०७५, सोमबार


बागलुङ । विभिन्न क्षेत्रका अगुवाले प्रदेश नं ४ प्रदेशको नामाङ्कनमा लिखित तथा मौखिक सुझाव राखेका छन् ।

प्रदेश राजधानी र नामाङ्कन समितिमा उनीहरुले प्रदेशको नामकरणमा विभिन्न विकल्प सुझाएका हुन् । प्रदेश राजधानी भने हाल अस्थायी रुपमा तोकिएको पोखरा नै उपयुक्त हुनेमा एकमत देखिएको छ ।सुझावकर्ताहरुले धवलगण्डक, धवलागिरि–गण्डकी, ढोरपाटन, सेतीकाली, तमुवान–मगरात आदि नाम राख्न सुझाव दिएका हुन् । प्रदेशको नामबारे लिखित रुपमा सुझाव राख्नेले त्यसको आधारसमेत खुलाएका छन् ।

प्रदेशको नामकरण गर्दा संघीयताको मर्म भुल्न नहुने अधिकांशको सुझाव छ । समग्र प्रदेशको साझा पहिचान झल्कने गरी नामकरण गरिनुपर्ने गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए । ‘सबैको अपनत्व झल्कने गरी साझा नाम राखिनुपर्छ’, उनले भने । नामाङ्कन गर्दा भूगोलदेखि इतिहास, संस्कृति, धर्मजस्ता पहिचानका विषय समेट्नुपर्ने आवाज उठेको छ । पूर्व संविधानसभा सदस्य केशरी घर्तीले प्रदेश नं ४ को नाम ‘तमुवान–मगरात’ हुनुपर्ने माग गरे । उनले प्रदेशमा बस्ने बहुसंख्यक आदिवासी समुदाय र तिनको संस्कृतिको सम्मान हुनुपर्ने धारणा राखे । संघीयताको मर्मलाई आत्मसात् गर्दै प्रदेशको नामकरण गर्नुपर्ने उनको सुझाव छ । आदिवासी, जनजाति समुदायका अगुवाले आफूहरुको पहिचान सम्बोधन हुनुपर्नेमा विचार राखेका छन् ।

समितिले राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिधि, पेशागत संगठनका प्रमुख, निजी क्षेत्र, समाजसेवी, पत्रकारलगायतसँग सुझाव माग गरेको थियो । प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा ‘सागर’ले जिल्लाबाट प्राप्त सुझाव प्रदेशसभामा छलफलका लागि पेश गरिने बताए । उनका अनुसार प्रदेश राजधानी पोखरा बनाउनुपर्नेमा भने कुनै दुईमत छैन । ‘प्रदेशको नामका सम्बन्धमा विभिन्न कोणबाट सुझाव आएका छन्’, उनले भने, ‘सुझावमाथि गहन छलफल गरी निर्णयमा पुग्छौँ ।’ केही मन्त्रालयलाई राजधानी बाहिरका जिल्लामा राखिनुपर्ने सुझाव भने आएको समितिले जनाएको छ । समितिले प्रदेशका सबै जिल्लामा सुझाव संकलनका लागि प्रदेशसभा सदस्यहरुलाई खटाएको छ ।

प्रतिक्रिया दिनुहोस