सिन्डिकेट लाद्न ‘तलबी गुन्डा’ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सिन्डिकेट लाद्न ‘तलबी गुन्डा’


प्रशासन विशेष ब्युरो

१० बैशाख २०७५, सोमबार


लेखनाथ,कास्की । दुई वर्षअघि पूर्वको उज्यालो यातायात व्यवसायी संघले पोखरा–काँकडभिट्टा रूटमा बस चलाउने तयारी गर्‍यो । पोखराको जिरो किलोमिटरमा काउन्टर स्थापना गर्न खोज्दा पृथ्वी राजमार्ग बस सञ्चालक समितिले अवरोध पुर्‍यायो । उज्यालोका दुई बसमा पृथ्वीले तोडफोड गर्न खोजेपछि झडप भयो । दुवैतर्फका सात जना घाइते भए ।

पोखरा नगरभित्र बस चलाउने तयारी गरेको विन्ध्यवासिनी बस व्यवसायी समितिलाई पनि पोखरा बस व्यवसायी समितिले त्यस्तै अवरोध गर्‍यो । दुवै पक्षबीच पटकपटक झडप भयो । यस्ता झडपमा समितिले ‘गुन्डा’ परिचालन गर्ने गरेका छन् । झडपमा प्रयोग गर्नकै लागि समितिले गुन्डागर्दीमा संलग्नलाई तलबै दिएर कर्मचारीका रूपमा राख्ने गरेका हुन् ।

पृथ्वी राजमार्ग बस सञ्चालक समितिको कार्यालय र काउन्टरलगायतमा गरी चार सय कर्मचारी छन् । तीमध्ये ३८ जना कामै नगरी मासिक ९ देखि १२ हजारसम्म तलब बुझ्छन् । उनीहरू समितिका देशभर रहेका विभिन्न काउन्टरमा बिहान हाजिर गर्छन् । त्यत्तिकै भरमा महिना मरेपछि तलब पाउँछन् । त्यसरी तलब लिनेमा कांग्रेस, एमाले र माओवादीनिकट युवा संगठनमा आबद्ध युवा बढी छन् ।

आफूले चलाइरहेको रूटमा अन्य यातायात व्यवसायी वा समितिले सवारी हाल्न खोजे उनीहरूविरुद्ध बल प्रयोग गर्न यिनै कर्मचारी खटाइन्छन् । पृथ्वीमा मासिक ९ देखि १२ हजारसम्म बुझ्ने त्यस्ता कर्मचारी छन् ।

समितिका महासचिव योगेन्द्र केसी त्यसरी कर्मचारी पालेको स्विकार्छन् । उनले अन्य समितिले गुन्डा लिएर आएपछि त्यसको प्रतिकार गर्न आफूले पनि त्यसै गरेको दाबी गरे । ‘उज्ज्यालोले भाडाको गुन्डा परिचालन गरेर बस हाल्न खोज्यो,’ उनले भने, ‘हामीले तिनैलाई आफ्नोमा ल्यायौं ।’ उनका अनुसार मासिक एक लाख ८० हजार रुपैयाँ तलबबापत कर्मचारीलाई बुझाउनुपर्छ ।

समितिकै एक कर्मचारी भने गुन्डालाई गर्ने खर्च त्यो भन्दा बढी रहेको बताउँछन् । ‘संगठनका नेताले एकमुष्ट रकम बुझेर आफू मातहतका कार्यकर्ता प्रयोग गर्छन्,’ ती कर्मचारीले भने, ‘भोजभतेर गर्ने खर्च छुट्टै छ ।’

समितिले प्रशासन र राजनीतिक दललाई प्रभावमा पारेर सिन्डिकेट कायम राख्दै आएको छ । उज्यालोको दुईवटा बसले ०७३ फागुन ३० मा काँकडभिट्टादेखि पोखरा हुँदै बाग्लुङसम्मको रूट अनुमति पाएको थियो । अनुमति पाए पनि गाडी सञ्चालन गर्न पाएको थिएन । तर पृथ्वीले तत्कालीन प्रशासक र राजनीतिक दललाई प्रभावमा पारेर जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक नै राखेर नयाँ गाडी सञ्चालन नगर्ने निर्णय गरायो । पृथ्वीमा १ हजार ३ सय ७५ बस आबद्ध छन् । ट्रिप शुल्कको नाममा समितिले ती बससँग दैनिक एक हजार रुपैयाँ संकलन गर्छ । यो खबर आजको कान्तिपुर दैनिकबाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस