एकता प्रक्रिया सकारात्मक « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एकता प्रक्रिया सकारात्मक


९ बैशाख २०७५, आइतबार


काठमाडौं । नेकपा (माओवादी केन्द) केन्द्रीय कार्यालयको आजको विस्तारित बैठकले नेकपा (एमाले) र माओवादी केन्द्रबीचको बैठक सकारात्मक रुपमा अगाडि बढेको जनाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज बसेको बैठकमा अध्यक्षले पार्टी एकताको पछिल्लो अवस्थाबारे जानकारी दिए । बैठकमा कार्यालय सदस्यले एकताका विषयमा अध्यक्ष दाहाललाई सुझाव दिए । बैठकपछि पत्रकारसँग कुरा गर्दैै पार्टी प्रवक्ता पम्फा भुसालले एकताका लागि समय लिइने बताइन् । दुई पार्टी मिलाएर एकता भई नयाँ पार्टी बन्ने विषयमा हतारिन नहुने उल्लेख गर्दै उनले भनिन्, ‘यही मितिमा हुन्छ भनेर तिथि तोक्न सकिन्न ।’

प्रवक्ता भुसालले पार्टी एकता संयोजन समितिले दिएको प्रतिवेदनबारे दुई अध्यक्षबीच भएका छलफलका विषयमा अध्यक्षले बैठकलाई जानकारी दिएको बताइन् । राजनीतिक र सांगठनिक विषयमा छलफल सकारात्मक रुपमा अगाडि बढेको बताउँदै उनले भनिन्, ‘दुवै पार्टीका नेता, कार्यकर्ता र जनताको भावना र राष्ट्रिय आवश्यकताअनुसार पार्टी एकता सुनिश्चित गर्नेतर्फ प्रक्रिया अगाडि बढेको छ ।’ रासस

प्रतिक्रिया दिनुहोस