सिंहदरबारमा एक रात « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सिंहदरबारमा एक रात


प्रशासन विशेष ब्युरो

८ बैशाख २०७५, शनिबार


बसोवास नालाको, जागिर सिंहदरवारको । हुन त सरकारले कार्यालय नजिकै सुबिधा सम्पन्न आवासको व्यवस्था नभएको भने होईन, सबै कर्मचारीलाई यो सुविधा छ । तर मलाई थात थलो छोडेर सरकारी आवासमा बस्न मन लागेन । आखिर यातायात सुविधा दिएकै छ क्यारे । सारै, रमाईलो र रोमाञ्चक जीवन ।

सधै झै छोरीको स्कुल बस आईपुग्यो र छोरी बस चढिन् । स्कुल पनि सिंहदरवारकै नजिकै छ, पहिलाको बन विभागमा । सरकारी जागिरे मान्छे, अर्थात सरकारके मान्छे, सन्तानको जिम्मा पनि सरकारकै । कर्मचारीको लागि खोलीएको सो स्कुलमा जुन विषय पढेपनि १२ कक्षा सम्म, पढ्ने, खाने, पाठ्यसामाग्री, पोशाक, यातायात सबै निशुल्क !

ओहो, म सम्झन्छु, हामी पढ्ने बेला वुवालाई कम्ति सास्ती थिएन । वुवा सरकारी ठूलै पोष्टमा भए पनि मेरो लागि निजी स्कुलमा महंगो शुल्कमा भर्ना हुन पनि वहाँले कति जनासँग विन्ति गरेको, कतिलाई घुर्काएको अनि कतिलाई त ठाडै हप्काएको सुनेको छु । वुवाको तलवको आधा भन्दा बढी रकम त मेरो शुल्कमा नै जान्थ्यो । मेरो स्कुलको शुल्क तिर्ने दिन वुवाको निधारमा पसिना आएको अहिले पनि सम्झन्छु म । वुवा मुमा एकान्तमा मेरै पढाई, मेरै स्कुल र मेरै खर्चको कुरा गर्नुहन्थ्यो ।

टोल छिमेकमा वुवाको राम्रै रवाफ थियो । तर, घरमा वुवा मुमालाई भएको तनाव म सहजै अनुभव गर्थे । र, मलाई यो पनि थाहा थियो कि यसको पछाडि मेरै कारण छ । तर, अहिले समय बदलिएको छ, हामीलाई क्या आनन्द छ, छोरीको पढाई, स्कुल र उसको स्कुल फिसको कुनै चिन्ता छैन । सायद मेरो वुवाको पुस्ताले गरेको त्याग र परिश्रमको फलले अहिले मेरो छोरीको पुस्ताले यो अवसर पाएको हो ।

ओहो, ९ बज्न लागेछ । खाना तयार भएको पनि हेक्का भएनछ । ९ वजेर २० मिनेटमा त कार्यालयको गाडि आईपुग्छ नि । खाना खाएर गाडि चढेँ , सबैसँग हाईहेल्लो गरे । आज पनि ११ नम्वर सिट नै खाली रहेछ, बसे ।

ठीमि पुगे पछि सन्तोष सर पनि ल सबैलाई नमस्कार है भन्दै गाडि चढ्नु भो । सबै सिट भरिएका थिए, सिट मुनिबाट एउटा सानो बस्ने सिट तानेर गल्लीकै छेउमा बस्न खोज्नुभो । मैले सर म त्यहाँ बस्छु नि भने । तर वहाँले हैन आ–आफ्नो सिटमा बस्ने हो सवै जना भन्नुभो । फेरि विगतमा सम्झे । मेरो वुवा वानेश्वरमा डेरामा बस्नुहुन्थ्यो । त्यो बेला साँगाबाट ववरमहल दिनहुँ ओहोरदोहोर गरेर जागिर खानु असम्भव जस्तै थियो ।

मेरो वुवा बस्ने घरसँगै वुवाको अफिसको हाकिम बस्नुहुन्थ्यो । पोष्ट के हो थाहा भएन तर वहाँ सधै हाकिमसा’व भन्नुहुन्थ्यो । वहाँले २ वटा सरकारी गाडि उपभोग गर्नुहुन्थ्यो, एउटा आफुलाई, अर्को एउटा परिवार र नातेदारले उपयोग गर्थे क्यारे । एउटै अफिसको कर्मचारी भएर पनि मेरो वुवाले त्यो गाडिमा कुनै दिन लिफ्ट पाएको देखिन, हाकिमसा’व एक्लै जानुहुन्थ्यो।

छ्या, कस्तो सैतानी युग थियो त्यति बेला नेपालमा । अहिले यो सन्तोष सर निर्माण मन्त्रालयको सचिव हुनुहुन्छ । तर, पनि सरकारी गाडि जरुरी छैन, यो कर्मचारीको सामान्य गाडिमा पनि सानो सिटमा बसेरै खुशी साथ कार्यालय जानुहुन्छ, आउनुहुन्छ ।

लौ सिंहदरवारको गेट आईपुगेछ । घडि हेरे, सधै झै ९ः५५ भएको रहेछ । गाडि गेटबाट दायाँतिर लाग्यो । पहिला पनि म वुवासँग आउँथे, यहाँ प्रहरीको पहरा हुन्थ्यो । भित्र के छ वुवा भनेँ, अनुसन्धान विभाग भन्ने गुप्तचरी अड्डा छ भन्नुहुन्थ्यो । वरफवाग रे नाम चाहीँ । त्यो विभागको के काम हो मैले सोधिन , पछि लोकसेवाको परीक्षा दिने बेला वल्ल थाहा पाएँ ।

अहिले यो अड्डा भित्रै सरेछ र यहाँ सिंहदरवारको पार्किङ जस्तो भएको छ । पहिला त सबै गाडि सरर भित्र जान्थे, हरेक मन्त्रालय अगाडि गाडिको लस्कर हुन्थ्यो । अनि बाटोमा नअटेर फुटपाथभरी नै गाडि नै गाडि हुन्थे । पुराना र चालुमा नरहेका गाडिको उस्तै भिड हुन्थ्यो रे । कहिलेकाही त सिंहदरवार पुरानो ग्यारेज जस्तो लाग्छ भनेर त्यतिवेलाका अखवारमा पढेको मैले । तर, अहिले चाहीँ एम्वुलेन्स वाहेक अन्य गाडिहरु सिंहदरवार भित्र जान पाउँदैनन । अत्यावश्यक सेवा र सरसफाईका गाडिहरु विहानै वा राती मात्र ओहोरदोहोर गर्छन् ।

गाडिबाट सबै झर्यौ । भित्र पस्नेको लर्को छ । छातिमा टासेको परिचयपत्रले डिजीटल भित्तामा छोए पछि गेट खुल्यो, अनि संगै मेरो हाजिर पनि भयो । बीचमा सडक, सडकको दुवैतिर हरियो गार्डेन र हरियो गार्डेनको बीचमा निरन्तर घुम्ने फलामे पातो । यस्तोे स्वचालित हिड्ने पातो (वेल्ट) पहिला पहिला त नेपालको विमानस्थलमा पनि थिएन रे । त्यसमा टेक्ने वित्तिकै सरर हिड्न थाल्यो । एकै छिनमा मेरो कार्यालय अगाडि पुगेर रोकिए । कार्यालयको ढोकामा हेरेको ९ वजेर ५९ मिनेट गएको रहेछ । पोशाकको रंग नमिलेर एक जना सहायक कर्मचारी ढोकाबाट भित्र छिर्नै सकेनछन् । बिचराको आजको गयल त भयो नै रु २५ सय जरिवानामा समेत पर्ने भए । वुवाको पालामा पोशाक त थियो, पोशाक भत्ता पनि आउँथ्यो, तर कडिकडाउ छैन भन्नुहुन्यो । आजकल त, पोशाकको रंग मात्र होईन, फोहोर सेन्स भयो भने पनि वर्वाद ।

कार्यकक्षमा पुगेर हिजोका केहि असाइनमेटहरु थिए । तिनको कामहरु सकेँ । मेल खोलेर हेरे, सेवाग्राहीको दुईवटा गुनासा आएका रहेछन् । तुरुन्त महाशाखा प्रमुखकोमा पेश गरे । वहाँले भन्नुभो तत्कालै यस विषयमा समस्या समाधान गरेर १ बजे भित्र सेवाग्राहीलाई जानकारी दिनुहोस् र क्षतिपुर्तिका वाफतको रकम सेवाग्राहीको खातामा जम्मा गरेर साँझ ४ः३० वजेको दैनिक वुलेटिनमा प्रकाशित गरिदिनुस् ।

१०ः४५ मा प्रमुख अधिकृतकोमा हुने दैनिक बैठकमा जानको लागि तयार हुँदै थिए । प्रमुख अधिकृतकै फोन बज्यो मोवाईलमा, अनि भन्नु भयो कि तपाईको कुनै विशेष एजेण्डा भए आउनुहोस्, नत्र पर्दैन आजको मिटिङमा । आजको छलफलको विषय र निर्देशन म मेलमा पठाउँछु भन्नुभयो । महाशाखा प्रमुखले मेरो आजको सबै कामको विषयमा वहाँलाई जानकारी सक्नुभएछ । मेरो आज साविकमा भन्दा अलि बढी काम भएको कुरा ब्रिफिङ भएर हुनुपर्छ मलाई मिटिङमा अनिवार्य नभएको ।

११ वजे पछि चिया कफि पिउने मन भयो । अनि पेनेटरीमा पसेर मेशिनबाट कडा कफि एक कप लिएर आए । तातो चिसो पानी त टेवुलसँगै हुने भएकोले अझ धेरै सहज छ । हिजोका बाँकी कामहरु सकेको मात्र थिए । फोन बज्यो, मलाई भेटन कोहि आएको रहेछ । थाहा नभएर होला आधा घण्टा पहिला नै आएछ । १ वजे हाम्रो लञ्च टायममा म तल रिसेप्सनमा नै आउँछु भनिदिए, आगन्तुक भेटघाटको लागि त्यहा एउटा सुविधा सम्पन्न कक्ष छ । सो कक्षमा स्वचालित मेशिनबाट खानेकुराहरु लिन पनि सकिन्छ र वाईफाई सुविधा सहितको पुस्तकालय नै छ । अझ रमाईलो कुरा त आगन्तुक कक्षमा रहेको यो कार्यालय सम्वन्धी वृत्तचित्र डिस्प्ले र संग्रहालयले धेरै आगन्तुकको मन जित्छ ।

मेरो वुवाको पालामा जस्तो कहाँ छ र, जति वेला पनि जो मन लागे पनि भेट्न आउन पाउने, अनि काम तथा सेवाग्राहीलाई पर्खाएर पनि कार्यकक्षमा नै आएर घण्टौ गफ गर्न मिल्ने र कार्यालय सहयोगीलाई बोलाएर ल चिया पिलाउनुस् त भन्ने । जमाना कहाँबाट कहाँ पुग्यो है, सोच्दै थिए । एक वजे पछि पुनः पेनेटरीमा गए र बिहान लिएर आएको खाना तातोगरी राखेको थिए, अरु सबैले झै मैले पनि भकाभक खाएँ । यो पेनेटरी हल नै एक किसिमको बैठक हल जस्तो लाग्छ, कार्यालय प्रमुखदेखि सहयोगी कर्मचारीसम्म सबैले रमाईलोसँग आ आफ्ना खानेकुरा खाएका हुन्छन् । कसै कसैले भिन्न स्वादको लागी तथा घरबाट ल्याउन नभ्याएर यहिको भेण्डिंग मेशिनबाट किनेर खाने वा सँगैको रेष्टुरेण्टमा गएर पनि खान्छन् । रेष्टुरेण्टमा खानको लागि भने बिहान ११ बजे भित्रै आफ्नो अर्डर दर्ता गराउनुपछर्, अनलाईनबाट नत्र पाईदैन ।

२ः३० भित्र कार्यकक्ष आउनै पर्ने भएकोले मैले हतार हतार खाना खाएर आगन्तुक भेट्न निस्के । हुन त यहाँ कसैले कसैलाई यो गर, उ गर वा समयमा आउ, अनुशासनमा बस अनि तोकिएको पोशाक लगाउ, मर्यादित व्यवहार गर भनेर कसैले कसैले भन्दैन । मेरो वुवाको पालामा जस्तो के के हो के ऐन, कानुन, कार्यविधि, निर्देशिका आजकल छैनन । नियम र कानुनको डर देखाउदै कुनै उर्दि, लामा लामा भाषण र निर्देशन आउदैनन तर, पनि सबै कर्मचारीहरु स्वचालित मेशिन जस्ता छन् अनि उनीहरुका कार्यप्रणाली समेत स्वतःस्फुर्त छन् ।

अस्ति वेलायतबाट एउटा टोली आएको थियो, हाम्रो कार्यालयको कार्यसंस्कार, कार्य पद्धति र कार्य प्रगतिको अवलोकन गर्न । वेलायतस्थित नेपाली दुतावासको वेभसाईटबाट थाहा पाएको रे नेपालको सरकारी कार्यालयहरुको कार्य प्रकृया बारे । अनि हाम्रो दुतावास मार्फत त्यहाँको सरकारले सिधै नेपाल सरकारसँग समन्वय गरेर आगामी १० वर्ष सम्म हरेक वर्ष ५ सय जना वेलायती कर्मचारीलाई नेपाली सरकारी निकायको अवलोकन गर्न पठाउने सम्झौता भएछ । यसै अनुसार आएको टोलीले विगत एक हप्तादेखि हाम्रो दैनिकी अध्ययन गरिरहेको छ । यस्तै अरु दुई टोलीहरु एउटा ल्याटिन अमेरिकी र अर्को एउटा अफ्रिकन मुलुकबाट त्यहाँको सरकारी सेवामा नव प्रवेशी अधिकृतहरुको दुई महिने ईन्टर्न जस्तै टोली सिंहदरवार भित्रका विभिन्न कार्यालयहरुमा अध्ययन गरि प्रतिवेदन तयार गरेका छन् । अघिल्लो वर्ष भारतीय र सिंगापुरका दुई टोलीको अन्तिम प्रतिवेदन प्रस्तुतिमा म पनि बस्न पाएको थिएँ । उनीहरु आफ्नो देशमा फर्केर नेपालको जस्तै सार्वजनिक प्रशासन बनाउने प्रतिवद्धता व्यक्त गरे ।

वुवाको पालामा त यहाँका उच्च कर्मचारीहरु ति मुलुकमा सिक्न जाने प्रचलन थियो । तर, सिक्न गएर पनि नसिकि आउँदा पनि केहि फरक पर्ने थिएन रे । त्यो वेलामा ती मुलुकहरुको सार्वजनिक प्रशासन हाम्रो भन्दा निकै राम्रो थियो रे । आजक विदेशमा गएर पनि केहि सिकेनन् भनेर सरकारले विदेश भ्रमण गर्ने प्रचलन नै खारेज गरेर मुलुक भित्रै आफै सुधार गर्न पहल गरेको भएर अहिले हाम्रो यो अवस्था आएको हो भनेर अस्ति एकजना सचिवज्युले कार्यालयको गाडिमा सँगै आउँदा भन्नुभएको थियो ।

उतिवेला हामीले बिदेशबाट केहि नसिके पनि अहिले विदेशीहरुले हामीबाट धेरै सिक्दै छन् । अहिले हाम्रा उच्च अधिकारीहरु समय समयमा विदेशका विभिन्न कार्यक्रमहरुमा श्रोत व्यक्तिको रुपमा बोलाईन्छन्, उनीहरु यहाँ आएर लामो समय बस्छन । यसले मुलुकको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पारको छ । अमेरिकाबाट प्रकाशित एउटा प्रतिवेदनले लेखेछ बौद्धिक आर्जनबाट कमाई गर्ने मुलुकमा नेपाल सातांै रे । अनि यति मात्र होईन, अहिले मुलुकका पहाडी र हिमाली क्षेत्रमा सञ्चालन भएका विश्वविद्यालयहरुमा विभिन्न संकायमा १ सय ९ मुलुकका करीब दुई लाख विदेशी विद्यार्थीले अध्ययन गर्दा रहेछन् ।

यी विश्वविद्यालयमा अध्यापन गराउने लगभग ९० प्रतिशत शिक्षक र कर्मचारी नेपाली रहेछन् । पहिला त घरायसी प्रयोगको लागि पनि उर्जाको कमि थियो भन्ने भनेर भन्नेहरु अझै भेटिन्छन् । अहिले धेरै सवारी साधनहरु विद्युतबाटै चल्छन् । अघिल्लो वर्षको बजेट वक्तव्यमा उल्लेख भए अनुसार विदेशी विद्यार्थीबाट प्राप्त आम्दानीले मुलुकको कुल जीडीपीको ११ प्रतिशत धानेको र प्रत्यक्ष रुपमा करिव ८५ हजार नेपालीलाई रोजगारी मिलेको रहेछ ।

अघिल्लो वर्ष विश्वका मुलुकबाट नेपाल आउने पर्यटकको संख्या घटेर ९५ प्रतिशतमा सिमित भएकोले यो वर्ष कम्तिमा १ एकपटक गाडिको सँगैको सिटमा पर्नुभएका स्वदेशी रोजगार विभागका महानिर्देशकले मलाई भन्नुभयो कि केहि दशक अघिसम्म हरेक दिन १५ सय भन्दा बढी युवाहरु कठिन काम गर्न खाडी मुलुकमा जान्थे रे । अनि तिनैको पसिनाका भरमा मुलुकको अर्थतन्त्र चलेको थियो रे । पत्याउनै गारो ।

अहिले विदेशी सरकारहरुबाट अधिकतम रकम सहित आग्रह भए अनुसार केहि महिनाको लागि विशिष्ट सेवाको लागि पनि नेपालीहरु विदेशमा जान रुचाउँदैनन् । केहि हप्ता पहिला मात्र एउटा बौद्धिकहरुको टोलीले प्रधानमन्त्रीलाई भेटेर पटक पटक हामीलाई विदेशमा पठाउनु भन्दा हामीले यतै धेरै अन्तराष्ट्रिय प्रतिष्ठानहरु खोलेर विदेशी प्रशिक्षार्थीहरु यतै बोलाउन पाए पर्यटन उद्योग अझै मजवुद् हुने अनि समय र श्रोतको अधिक बचत हुने थियो भनेर सुझाव पेश गरेछन् । त्यसको दुई दिन पछि नै सरकारले विदेशस्थित नेपालका सबै दुतावास तथा कुटनीतिक नियोगहरुमा सोहि अनुरुप परिपत्र गरेछ । बौद्धिकहरुले गरेका अपवाद वाहेकका सबै सिफारिसहरु सरकारले मान्ने प्रचलन रहि आएको छ ।

अघिल्लो साता शनिवार पशुपतीमा एकजना बृद्धसँग भेट भयो । वहाँ अवकासप्राप्त नेपाल प्रहरी हुनुहुँदो रहेछ । कुराकानीको क्रममा थाहा भयो कि वहाँ कार्यकालको लामो समय सिंहदरवारमा सेवा गर्नुभयो । कस्तो छ भित्र भनेर सोध्नु भो अनि मैले शान्त छ वुवा भने । अनि लामो सास तानेर केहि सम्झे जस्तो गरेर वहाँले बेलीविस्तार लगाउनु भयो उति वेलाको ।

सधै भिडभाड, मान्छेको ताँती । गेटबाट भित्र छिर्न खोज्नेलाई रोक्नै हम्मे हम्मे रे । सधै जात्रा लागे जस्तो, नयाँ मन्त्री आएको बेलामा त झन् पशुपतीकै जात्रा जस्तो हुने रे सिंहदरवार । मन्त्री र नेताबाट केही सहायता मिल्छ कि गाउँ गाउँबाट आएका गरीबहरु, रैथाने पत्रकार, शक्तिकेन्द्र धाउने कर्मचारी अनि रैथाने पत्रकारले जहिलेहि भिडभाड रे ! आजकल त साच्चै सुनसान, दिउसै शमसान घाट जस्तो पो । गाडिभित्र प्रतिबन्ध जस्तै छ, नेपाल टेलिभिजन र रेडियो नेपालकावाहेक अरु कुनै सञ्चारकर्मी भित्र आउँदैनन । उनीहरु पनि आफ्नो कार्यालय ओहोरदोहोर गर्ने मात्र । समाचार संकलनको लागि सिंहदरवार धाउनै पर्दैन कसैले ।

सबै निकायले आफ्ना हरेक गतिविधिहरु तत्कालै वेभसाईटमा राखिदिन्छन् । सर्वसाधारण र सम्बन्धितले पनि पत्रिका पढेर, अनलाईन समाचार हेरेर, सुनेर भन्दा सिधै सम्बन्धित साईटबाटै सुचना लिएर अपडेट हुन्छन् । वास्तवमा आजकल सिंहदरवार रानो हराएको मौरीको घार जस्तो भएको छ । मन्त्रीहरु पनि बिहानै मन्त्रालय छिरेपछि साँझसम्म कार्यकक्षमा नै नीति, योजना तथा कार्यान्वयन जस्ता कार्य अनि स्वअध्ययन, बैदेशिक टोलीसँगको भेटघाट र शैक्षिक प्रतिष्ठानहरुमा समय समयमा विषयगत प्रशिक्षण दिने विषयको तयारीमा नै व्यस्त हुन्छन् ।

कहिलेकाहीँ सप्ताहन्त रमाईलोमा मात्र भेट हुन्छ । सिंहदरवार अवलोकनमा आउने विद्यार्थी र अन्य पर्यटकको लागिसार्वजनिक विदाको दिन तोकिएको हुँनाले कार्यालय खुल्ने दिन त यो सारै सुनसान तर प्राकृतिक र रमणीय लाग्दछ । भित्रैका कर्मचारीहरु पनि कार्यालय समयमा ओहोरदोहोर गरेको देखिँदैन । मेरो कुरा सुनेर वुढा त पशुपतिको बसाहा नै तर्सने गरी अट्टाहास पो गरे हो । उनी सिंहदरवार नछिरेकै ३० वर्ष पुगेछ । अलि अलि चाहीँ हल्ला सुनेका रैछन् आजकलको सिंहदरवारको वातावरण र कार्यशैली बारे ।

ओहो बिर्सेछु नि भोली पर्सा जाने तयारी गर्नु छ । दुई दिन पुरै व्यस्तताका साथ त्यहाँ काम गर्नुपर्दछ । पहिला कर्मचारी र पदाधिकारीहरुलाई निजी रुपमा यातायातको साधन प्रदान गरिन्नथ्यो, म सानो हुँदा पनि देखेको । तर, आजकल सरकारी निकायबाट कसैलाई पनि निजी रुपमा सवारीसाधनहरु उपलव्ध गराईदैन । बरु हरेक सरकारी कर्मचारी र पदाधिकारीको घरमा नेपाली किसानहरुबाटै उत्पादित दुध दैनिक १ लिटर र मासिक २ केजी घिउ निशुल्क उपलव्ध गराउने प्रचलन छ । मुलुक भित्रै उत्पादन भएका सवारी साधन मात्र उपयोग गर्न पाईने नियम छ, अपवादवाहेक । तरपनि यातायातका सहज र अत्याधुनिक सवारीसाधन उत्पादनमा त्यति ठुलो सपmलता हाँसिल हुन सकेको छैन ।

आधुनिकिकरण गरिएका रिक्सा, साईकल तथा ठेलाहरुमा भने मुलुक पुर्ण आत्मनिर्भर मात्र होईन वार्षिक करिव ५ खर्वको निर्यात समेत हुँदो रहेछ । २० वर्ष अघिसम्म यस्ता साधारण सवारीसाधन समेत भारतबाट आयात हुन्थे । खनिज आयलको आयातलाई अवका ३ वर्षमा दुग्ध उत्पादनको निर्यातले सन्तुलनमा ल्याउने लक्ष्य राखेको छ सरकारले ।

पहिला नेपालमा वत्ति बाल्न पनि विद्युत नपुगेर आधा भन्दा बढी समय अध्यारोमा नै बस्नुपथर््यो । अहिले त धेरै गाडिहरु नै विद्युतिय ऊर्जामा सञ्चालित छन् । यातायातको लागि केन्द्रिय यातायात विभागको पोर्टल खोलँे, गाडिको लागि । यसले सहज गरिदिएको छ यातायात व्यवस्थापनमा । जानु पर्ने मिति, स्थान, कर्मचारी संख्या, समय र फर्कने दिन यो पोर्टलमा भरेपछि मेरो कार्यालय प्रमुखको जानकारीमा समेत यो स्वतः जान्छ । अनि सबै व्यवस्था त्यहिँ विभागले गरिदिन्छ । अनि जाने समय भन्दा दुई घण्टा पहिला अलर्ट मेसेज पठाउँछ । दिनमा उपत्यका बाहिर कँिह कार्यालयको काममा जानु पर्यो भने पनि यसैले १५ मिनेट भित्र यातायातको व्यवस्था गरिदिन्छ ।

आफुले उपभोग गरेको विवरण प्रमाणित गरिदिए मात्र पुग्छ, अरु सबै चालकले नै व्यवस्था गर्दछ । यस पछि केन्द्रिय आवास विभागको पोर्टलमा गएर सो भ्रमणको विवरण भरँे । यसको १० मिनेट पछि मेरो लागि त्यहाँ बसुञ्जेल आवाश तथा खानाको व्यवस्था भएको कन्फर्मसेन पठायो । तत्कालै कुनै रकम खर्च हुँदैन, लाग्दैन । मैले याद गरेसम्म मेरो वुवाहरु यसरी फिल्ड जाँदा कार्यालयबाट भ्रमण आदेश स्विकृत गराउने, पेश्की लिन पेल्नु परेको पापड, यातायातको तनाव र आफुसहित गुरुजीको खान बस्नको लागि गर्नुपर्ने व्यवस्था, अनि फर्केपछि पेश्की फछ्र्यौट गर्न खर्च गर्नु परेको ऊर्जा ।

ओहो सम्झिँदा पनि आँङ सिरिंग हुन्छ मेरो त । अहिले त भ्रमण सकेर प्रतिवेदन कार्यालयको पोर्टलमा राखेपछि स्वतः मेरो खातामा रकम जान्छ । अहिले सरकारले मुलुकका सबै क्षेत्रमा यस्तो सरकारी आवासको व्यवस्था गरेकोले हामी सरकारी कर्मचारीहरुलाई सारै सहज भएको छ ।

आज शुक्रवारको दिन, सिंहदरवार परिसरमा ठुलो सांस्कृतिक उत्सव शुरु हुन्छ साँझ ६ बजेपछि । कर्मचारीहरुको आन्तरिक सम्पर्क र व्यवहार भन्ने विषयमा जनप्रशासन क्याम्पसमा स्नातकोत्तर गरिरहेका एक विद्यार्थीले सिंहदरवार भित्रका कार्यालयलाई कार्यक्षेत्र बनाई शोध तयार पारेका रहेछन् । सो शोधको निष्कर्ष अनुसार सिंहदरवारमा हुने यो सप्तान्तले कर्मचारीबीच हुने सम्पर्क र व्यवहारमा ठुलो सकारात्मक परिवर्तन गरेको रहेछ ।

हुन पनि यो अवसरमा सबै तहका कर्मचारीहरुले अरु सबै कुरा बिर्सेर आपसमा एकै परिवारका सदस्य झै भएरखुलस्त रमाईलो गर्दछन् । सप्ताहन्तको लागि सारै रमाईलो स्थान भएको छ यो पनि । केन्द्रिय यातायात विभागको पोर्टलमा गएर आज म राती ११ वजे मात्र साँगा फर्कने भनेर सुचना गरे । यसले गर्दा मलाई घर फर्कनको लागि सहज हुन्छ । आज धेरै कर्मचारी हुन्छन्, म जस्तै ढिला फर्कने । सारै थकाई लागेछ, सिंहदरवार भित्रको प्रकृतिसँग रमाईलो गर्न मन लाग्यो ।

पहिला यहाँ एउटा पुतली बगैचा थियो रे, जंगवहादुरको पालामा । तर, अहिले पुरै सिंहदरवार एउटा ठुलो बगैचा जस्तै लाग्छ । विभिन्न उचाई र आकारमा सजाईएका बोटमा फुलेका रंगीचंगी फूलहरु अनि कतै झरना जस्तो कतै पोखरी जस्तो अनि कतै फोहोराहरुले यसलाई पुरै प्राकृतिक वनाएको छ । पानी, प्रकाश र रंगहरुको संयोजन बडो कलात्मक देखिदै आयो । यस्तो पानी कला त म सानो हुँदा दिल्लीको अक्षरधाममा वाटर शो भन्दै मामाले देखाउन लानु भएको अलि अलि याद छ । हरेक भवनका छानामा सोलार पाता जडित छन् ।

पहिला सिंहदरवारमा पनि बाहिरबाट बिजुली आपुर्ति हुन्थ्यो रे । अहिले छैन, पुरै सौर्य वत्तिको भरमा चलेको छ । यति मात्र होईन, यहाँ उत्पादन हुने फोहोर र ढल समेत यहि भित्रै प्रशोधन भएर पुनः प्रयोग हुन्छ । खानेपानी समेत बाहिरबाटआपुर्ति हुँदैन । फोहोरबाट ग्यास उत्पादन भएको देखिन्छ । सोलार हिटरको प्रयोग गरि कोठाहरु तातो गरिएको छ । एक किसिमले भन्ने हो भने सिंहदरवार आफैमा आत्मनिर्भर छ हरेक दृष्टिकोणबाट ।

साँझ ५ बजेपछि यहाँको कार्यालयहरु बन्द हुन्छन् अनि खुल्छन् मौलिक रेष्टुरेण्ट र सपिंङ मलहरु । ५ वजे कार्यालय छुटे पछि कर्मचारीहरुको घुईचो यहाँको रेष्टुरेण्ट र सपिङ मलमा देखिन्छ । किनकी यो सस्तो पनि छ र विश्वासनीय पनि । वास्तवमा भन्ने हो भने सिंहदरवार परिसरमा छिरे पछि बाहिर निस्कनै मन लाग्दैन । सरकारका विदेशी उच्च पदस्थ पाहुनाहरुको लागि सुविधा सम्पन्न आवासकोसमेत यहि व्यवस्था गरिएको छ । यसले गर्दा उनीहरुको सुरक्षा चिन्ता सरकारलाई छैन ।

विदेशी उच्च अधिकारीहरु साँझमा सिंहदरवारको प्राकृतिक मोहकताको चरम आनन्द लिईरहेको देखिन्छ । यो सबै घुमफिर गरिसके पछि दिनभरको थकाई पुरै मेटिएर शरीर पुनः ऊर्जाशिल भएर आयो । आकाशमा अतिसवाजी देखियो । ठुला ठुला स्वरमा संगित र गीतका धुनहरु चारै तिर फैलिए । ६ बजेछ । अहिले पुरै सिंहदरवार एउटा संगित महोत्सवस्थल जस्तो देखिएको थियो । अचानक सबैतिर शान्ति छायो, सुनसान भयो । कता कता चराहरुको चिरविर सुनियो अनि नजिकै रेडियो नेपालबाट प्रसारित नाम संगितकनको मिठो धुनले रोमाञ्चक वनायो ।

ऐआऽऽऽ नचल्नु नि, ऐआऽऽऽ दुख्यो क्या….।

वावा उठिस्यो न, मेरो होम वर्क गर्दिन्छु भन्या होइन हिजो !

विहानै छोरीले कान निमोठदै रहेछ मेरो ।

हैट ११ कस्तो नमिठो सपना देखिएछ १ सिंहदरवारमा एक रात ।

Tags :
प्रतिक्रिया दिनुहोस