बन्दुकधारीद्वारा निर्वाचन कर्मचारी अपहरित, कागजपत्रमा आगजनी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बन्दुकधारीद्वारा निर्वाचन कर्मचारी अपहरित, कागजपत्रमा आगजनी


५ बैशाख २०७५, बुधबार


अफगानिस्तान । अफगानिस्तानमा बन्दुकधारीहरूले निर्वाचन कार्यालयमा आक्रमण गरी त्यहाँ रहेका कर्मचारीसहित पाँचजनालाई अपहरण गरेका छन् ।

अपहरणमा परेकामध्ये तीनजना निर्वाचन कार्यालयका कर्मचारी रहेका छन् भने अन्य दुईजना कार्यालयमा सुरक्षामा खटिएका प्रहरी रहेका छन् ।

अपहरणकारीहरूले कार्यालयमा रहेको निर्वाचनसम्बन्धी काजगपत्रहरूमा आगजनीसमेत गरेको समाचारमा जनाइएको छ ।

अफगानिस्तानको घोर प्रान्तमा रहेको एउटा कार्यालयमा बन्दुकधारीहरूले मंगलबार आक्रमण गरेको अधिकारीहरूले जनाएका छन् ।

लामो समयदेखि द्वन्द्वको चपेटामा परेको अफगानिस्तानमा आउँदो अक्टोबर २० तारिखका दिन संसदीय निर्वाचन हुन लागेको छ ।

‘मतदाताहरूको नाम दर्ता गरिरहेका बेला हतियारधारी आक्रमणकारीहरूले अलियार जिल्लामा रहेको स्वतन्त्र निर्वाचन आयोगको कार्यालयमा आक्रमण गरेर कर्मचारीहरूलाई अपहरण गरेका छन्’, प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद इक्वाल निजामीले एएफपीसँग भने ।

सरकारी अधिकारीहरूले घटनामा तालिवानी लडाकूहरू संलग्न भएको आरोप लगाएका छन् ।

प्रवक्ता निजामीले अपहरणमा परेकामध्ये तीनजना निर्वाचन कार्यालयका कर्मचारीहरू र दुईजना प्रहरी रहेको जानकारी दिए ।

घटनाका बारेमा तत्काल अनुसन्धान शुरु गरिएको र घटनामा संलग्न तथा अपहरितहरूको खोजी अभियान चलाइसकिएको उनले जानकारी दिए । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस