बढी पर्यटक भित्रिएको वर्ष–२०७४ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बढी पर्यटक भित्रिएको वर्ष–२०७४


३ बैशाख २०७५, सोमबार


काठमाडौं । हालसम्मकै उच्च संख्यामा पर्यटक भित्र्याएको वर्षका रुपमा विसं २०७४ दर्ज भएको छ । लामो समयदेखिको पर्यटक बढाउने विभिन्न प्रवद्र्धनात्मक अभियानका कारण २०७४ सालमा १० लाख पर्यटकले नेपाल भ्रमण गरे । यसले पर्यटन क्षेत्रका लागि निकै ठूलो उत्साह फैलाएको छ ।

नेपाल पर्यटन बोर्डको विवरणअनुसार वि.सं. २०७४ अर्थात् सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आएका थिए । सरकारले सन् १९९८ लाई ‘भिजिट नेपाल’का रुपमा आयोजना गरेर १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । सन् २०१२ मा आठ लाखको हाराहारीमा विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए भने सन् २०१६ मा साढे सात लाख पर्यटक आएका थिए । सीमित पूर्वाधार र विभिन्न अस्थिरताबीच पनि उल्लेख्य संख्यामा पर्यटक बढ्नुले पर्यटन क्षेत्रमा ठूलो उत्साह जगाएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी बताउछन् ।

पूर्वाधारको कमीका साथै यही वर्ष सम्पन्न भएका तीन तहका (स्थानीय निकाय, प्रदेश र प्रतिनिधिसभा) निर्वाचन तथा अस्थिर सरकार हुँदा पनि विदेशी पर्यटक बढेकाले सरोकारवाला निकायमा उत्साह पैदा गरेको उनको भनाइ छ । पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले समग्रमा वर्ष २०७४ निकै उत्साह र उपलब्धिमूलक भएको बताए । विसं २०७४ मै निर्वाचनमार्फत स्थिर सरकार गठन भएको छ । यसले पर्यटन व्यवसायमा आशा जगाएको छ ।

यसै वर्ष पर्यटन क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका ‘इभेन्ट’ कार्यक्रम भए । यसबाट बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्न मद्दत पुग्यो । पर्यटन क्षेत्रको हालसम्मकै ठूलो इभेन्ट ‘हिमालयन ट्राभल मार्ट–२०१७’ काठमाडौं सम्पन्न भयो । नेपाल पर्यटन बोर्डको सहयोगमा प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा नेपाल च्याप्टर) ले आयोजना गरेको मार्टमा ठूलो संख्यामा विदेशी पर्यटन व्यवसायीको सहभागिता थियो ।

समग्र पर्यटन प्रवर्दनको जिम्मा लिएको नेपाल पर्यटन बोर्डले पनि २०७४ मा आफ्नो प्रवद्र्धनात्मक अभियानलाई फरक शैलीमा तीव्रता दिनुले पनि पर्यटनमय वर्षका रुपमा स्थापित गरेको छ । बोर्डले २०७४ सालबाटै विद्युतीय बजार ‘डिजिटल मार्केटिङ’, शुरु गरेको छ भने मौसमकेन्द्रित पर्यटनलाई बाह्रै महिना बनाउनका लागि अभियान थालेको छ । वर्षा, जाडो र गर्मीलाई प्रवद्र्धन गरी पर्यटक आकर्षण गर्ने योजनाअनुरुप अभियान चलाइएको बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले बताए ।

होटल एशोसिएसन अफ नेपाल (हान) का महासचिव विनायक शाह पनि समग्रमा वर्ष २०७४ पर्यटनका लागि उत्साहवर्दक भएको स्वीकार्नुहुन्छ । उनका अनुसार पर्यटक आगमनको दृष्टिकोणलाई मात्रै विश्लेषण गर्दा पनि २०७४ साल पर्यटनमय बन्न पुगेको छ जुन पर्यटनका लागि निकै उत्साहपूर्ण छ ।

तीन महिनामै तीन लाख पर्यटक

सन् २०१८ को तीन महिनामा विभिन्न मुलुकबाट हवाईमार्ग हुँदै करीब तीन लाख पर्यटक नेपाल आएका छन् । अध्यागमन विभागको पछिल्लो विवरणअनुसार जनवरी, फेब्रुअरी र मार्चमा दुई लाख ८६ हजार ८८२ पर्यटक नेपाल आए । सबैभन्दा बढी चीनबाट ४० हजार पर्यटक आएका छन् । भारतबाट ३४ हजार पर्यटक नेपाल आएका छन् । यो सन् २०१७ को पहिलो तीन महिनाको तुलनामा ११.४ प्रतिशतले बढी हो ।

वर्षको शुरुवातमा पर्यटकको उल्लेख्य आगमनले पर्यटनमा थप उत्साह जगाएको हानका महासचिव शाहले बताए । पदयात्रा र पर्वतारोहणको मुख्य याममा अहिले उल्लेख्य संख्यामा आरोही तथा पदयात्री विभिन्न मुलुकबाट आएका छन् । यस याममा पनि ६० प्रतिशतभन्दा बढी होटल बुकिङ रहेको र यो अझै बढ्ने महासचिव शाहको भनाइ छ ।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहाल वर्ष २०७४ पर्यटक आगमनका हिसाबले सफल मानिए पनि अझै गुणस्तरीय पर्यटक भित्र्याउन पूर्वाधार विकास र प्रवर्धना कामलाई तीव्रता दिनुपर्ने खाँचो औँल्याउनुहुन्छ । विसं २०७४ को शुरुवाती चरणमा बढेको पर्यटकको संख्या र स्थिर सरकार गठनपछि देखिएको उत्साहले पर्यटन क्षेत्रमा सकारात्मक असर पर्ने तथा २०७५ सालमा ठूलो संख्यामा पर्यटक भित्रने अनुमान गरिएको उनले उल्लेख गरे ।

६४९ आरोही हिमाल आरोहणमा

वसन्त ऋतुको यस याममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न हालसम्म ६४९ आरोही आएका छन् । पर्यटन विभागको विवरणअनुसार हालसम्म ७६ वटा आरोहण समूहका ६४९ आरोहीले हिमाल आरोहणको अनुमति लिएका छन् ।

यीमध्यै ३६ वटा समूह सगरमाथा आरोहणका लागि छन् । यसमा ३२ विदेशी र चार नेपाली समूह रहेको विभागका महानिर्देशक दिनेश भट्टराईले जानकारी दिए । उनले अझै धेरै आरोही आउनेक्रम जारी रहेकाले यस वर्ष आरोहीको संख्या उत्साहजनक हुने अनुमान गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस