सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता


३ बैशाख २०७५, सोमबार


काठमाडौं । सभामुख कृष्णबहादुर महरा र संयुक्त राष्ट्रसंघको राजनीतिक मामिला विभागका सहायक महासचिव मिरोस्लाभ जेन्का बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा आज भएको भेटवार्तामा नेपालको दिगो विकास लक्ष्यका लागि भएका प्रयासहरु र संयुक्त राष्ट्रसंघले निर्वाह गर्दै आएको भूमिकाबारे चर्चा गरिएको थियो ।

भेटका अवसरमा सभामुख महराले नेपालमा संघीयता कार्यान्वयनको अभ्यास शुरु भएको भन्दै संविधान कार्यान्वयनका लागि कानून निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताएको सभामुखका सञ्चार विज्ञ डिल्ली मल्लले जानकारी दिए ।

सभामुख महराले शान्ति प्रक्रियाका धेरै काम सम्पन्न भइसकेको र अब देश आर्थिक समृद्धि तथा विकासतर्फ पूरै केन्द्रित भएको छ भने । ‘संयुक्त राष्ट्रसंघले नेपालको शान्तिप्रक्रियामा निर्वाह गरेको भूमिकाका लागि राष्ट्रसंघलाई विशेष धन्यवाद दिन चाहन्छु’, उनले भने, ‘शान्ति प्रक्रियाका महत्वपूर्ण कामहरु करीब–करीब सम्पन्न भएका छन् । हामी अहिले दिगो शान्ति र देशको समृद्धितर्फ केन्द्रित भएका छौँ ।’

तीन चरणका निर्वाचनमार्फत स्थानीय, प्रदेश र संघमा नयाँ सरकार निर्माण भइसकेको छ भन्दै सभामुख महराले पाँच वर्षभित्र जनताको जीवनस्तर बदल्ने गरी विकास र समृद्धितर्फ केन्द्रित रहने बताए ।सहायक महासचिव जेन्काले दिगो शान्ति र विकासका लागि संयुक्त राष्ट्रसंघ सदैव सहकार्यका लागि तयार रहेको जानकारी दिंदै नेपालको शान्तिप्रक्रिया सफलतापूर्वक सम्पन्न भएकामा र संयुक्त राष्ट्रसंघले मध्यस्थता गर्न पाएकामा खुशी व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस