कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कालिका मन्दिरमा एकै महिनामा २८ लाख भेटी


३ बैशाख २०७५, सोमबार


बागलुङ । बागलुङ स्थित प्रसिद्ध कालिका भगवती मन्दिरमा गएको चैत महिनामा २८ लाख ९० हजार भेटी संकलन भएको छ । नगद भेटी, बोका, राँगो, कुखुराको टाउको, चामल, परेवा बिक्री र आर्थिक सहयोगसहित गरी सो रकम उठेको हो । १५ लाख ६९ हजार नगद भेटी चढेको मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।

दुई हजार १०० जोडी परेवा बिक्रीबाट आठ लाख ४५ हजार, बलि चढेका ३९५ बोकाको टाउको बिक्रीबाट तीन लाख ३१ हजार संकलन भएको हो । यस्तै, ९३ पाथी चामल बिक्रीबाट ५८ हजार, सिक्का सटहीबाट १५ हजार आम्दानी भएको छ । बलिको राँगो, कुखुराको टाउको, भक्तजनले चढाएको तेल, कपडा बिक्रीबाट आउने रकम पनि भेटीमा जम्मा हुने गरेको समितिका अध्यक्ष राजु खड्काले बताए ।

सो अवधिमा दुई हजार ५५० नगद आर्थिक सहयोग प्राप्त भएको जनाइएको छ । बलि चढाएका बोकाका टाउको, परेवा, चामल, तेल, कपडा बिक्री, नगदलगायतबाट उठ्ने सबै रकम मन्दिरको मूल भेटीमा जम्मा हुने गरेको छ । अघिल्लो वर्षको तुलनामा गएको चैतमा तीन लाख ६३ हजारभन्दा बढी भेटी उठेको समितिले जनाएको छ । ‘चैतेदशैँमा भक्तजनको घुइँचो लाग्ने हुँदा भेटी बढी उठेको हो’, अध्यक्ष खड्काले भने ।

सोही बेला हुने चैत्राष्टमी मेलाका कारण पनि मन्दिर दर्शन गर्ने भक्तजनको संख्या वर्षेनी बढ्दो छ । बडादशैँ र चैतेदशैँमा मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ । मन्दिरले वर्षमा एक करोडभन्दा बढी भेटीबाट आम्दानी गर्दै आएको छ । समितिले हरेक महिनाको आय व्यय विवरण सार्वजनिक गर्दै आएको छ । जसअनुसार गएको चैत महिनामा एक लाख ४४ हजार खर्च भएको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस