धिमाल जातिको जात्री पर्व शुरु « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

धिमाल जातिको जात्री पर्व शुरु


२ बैशाख २०७५, आइतबार


मोरङ । प्रदेश नम्बर १ मा रहेका धिमाल समुदायको मौलिक पर्व जात्री पर्व आजबाट शुरु भएको छ ।

वैशाख २ गतेदेखि असार २ गतेसम्म धिमाल समुदायले जात्री पर्व मनाउँछन् । नयाँ वर्षको आगमनसँगै शुरु हुने यो जात्री पर्व शुरु हुने गर्छ । नेपालका आदिवासी धिमाल जातिको उद्यमस्थल मानिएको मोरङको भोगटेनीस्थित राजारानीमा मेला लगाएर जात्री पर्व शुरु हुन्छ । ग्रामथानमा हाँस कुखुरा, सुँगुरलगायतको बलि दिएर सो पर्व प्रारम्भ गरिन्छ । मोरङको भोगटेनीबाट शुरु भएपछि धिमालका बस्तीको टोलटोलमा यो पर्व पुग्ने गर्छ ।

प्रकृतिपुजक धिमाल रोगब्याधि नलागोस्, बाली बिरुवा लगाउने बेलामा वर्षात् होस्, जंगली जनावरले दुःख नदियोस्, भन्ने कामनासहित महाराजथानमा गएर सामूहिक पूजाआजा गर्ने गर्छन् । परापूर्वकालमा धिमालले यी समस्या समाधान गर्न ग्रामधानमा पूजा गर्दा कामना पूरा भएपछि यसलाई निरन्तरता दिँदै मनाउँदै आएको जनविश्वास छ ।

सिर्जात अर्थात् सामूहिक पूजा वा जात्री नयाँ वर्षको पहिलो चाड भएकाले सालभरि कसैलाई पनि रोगब्याधि नलागोस्, शोक नपरोस् र सुख शान्ति छाओस् भनेर मनाइने गरिएको सञ्चारकर्मी विजय धिमालले बताउनुभयो । यो पर्वमा धर्म ठाकुर, लक्ष्मी, चौमाझी, बूढा ठाकुरलगायतको पूजा गरिने उहाँले जानकारी दिनुभयो । यस पर्वले धिमाल जातिमा आपसी सम्बन्धमा प्रगाण बनाउँदै बन्धुत्वको भावना विकास गराउने धिमाल अगुवाको भनाइ छ ।

असार संक्रान्तिसम्म मनाइने यो पर्व धिमालका प्रदेश न १ का ९८ वटै टोलमा मनाइने गरिएको छ । जात्रीको अवसरमा गाउँगाउँमा मेलाको आयोजना हुने गरेको छ । जात्रीमा धिमाल आफूले भाकल गरेअनुसार वस्तु चढाउने पनि गर्दछन् धिमालले दुःख– बिरामी नहोस्, सन्तान प्राप्ति होस् भन्ने मनोकामना राख्ने र ती पूरा भएपछि जात्रीका बेलामा देउतालाई भाकलअनुसारका वस्तु चढाउने गर्दछन् । यो बेलामा धिमालका घरमा पाहुना आउने र उनीहरुलाई मासु तथा ‘चिचिरी’, ‘बगिया’लगायतका परिकार खुवाउने पनि गरिन्छ ।

धिमाल वैशाखदेखि असारसम्मका दुई महिना धिमालका प्रत्येक टोलमा ढोल बजाएर रमाइलो गर्छन् । मोरङको उर्लाबारीस्थित मंगलबारेमा रहेको धिमाल जाति विकास केन्द्रको परियोजनास्थलमा दुई महिनापश्चात् सांस्कृतिक मेलाको आयोजना गरी जात्री पर्व समापन गरिन्छ । मेलामा ढोलको आवाज ढङ ढङ आउने हुनाले कतिपयले जात्रीलाई ढङढङे पनि भन्ने गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस