केवल द्रौपदी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

केवल द्रौपदी


प्रशासन विशेष ब्युरो

१ बैशाख २०७५, शनिबार


म पाण्डव पत्नी

पाँच महारथिहरु कि एक्ली महारानी

आईतवार युधिष्ठिर

सोमवार भिम

मंगलवार अर्जुन

बुधवार नकुल

बिहिवार सहदेव

क्यालेण्डरका कोठाहरुमा चिन्ह लगाएर

फरक फरक पतिहरुका लागी

सोर्ह श्रृंगार गरी तयार बस्ने

पाँच महारथिहरु कि एक्ली प्रेयसी

 

म त्यहि महारानी

जुवामा आफ्नै पति व्दारादाउ लगाईएकी

अस्तीत्वहिन बस्तु

पुर्ण राजशभामा

पाँच पाँच महारथि पतिहरु स-शरीर उपस्थित हुँदा हुँदै

लाजको लागि अदृश्य ईश्वर गुहार्न बाध्य

शक्तिहिन अवला

 

फेरि पनि

धर्मको नाममा

वैधानिक भोग्या भएर

कर्तव्यको नाममा

जिन्दगी लाई टुक्रा-टुक्रामा बिभक्त गरी

किश्तामा बाँचेकी म त्यहि बैभवशालि वशंकि बैभवशालि महारानी

 

छि: घिन लाग्न थालेको छ यो जीवन प्रति

वाकवाकी लागेको छ यो भोगाई प्रति

च्यातेर धर्मको जालो

चुडालेर कर्तव्यको बन्धन

फालेर महारानीको आवरण

उड्न मन लागेको छ एक्लै

केवल द्रौपदी भएर

बाँच्न मन लागेको छ यस्तो जीवन

जहाँ भलै पेट आधा होस,तर

आफ्नै आँखामा आफु प्रति सम्मान होस्

 

प्रतिक्रिया दिनुहोस