लागुऔषध र आतंकवाद नियन्त्रणमा सामूहिक प्रयास आवश्यक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लागुऔषध र आतंकवाद नियन्त्रणमा सामूहिक प्रयास आवश्यक


२८ चैत्र २०७४, बुधबार


काठमाडौं । सार्क क्षेत्रको लागुऔषध र आतंकवाद नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक रहेको छ ।

गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको एघारौँ सार्क सुरक्षाकर्मी बैठक तथा छैटौँ सार्क लागूऔषध तथा आतंकवाद अनुगमन डेक्सको बैठकमा गृहसचिव प्रेमकुमार राईले कुनै पनि एक देशले मात्र लागुऔषध र आतंकवाद समस्या समाधान गर्न नसक्ने बताए । “स्थायित्व र विकासका लागि सबै सँगसँगै मिलेर अगाडि बढौँ,”– उनले भने ।

उनले लागुऔषध र आतंकवादसम्बन्धी बनेको ऐन कानूनलाई कार्यान्वयन गर्नुपर्ने बताए । सार्कका महासचिव अमजद हुसेन बी सियालले सार्क क्षेत्रको सुरक्षाका लागि बैठकले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले सामूहिक सुरक्षा चुनौतीलाई समाधान गर्न सामूहिक प्रयासको खाँचो रहेको औँल्याए ।

नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले सार्क क्षेत्रको शान्ति र सुरक्षाका लागि नेपाल प्रहरीले महत्वपूर्ण भूमिका खेलेको बताए । शान्ति सुरक्षा र दिगो विकासका लागि सबै एकजुट हुनुपर्ने बताए ।

हिजो र आज चलेको बैठकमा सार्क क्षेत्रको आतंकवाद, लागुऔषध र सुरक्षाबारे श्रीलंकाले प्रस्तुत गरेको कार्यपत्रमाथि छलफल हुने र निष्कर्ष निकाल्ने गृह मन्त्रालयका उपसचिव मुनका न्यौपानेले जानकारी दिए ।

बैठकमा नेपालबाट १२, भारत चार, श्रीलंका तीन, बंगलादेश दुई, मालल्भिस दुई, पाकिस्तान एक, र भुटानका एक प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस