जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्छ : मन्त्री थापा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्छ : मन्त्री थापा


२८ चैत्र २०७४, बुधबार


विराटनगर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थपमाया थापाले स्वास्थ्य र जोखिम व्यवस्थापन कार्यमा रेडक्रसले ध्यान केन्द्रित गर्नुपर्ने बताइन् ।

नेपाल रेडक्रस सोसाइटीको ४७ औँ महाधिवेशनको आज उद्घाटन गर्दै उनले विशेषगरी समाजमा पिछडिएका महिलाको सशक्तिकरण र आर्थिक विकासका लागि नेपाल रेडक्रसले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्।

मन्त्री थापाले आफ्नो विधान संशोधन गर्दा नेपाल रेडक्रसले आफूलाई महिला मैत्री बनाउनुपर्ने बताउँदै महिलामाथि हुने हिंसा, छाउपडी, बालविवाह, बोक्सी र दहेज प्रथा अन्त्य गर्ने कार्यमा यो संस्थाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ भनिन् ।

महिला हिंसामा संलग्न हुनेलाई सदस्यता नदिन नेपाल रेडक्रसलाई उनले आग्रह पनि गरिन् ।

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले रगतको कमीले ग्रामीण क्षेत्रमा हुने अकाल मृत्युलाई रोक्न रेडक्रसले त्यस क्षेत्रमा रक्तसञ्चार केन्द्र सञ्चालन गर्नुपर्ने बताए ।

राष्ट्रिय समाज कल्याण परिषद्का उपाध्यक्ष नीलमणि बरालले २१ औँ शताब्दी सुहाउँदो कार्य रेडक्रसले गर्नुपर्ने बताए ।

सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा महामन्त्री देवरत्न ध्वाख्वा, मोरङ सभापति सुबोधकुमार सिंह, उपसभापति रमानन्द यादव लगायतले समाज सेवाका क्षेत्रमा नेपाल रेडक्रसले पु¥याएको योगदानको विविध पक्षमाथि प्रकाश पारे ।

उक्त महाधिवेशनमा मुलुकभरिबाट २७५ जना रेडक्रसकर्मीलगायत विभिन्न मन्त्रालय, समाज कल्याण परिषद्, रेडक्रस अन्तर्राष्ट्रिय समिति र अन्तर्राष्ट्रिय महासंघका प्रतिनिधि गरी ३०० जनाभन्दा बढीको सहभागिता छ । महाधिवेशन दुई दिनसम्म सञ्चालन हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस