कर्मचारी र सुरक्षाकर्मीबीच तालमेल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कर्मचारी र सुरक्षाकर्मीबीच तालमेल


प्रेमकुमार राई

२७ चैत्र २०७४, मंगलबार


सरकारले ठूलो संख्यामा फेरबदल गरेका सचिवहरु यतिबेला मन्त्रालयमा पदवहाली गर्न भ्याइ नभ्याइ छन् । कर्मचारी एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा हुनु सामान्य भएपनि केही समय यता सरुवा हुनुलाई असामान्य जस्तै बनाइदै आएको छ । राजनीतिक परिवर्तनसँगै आफु अनुकुल नेतृत्व फेर्ने पुरानै चलन हो । यस पटक पनि करीब करीब पाँच वर्ष कार्यकालको आशा गरिएको सरकारले पहिलो पटक ३० जना सचिवको सरुवा गरेको छ ।

अघिल्ला सरकारहरुले गर्ने गरेको भन्दा तुलनात्मक रुपमा कम बिवादित बनेको यस पटकको सचिव सरुवामा केही अपवादवाहेक धेरै जसो विषयगत विज्ञताका आधारमा गरिएकोले पनि त्यति विवाद भएन । यसै सन्दर्भमा मन्त्रालय हेरफेरका क्रममा सर्वाधिक चाँसो र पावरफुल मन्त्रालय अन्तर्गत मानिने गृह मन्त्रालयको प्रशासन नेतृत्व सम्हालन पुगेका छन् सचिव प्रेमकुमार राई । स्पष्ट, निडर र अब्बल निर्णायक क्षमता भएका सचिवमध्ये एक मानिने सचिव राइले सोमबारदेखि कार्यभार सम्हालेका छन् । सरल र सामान्य प्रस्तुतीबाट उपस्थित राइले गृह कर्मचारी प्रशासन र प्रहरी प्रशासनलाई गरेको पहिलो निर्देशनमा गहन तथा गम्भिर विषयहरु राखेका छन् । प्रस्तुत छ सचिव राईले प्रस्तुत गरेका विषयहरु संक्षेपमाः

कर्मचारी र सुरक्षाकर्मीबीच तालमेल
गृह प्रशासन जनतासँग अत्यन्त नजिक भएर बस्नु पर्ने निकाय हो । यसमा आवद्ध प्रशासनिक कर्मचारी र सुरक्षाकर्मी दुबैले एकआपसमा तालमेल र समन्वय गरेर अघि बढ्ने हो भने सेवा प्रवाहमा सुधार ल्याउन सकिन्छ । जुन यतिबेलाको टड्कारो आवश्यकता हो ।

सुरक्षाकर्मी र प्रशासनको बीचमा तालमेल र समन्वय भएन भने विभिन्न खाले समस्याहरु आउन सक्छन् । त्यो अवस्था आउन दिनु हुँदैन । प्रशासन र सुरक्षाको बीचमा सुमधुर सम्बन्ध हुनुपर्छ र समन्वय पनि हुनुपर्छ । एक आपसमा समन्वय र सहकार्य गरेर समझदार बनेर अगाडि बढ्नु पर्छ । यसो गर्न सकिएमा सफलता हासिल गर्न सकिन्छ ।

कर्मचारी र सुरक्षाकर्मीको बीचमा सुधार गर्नुपर्ने कुराहरु धेरै छन् । प्रशासनमा धेरै खालका उथलपुथल देखिइराखेको अवस्था छ । हामीले आफ्नो कामलाई ध्यान नदिइरहेको जुन अवस्था छ, अब आफ्नो काममा प्रतिबद्ध भइ दायित्व पुर्णरुपमा निर्वाह गर्नुपर्ने हुन्छ ।

सफलताका लागि सहकार्य
सेवा प्रवाहमा सुरक्षाकर्मी र प्रशासनले कार्ययोजना बनाएरै चरणबद्धरुपमा अघि बढ्नु पर्छ । लामो समयदेखिको सिण्डिकेट नियन्त्रण हुँदै गएको छ । सिण्डिकेट मात्रै हैन, कार्टेलिङ, कालोबजारी र एकाधिकारलाई न्यूनीकरण गर्नका लागि सहजीकरण गर्नुपर्ने अवस्था छ ।

राज्यले सहज र कम मुल्यमा गुणस्तरीय सेवा उपभोग गर्न सक्ने अवस्था सिर्जना गर्नुपर्छ । स – साना घटनाहरु अहिले पनि घटिरहेका छन् । केहीमा सफलता पनि हासिल गरेको अवस्था छ भने केही निरन्तर लागिरहेको अवस्था छ । यसमा सुरक्षा निकाय सचेत र संवेदनशील बन्नुपर्ने हुन्छ । कतिपय घटनाहरु न्यूनिकरण भइसकेको छैन, त्यस्ता घटना जरैबाट उखेल्ने खालको संयन्त्रतर्फ सोच्नु पर्छ ।

साना हतियारहरु नियन्त्रण गर्नुपर्छ । महिला तथा वालवालिकामाथि हुने गरेका सबैखाले हिँसा नियन्त्रणका लागि लाग्नु पर्छ र अपराधिलाई कुनैपनि वहानामा उम्कन दिनु हुँदैन । अपराध गर्ने जो कोहीलाई पनि कानूनी दायरामा ल्याउनै पर्छ । यी सबैका लागि एक आपसमा सहकार्य जरुरी छ ।

समृद्धिका लागि सदाचार
सरकारद्धारा लिइएको समृद्धि र सुखी नेपालीको मुख्य नारा पुरा गर्न सबै कर्मचारी र सुरक्षाकर्मीहरु नैतिकता र सदाचारमा बस्न पनि उतिकै जरुरी छ । नेपालीलाई सुखी र समृद्ध बनाउने सरकारको चाहना पुरा गर्न हामी नैतिकता र सदाचारमा बस्नै पर्छ । सदाचार र आर्थिक अनुशासन कायम गर्ने दिशामा सबै पक्ष अग्रसर हुँदै अत्यन्तै पारदर्शी किसिमले काम कारवाही अगाडि बढाउनु पर्छ ।

कानून निर्माणमा प्राथमिकता
मुलुक संघीय संरचनामा गएको छ । स्थानीय, प्रदेश र संघ गरी तीन तहका सरकार बनेका छन् । यि तीन वटै सरकारको भूमिकाबारे केही संविधानले पनि उल्लेख गरेको छ र कतिपय उल्लेख नभएका कुराहरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि विस्तृतिकरण गरेको छ । अझै पनि हामीले संविधानले उल्लेख गरेका विषयबस्तुलाई छिमोलेर, कानुन बनायर वा संसोधन गरेर अघि बढ्नु पर्ने अवस्था छ ।

अधिकार दिइएन भन्ने स्थानीय र प्रदेश सरकारको गुनासोसँगै केही द्विविधा उत्पन्न भइरहेको अवस्था छ । के के पाउने भन्नेबारे स्थानीय सरकार अन्यौलमा छ र केन्द्रलाई पनि थाहा छैन कि हामी कहाँसम्म शासन गर्ने हो भन्ने कुरा । त्यसैले अहिलेको सबैभन्दा टड्कारो आवश्यकता स्थानीय प्रशासन ऐनलाई संशोधन गर्न जरुरी छ । शसस्त्र र नेपाल दुैबै प्रहरीका लागि संघीय प्रहरी ऐन छिटो बनाउन पर्छ । जवसम्म कानूनप्रति ध्यान दिँदैनौ तवसम्म हामी जहाँको त्यही रहन्छौं ।

व्यक्तिगत इन्ट्रेष्टमाथि नियन्त्रण
प्रशासनिक पुनःर्संरचनाका क्रममा संस्थाको विकास भन्दा पनि व्यक्तिगत विकासमा बढी केन्द्रित भएको देखिन्छ । काम र आवश्यकता भन्दा पनि व्यक्तिलाई राख्नको लागि लागेको जुन देखिन्छ गृह प्रशासनसँग सम्बन्धित छ भने त्यसलाई नियन्त्रण गर्नुपर्छ ।

राजश्व चुहावट नियन्त्रणमा सक्रियता
राजश्व चुहावट नियन्त्रणमा सुरक्षाकर्मीहरुले ठूलो भूमिका खेल्नु पर्ने अवस्था छ । अहिलेपनि कतिपय भन्सारमा चोर नाकाबाट सामानहरु भित्रिइरहेको भन्ने छ, त्यसलाई नियन्त्रण गर्न बोर्डरमा बस्ने सुरक्षाकर्मीहरुले सक्रियता देखाउनु पर्छ । छोटी भन्सारहरुमा उपस्थिति बढाउनु पर्ने देखिन्छ । गृहमन्त्रीज्यूले अघि सारेका ८२ बुँदे कार्ययोजना पुरा गर्न प्रशासन र सुरक्षाकर्मीहरु उत्तिकै सक्रिय हुन जरुरी छ ।

अन्तमा,
सुशासन र आर्थिक विकास लागि शसक्त सुरक्षा व्यवस्था आवश्यक पर्ने भएकोले त्यसमा सबै जुट्न जरुरी छ । अहिले केही कामहरु तदारुकताका साथ अगाडि बढाउनु पर्ने आवश्यकता छ । हाम्रो सम्पूर्ण ध्यान कामप्रति केन्द्रित गर्नुपर्ने अवस्था छ । त्यसमा सबै कर्मचारीले साथ दिनेछन् भन्ने विश्वास मैले लिएको छु ।

Tags :
प्रतिक्रिया दिनुहोस