मालदार अड्डामा ट्रेड युनियनका नेता ! « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मालदार अड्डामा ट्रेड युनियनका नेता !


२५ चैत्र २०७४, आइतबार


काठमाडौं । यतिबेला निजामती कर्मचारीमाथि चौतर्फि प्रहार भइरहेको छ । स्थायी सरकारसमेत भनिने कर्मचारीतन्त्रमाथि बिनाकुनै कारण एकैचोटी प्रहार भएको भने पक्कै होइन, उसका विगत र वर्तमानका गतिबिधिबाट राजनीति र नागरिक दुबै स्तरबाट यति बिध्न आलोचना भएको हो ।

एकताका सरकारी जागिर भनेपछि हुरुक्कै हुने नेपाली समाज अहिले निलो कोट देख्ने बित्तिकै नाक खुम्च्याउने अवस्थासम्म आइपुगेको छ । कुनै समयको मगमगी बसाउने कर्मचारीतन्त्र यति छोटो अवधिमै किन ठूस्स गन्हाउनेतन्त्रमा परिणत भयो त रु यसो हुनुका धेरै कारणहरुमध्ये एक हो ट्रेड युनियन ।

कर्मचारीको हकहितका लागि खोलिएका ट्रेड युनियनहरु यति धेरै हावि भए कि पदीय दायित्वसमेत विर्सेर सचिवलाई मुखियाले थर्काउने अवस्थासम्म आइपुगे । यद्यपी उच्च प्रशासकहरुले तल्लोतहका कर्मचारीहरुलाई घरेलु कामदार झै व्यवहार गर्ने गरेको र सबै खाले सेवा सुविधाहरु आफु केन्द्रित गरेकोले त्यसका बिरुद्ध खबरदारी जरुरी  भएको बताइरहँदा कर्मचारीका न्यूनतम मुल्य र मान्यताहरुलाई लत्याउनु कदापी राम्रो होइन ।

अस्थित्वमा रहेका प्रत्येक राजनीतिक दलका ट्रेड युनियन कर्मचारीभित्र खडा भए । यतिबेला निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनसहित ८ वटा ट्रेड युनियहरु सक्रिय छन् ।

बिभिन्न राजनीतिक दलसँग आवद्ध यस्ता ट्रेड युनियनहरुले राजनीतिक इसारामा आफ्ना गतिबिधिहरु संचालन गर्नु सामान्य मानिएपनि कार्यालयको काम गर्न छोडेर नेता झै सेवा र सुविधाभोगी हुन थाले । यसै सन्दर्भमा युनियनको रवाफ देखाउँदै मालदार अड्डामा अखेडा जमाउँदै आएका बिभिन्न ट्रेड युनियनका पदाधिकारीहरु मध्ये एक नेपाल निजामती कर्मचारी युनियन (संघ) का पदाधिकारीहरुको बारेमा रिपोर्ट बनाएका छौं ।

सुबोधकुमार देबकोटा
नेपाल निजामती कर्मचारी आधिकारिक ट्रेड युनियन महासचिब र पूर्व अध्यक्ष
देवकोटा ओभरसियर हुँदादेखि नै पटक पटक डिभिजन सडक कार्यालय काठमाडौ र ललितपुरमा आलोपालो बस्दै आएका छन् । शुरु नियुक्ति भएको केही समय बाहिर बसेका उनी मालदार अड्डाका रुपमा चिनिएका कार्यालयमा मात्रै बस्ने गरेका छन् ।

इन्जिनियर भएपछि डिभिजन सडक कार्यालय काठमाडौ, सहिद मार्ग रोल्पा हुँदै हाल गल्छी रसुवागढी आयोजना नुवाकोटमा कार्यरत रहेका छन् । उनी निजामती सेवा ऐनमा ब्यवस्था बिपरित कार्यालय प्रमुख भएर पनि ट्रेड युनियनको पदमा रहिरहेका छन् । देवकोटा सधैँ अत्याधिक बजेट भएका कार्यालयहरुमा मात्रै बस्दै आएका छन् ।

गोपाल प्रसाद पोखरेल
वर्तमान अध्यक्ष
हालसालै बढुवा भएका पोखरेल राजश्व पदले शाखा अधिकृत हुन् । नायव सुब्बा हुँदा तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोक, राजश्व अनुसन्धान कार्यालय बुटवल र राजश्व अनुसन्धान कार्यालय पथलैया बसेका पोखरेल तातोपानी भन्सारमा कारर्यरत रहँदा आन्तरिक कारवाहीमा परी फिर्ता समेत गरिएका कर्मचारी हुन् । हाल अर्थ मन्त्रालयमा कार्यरत उनले अर्थको सरुवा सेटिङ्ग मिलाउने गरेका छन् ।

राजेन्द्र बुढाथोकी
केही समयअघि भएको युनियन (संघ) को निर्वाचनमा पराजित अध्यक्षका उम्मेद्वार राजेन्द्र बुढाथोकी नेपाल सरकारका शाखा अधिकृत हुन् । मालपोत कार्यालय, डिल्लीबजार, चाबहिल र हाल कलंकीमा कार्यरत उनी सधैँ भ्यालीको मालपोतमा मात्रै बस्ने कर्मचारीका रुपमा चिनिन्छन् ।

केही समयअघि मात्रै श्रममा दरबन्दी सारेका बुढाथोकी काज मालपोत बिभागमा छ भन्दै काम चाहीँ कलंकीमा नै गर्छन् । मालपोतमा हुने जग्गा दलाली लगायत सबै सरुवाको सेटिङ्ग गर्ने गरेको आरोप छ यिनीमाथि ।

उत्तम कटुवाल
उपाध्यक्ष
हाल केन्द्रीय जैबिकी प्रयोगशालाको स्टोर किपरको रुपमा रहेका कटुवाल पदले खरिदार हुन् । यहीको कमाइले उनले १ बर्ष मै झापामा घर बनाईसकेका छन् ।

प्रदिप श्रेष्ठ
समाबेशी उपाध्यक्ष
डिभिजन सडक कार्यालय काठमाण्डौ र ललितपुरमा काम गरिसकेका श्रेष्ठ हाल मध्यमाञ्चल सडक निर्देशनालयमा कार्यरत छन् । उनी क्षेत्रभरीको सडक ठेक्काको मुल्याँकन गरेर कमिसन असुल्छन् ।

शान्ता अर्याल
महिला उपाध्यक्ष
सदैब भ्यालीका जिल्ला प्रशासन कार्यालयमा काम गर्ने शान्ता अर्याल पदले नायब सुब्बा हुन । उनी जिल्ला प्रशासन कार्यालय ललितपुर, जिल्ला प्रशासन कार्यालय, भक्तपुर, जिल्ला प्रशासन कार्यालय, काठमाण्डौं र अध्यागमन कार्यालय, त्रिभुवन अन्राष्ट्रिय बिमास्थल कार्यालयमा दोहोराई तेहराई बसिरहेकी छन् । गृह अन्तर्गत यी सबै कार्यालय अनियमित कार्यका लागि आकर्षक कार्यालय मानिन्छ ।

सुभाषकुमार कोईराला
महासचिब
बिगत लामो समयदेखि मध्य पहाडि लोकमार्गमा लेखापालको काम गर्दै आएका कोइराला हाल डिभिजन सडक सुर्खेतमा कार्यरत छन् । बढी बजेट भएको कार्यालय मानिन्छ सूर्खेतलाई । सडक बिभागबाटै मध्य पहाडि राजमार्ग संचालन हुँदा थप दरबन्दी सृजना गराएरै बसेका थिए यिनी ।

दुर्गा फुयाँल
उपमहासचिव
नापी कार्यालय भक्तपुरमा काम गरेका दुर्गा फुँयाल पदले सर्वेक्षक हुन् । अतिरक्त आम्दानीका हिसाबले आकर्षक मानिने नापी कार्यालय भक्तपुरको लामो समयको बसाइपछि हाल बिभागमा कार्यरत छन् ।

यज्ञ अर्याल
उपमहासचिव
मालपोत कार्यालय चितवन र डिल्लिबजार बसिसकेका यज्ञ अर्याल हाल बैदेशिक रोजगार बिभागमा कार्यरत छन् । शाखा अधिकृत रहेका उनले अनियमित आमदानीबाट किर्तिपुरमा घर बनाईसकेका छन् ।

यज्ञ वली
सचिब
सानाठूला सवारी कार्यालय एकान्तकुना, यातायात कार्यालय बीरगन्ज हुँदै हाल बैदेशिक रोजगार बिभागमा कार्यरत वली पदले नायव सुब्बा हुन् । सरुवामा मध्यस्थको काम गर्दै आएका उनको सरुवामा बेग्लै रवाफ छ ।

नवराज जैसी
सचिब
वैदेशिक रोजगार बिभागमा ४ वर्ष काम गरिसकेका जैसी शाखा अधिकृत हुन् । वैदेशिक रोजगार बिभागमा आन्तरिक कारबाहीमा परेका उनी अधिकृत भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगे । मुद्दाको बिचौलिया बनेकाले आयोगबाट आन्तरिक कारवाही स्वरुप शाखा परिवर्तन गराइएका जैसी हाल सामान्य प्रशासन मन्त्रालयमा छन् । उनले सामान्यको सरुवामा पनि खुबै चर्चा छ उनको ।

धर्मेश गौतम
कोषाध्यक्ष
बिगत लामो समयदेखि सडक विभागको कर्मचारी प्रशासनमा कार्यरत शाखा अधिकृत गौतम मध्य पहाडी लोकमार्गको स्टोर किपर समेत भईसकेका थिए । बिभागको सरुवामा सुबोधकुमार देबकोटाको एजेन्ट भई काम गर्ने ब्यक्तिका रुपमा चिनिने उनी हाल पनि सडक बिभागमा नै कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस