निम्तो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निम्तो


प्रशासन विशेष ब्युरो

२४ चैत्र २०७४, शनिबार


कुनै नेता त्यता आयो भने यता पठाइदिनु
यता म मात्र रोएको छैन,
सबैका आँशुले प्रत्येक वर्ष त्रिशुली, गण्डकी, कर्णाली र नारायणीको
बहाव बढाउँदै छ
यता म मात्र हारेको छैन,
उनका जूनका किनारमा पुग्ने सपनाका खेलहरुले हार मानी गुहार मागीसकेका छन्

ए आमा,
यहाँ त दुःख छ
बेहाल भई लाल परेका हातका फोकाहरु हाँस्दै छन्,
गर्भभित्रको नवजात चित्र विचित्र दुनियाँको दुःखकोे डरले बाहिर आउँदैन भन्छ,

प्रत्येक घरमा झुत्रे बोरीहरुबाट आत्महत्याका डोरीहरु बटारिदैछन्,
एउटा हाँस्छ त भोलि मर्छु भनेर,
एउटा रुन्छ त भोलि बाँच्छु भनेर
न यहाँ प्यार छ, न त यहाँ व्यापार नै छ

ए आमा !
कुनै नेता त्यता आयो भने यता पठाइदिनु

साँच्चीकै यहाँ,
बेचिएका जङ्गलका पातहरु पनि विरक्त छन्
बुबाका आशिर्वादका हातहरु पनि विरक्त छन्
आज भोलि त मेरो खोलाको पानीले मेरो आँखाको नानी छुन डराउँछ,

सोच्छ होला यो गरीवलाई किन ऋणि बनाउँ
किनकि ऊ हजारौ ऋणहरुबाट घेरिएको छ
आज भोलि त सूर्यको किरणले किरण फाल्न पनि डराउँछ,
सोच्छ होला किन यो दुःखीको दुःखमा प्रकाश दिउँ
कसम आमा ती दुवै बिक्री भैसके,
किनभने सूर्य र पानी विदेशले देश लगिसक्यो

पहिले त आमा,
मेरा पाखामा लाली फुल्थे, मेरा आँखामा डाँफे डुल्थे
कोइलीको आवाज बिहानै मेरो घरको धुरी चिर्दै डाँको हाल्थे
बुढा बुबाका हड्डीहरु खुसीले हाँस्थे

जब एक फूलले अर्को फूललाई आलिङ्गन मुद्रामा लुकामारी गर्थे
तब स्वर्ग पनि आफूलाई गिज्याएको आभाश गथ्र्यो
तर आज भोलि बाटो बिराउँछन् बटुवाहरु
किनकि यो दुःख नगरका कयौँ बाटाहरु छन्
तर आज भोलि त्यो घर छेउमा बस्ने बुढी आमाका अनुहारका बक्र रेखामा
निराशाका तस्वीरहरु चमक्क चम्किन्छन्
न यहाँ बस्न बास छ न यहाँ बाँच्न आश छ

त्यसैले हे आमा !
कुनै नेता त्यता आयो भने यता पठाइदिनू
म शिक्षक बन्न तयार छु ,
ता कि मैले उनलाई इमानदारीको पाठ पढाउन सकूँ
ता कि मैले जिम्मेवारी र नैतिकताको उद्घोष गर्न सकूँ
म व्यापारी बन्न तयार छु ,

ता कि वस्तु व्यापार र स्वाभिमान व्यापारको महत्व बुझाउन सकूँ
हे आमा म डक्टर बन्न तयार छु ,
ता कि अरब र खाडीका पीडाको दुःखाई कति गहिरो हुन्छ भनी नाप्न सिकाउन सकूँ

म गोठालो र किसान बन्न तयार छु ,
मैले उनीहरुलाई किसानी र गोठालोको जीवनी बुझाउन सकूँ
कोही पठाइदेऊ यता, कुनै नेता आउँछ भने त्यता
म घाँटीमा डोरी बाध्न तयार छु
ता कि मैले सिकाउन सकूँ अकाल मृत्यु कस्तो हुन्छ भनेर ।

प्रतिक्रिया दिनुहोस