धेरै लामो समय भयो
मैले जागिरमा आफुलाई बेचिदिएको !
सत्ताईस वर्षअघिको एउटा दिन
जसरी मध्यरातमै उठेर म शंखध्वनी बजाउन रेडियो दौडन्थेँ
आज पनि त्यही छ मेरो दिनचर्या !
कानुन फेरियो
मान्छे फेरिए
मान्छेका सपना फेरिए
तर फेरिएको छैन मेरो सपना
फेरिएको छैन मेरो समय
फेरिएका छैनन् मेरा साथीहरु
म उहीँ छु उस्तै छु !
पत्तो नपाई रमाउन थालेको छु म
यहि रेडियोको चार घेरोभित्र
जहाँ अनगिन्ती आवजहरु
मेरै बाटो भएर पुग्छन् पारिपट्टी
र छरिन्छन् देशका कन्दरासम्म
तर म त देशै नदेखेको मान्छे
रमाउँछु ,बेस्सरी रमाउँछु
त्यसरी देश बोलेको सुन्दा !
म आफैं रेडियो हुँ जस्तो लाग्छ आजभोलि
छोराछोरी र श्रीमतीभन्दा ज्यादा
किनकिन मलाई रेडियोको माया लागेर आउँछ
जोसित मैले जिन्दगीको केही लामा पलहरु बिताएको छु !
माफ गर छोरो
मलाई तिमिभन्दा ज्यादा रेडियो नै प्रिय लाग्छ
किनभने मैले यहाँ आफुलाई बेचेर
तिम्रो सपना किनिरहेको छु !