नून र अन्न नखाएर पनि निरोगी र सक्रिय जीवनाथ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नून र अन्न नखाएर पनि निरोगी र सक्रिय जीवनाथ


२० चैत्र २०७४, मंगलबार


मोरङ । एउटा व्यक्ति नून र अन्न नखाइकन कति दिन बाँच्न सक्ला ? हामी प्रायजसोलाई त एक दिन पनि अन्न र नून नखाइ दिन कटाउन गाह्रो हुन्छ ।

तर सुन्दर हरैँचा नगरपालिका—७, गोठगाउँ निवासी जीवनाथ भट्टराईले अन्न र नून नखाइकनै सात दशक कटाउनु भएको मात्र छैन हाल त उनले २०६८ देखि त खाँदै आएको कन्दमूलसमेत त्याग गरेका छन् ।

हाल ८२ वर्षमा हिँडिरहेका भट्टराई के अन्न र नून बिना रहन र काम गर्न सक्नुहुन्छ त ? भन्ने स्वाभाविक प्रश्नमा उनको उत्तर यस्तो छ— काम गर्नमा युवाहरुले भेट्दैनन् ।

मानिसमा भगवान्को भक्ति भावना र अठोट भयो भने यो सम्भव छ भन्ने कुरा उनले प्रमाणित गरेका छनृ् ।

सात वर्षकै उमेरमा उनले नून र अन्न खान छोडेका रहेछन् र आलु, तरुल, सख्खरखण्डजस्ता कन्दमूल खाने रहेछन् । यस्तै, खाएर नै उनले ७५ वर्ष व्यतीत गरिसकेका रहेछन् । यस्तो आहाराको भरमा पनि भट्टराई सामाजिक क्षेत्रमा सक्रिय रहे भने छरछिमेक मात्र होइन टाढाटाढाका आगन्तुकलाई पनि धामीका रुपमा उपचार गरी निको पार्दै आएका छन् ।

भोजपुरको भुल्केमा १९९३ असोज ११ मा जन्मनुभएका उनी त्यस बेला विद्यालय नभएकाले विद्यालय शिक्षा प्राप्त गर्न सकेनन् भने घरमै अक्षर चिनी भागवत, रामायण, गीता आदि पढ्न सक्ने भए ।

युवावस्थामा एकपटक झापामा एकजना गुरुको भान्से बसेर काम गरेकोबाहेक अन्यत्र गई काम गरेनन्, भने आफ्नै खेती किसानी तथा धार्मिक गतिविधिमा संलग्न भए । उनी यही क्रममा पहाड छोडेपछि सुनसरीको कालापानी (चक्रघटृी), रामधुनीको मानपुर, पकली, इटहरी बसाइँ सर्दै हाल गोठगाउँमा एउटा भगवतीको मन्दिर खडा गरी त्यहीँ श्रीमतीसहित बसेका छन् ।

चार भाइ छोरा र एक बहिनी छोरीका पिता उनीका छोराछोरी सबै छुट्टिएका र छोरीको विवाह भइसकेको छ । उनको धार्मिक लगाव र व्रत ध्यानका कामले सगोलमा बस्न सहज नभएको उनका साहिँला छोरा समाजसेवी शिव भट्टराई बताउछन् । छोरा कृष्ण र हरि छुट्टीएका छन् भने कान्छा श्यामवावुको केही बर्ष अगाडि निधन भएपछि भने वृद्व जीवनाथ शोकमा पपरेका छन् ।

बयासी वर्षे वृद्ध जीवनाथ पूर्णरुपमा स्वस्थ छन् र अहिले पनि घरका सामान्य काम आफैँ गर्ने, खेतबारीमा खन्ने, एउटा गाई पालेर त्यसको स्याहार गर्ने, घाँस काट्ने आदि गर्छन् । उनको खान्की भने केवल दिनभरमा तीनवटा स्याउ रहेको छ । उनी त्यसलाई उसिनेर हलुवाजस्तो बनाएर अलिअलि खाने गर्छन् ।

उनी चिया खानु हुन्न, खाएमा घरकै तुलसीको धुलोको चिया मात्र, दूध खाएमा घरमै पालेको कैली गाईको दूध मात्र खानेगर्छन् । कामधेनु गाई भन्नु नै कैली गाई हो त्यसको दुधमा शक्ति हुन्छ भन्छन्, जीवनाथ ।

एकपटक सामान्य चोटपटक लागेर विराटनगर अस्पताल लगिएकोमा डाक्टरले उनी पूर्ण स्वस्थ भएको, कुनै रोग नभएको, बरु अलिकति केही खाइदिए राम्रो हुने भन्ने सुझाव मात्र दिएको छोरा शिव बताउछन् ।

उनी केही नखाइ पनि बाँच्ने अभ्यास गर्छन । केही नखाइ कसरी यस्तो शक्ति प्राप्त हुन्छ र निरोगी भइन्छ त भन्ने जिज्ञासामा जीवनाथ भन्छन्, ‘आफ्ना बुबा भवानीप्रसाद भट्टराई पनि यस्तै ध्यानी भएकाले आफूले पनि आत्मज्ञानबाटै नून, अन्न छोडी भगवान्को ध्यान र व्रत गरेकाले नै शक्ति प्राप्त भएको हो । उनले घरमै भगवतीको मन्दिर स्थापना गरेका छन् भने‘बूढीबज्यू’ भनिने भगवतीको आस्था र पूजा गर्छन् ।

उनीशाखे पूर्णिमा, ऋषि तर्पणी आदिमा २४ अ‍ै घण्टा नखाइ व्रत बस्छन् भने नौरथामा पनि पञ्चमीदेखि सप्तमीसम्म केही नखाइ व्रत बस्छन् । उनले चिनी पनि त्यगेका छन् ।

जीवनाथ आफ्नो ब्रत र ध्यानले नै स्वस्थ र सक्रीय रहन सफल भएको इटहरी—४ का मच्छिन्द्रवहादुर बस्नेत र भरत खतिवडा बताउछन् ।

उनी गाईको मोही भने खान्छन् । बुहारी भावना नेपालका अनुसार आमा सावित्रादेवी पनि निरोगी छन् र सामान्य खाना खानु हुन्छ तर उनले पनि नून तेल छोड्नुभयो र अलिनो खानुहुन्छ, घरबाहिरको घिउ पनि चलाउनुहुन्न ।

जीवनाथले आफ्नो शक्तिबाट धेरैलाई रोगमुक्त पार्नुहुन्छ भने उनबाट आरोग्य प्राप्त गर्न झापा, सुनसरीलगायत विभिन्न जिल्ला का साथै काठमाडौं तथा भारतको आसाम, सिक्किमबाट समेत मानिसहरु आउँछन् र सन्तुष्ट भएर जान्छन् ।

उनले यही शक्ति र सक्रियताबाट नै विभिन्न संघसंस्थामा रही कार्य गर्नु भएको छ भने भट्टराई कूल विकास प्रतिष्ठानका संस्थापक अध्यक्षका रुपमा समेत कार्य गरी गोठगाउँमा देवली गराउन महत्वपूर्ण भूमिका पनि खेलेका थिए ।

यसरी भगवान्को भक्ति र व्रतको शक्तिबाट वृद्धावस्थामा पनि निरोगी र सक्रिय रही समाजमा योगदान गर्न सकिन्छ भन्ने कुरा वृद्ध ध्यानी जीवनाथले प्रमाणित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस