स्वास्थ्य सचेतनाले अहिले आमा र शिशुको ज्यान जोगिएको छ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

स्वास्थ्य सचेतनाले अहिले आमा र शिशुको ज्यान जोगिएको छ


१६ चैत्र २०७४, शुक्रबार


मातृ स्वास्थ्य तथा नवजात शिशु मृत्यु’ अधिकांस गाउँको साझा समस्या हो । घरमै सुत्केरी गराउँदै आएका समुदायमा गर्भवती, सुत्केरी तथा नवजात शिशुको मृत्युदर उच्च हुनु पनि नौलो कुरा भएन । पछिल्लो समय सरकारी तथा गैरसरकारी क्षेत्रबाट मातृ तथा नवजात शिशु मृत्युदर घटाउन धेरै प्रयासहरु भएका छन् अझै पनि यो जारी छ ।

मातृ तथा नवजात शिशु मृत्युदर उच्च रहेका जिल्लाहरुमध्ये एक हो कपिलवस्तु । मातृ तथा नवजात शिशु मृत्युदर घटाउन बिभिन्न क्षेत्रबाट भएका प्रयासहरुले आशातित प्रतिफल दिन नसकिरहेको अवस्थामा फेयरमेड फाउण्डेसनको आर्थिक सहयोगमा आइएनएफद्धारा संचालित मानसी परियोजना ‘संचालन गर्ने फरक शैली र बिधि’ले केही समयमै समुदायमा सकरात्मक प्रभाव देखिन थाल्यो । कार्यक्रम लागु भएका जिल्लाका साविकका ४५ वटा गाविसमध्ये एक बर्कुलपुर क्षेत्रमा परियोजनाको असर कस्तो रह्यो भन्ने बारे बर्कुलपुर स्वास्थ्य चौकीका अहेव पीताम्बर पन्थीसँग प्रशासन डट कमका एस राज उपाध्यायले गरेको कुराकानी ।

संस्थागत प्रसुती गराउँदा र नगराउँदाको फरक के देख्नुभयो ?
संस्थागत प्रसुती गराउँदा आमा र शिशुको ज्यानमा खतरा कम हुन्छ । यसले गर्दा मातृ तथा शिशु मृत्युदरमा कमी ल्याउन सकिन्छ भन्ने कुरा प्रत्यक्ष देख्न पाइयो ।

मानसी परियोजना संचालन हुनुभन्दा अघि र अहिलेको अवस्थामा के फरक छ ?
धेरै भिन्नता छ । परियोजना पछि समाजमा चेतना बढेको छ । अहिले आमाहरूमा स्वास्थ्य संस्थामा जचाउनुपर्छ भन्ने चेतना विकास भएको छ । यसले समुदायलाई सक्षम बनाउन मद्यत पुर्याएको छ । घरमै सुत्केरी गराउँदै आएका महिलाहरु समेत अब त अस्पतालमै जानुपर्छ भन्ने महसुस गर्न थालेका छन् ।

यो अवस्थासम्म पुर्याउन मानसी परियोजनाको योगदान के रह्यो ?
समुदायस्तरमा महिला स्वयं सेविकाको भूमिकालाई थप सक्रिय बनाउँदै जनचेतना अभिवृद्धि, व्यवहार परिवर्तन र नेतृत्व विकासका साथै समुदाय परिचालन गर्न मद्यत गर्यो भने संस्थागतरुपमा स्वास्थ्य प्रणालीलाई पनिआवश्यक सहयोग जस्तोः स्वास्थ्यकर्मीलाई तालिम, सिप विकास, आवश्यक उपकरण, मर्मत सम्हार जस्ता कुराहरुमा सहयोग पुर्याएको छ । स्वास्थ्य संस्था व्यवस्थापन समितिलाई बढी उत्तरदायी बनाउदै सक्रिय बनाउन सहयोग गरेको छ ।

जनचेतनाका कारण पहिलेको तुलनामा अहिले उल्लेख्य प्रगति भएको छ । पहिले खोप नपाएर, सुरक्षित बच्चा जन्माउन नसकेर र दूध चुसाउन नजानेर थुप्रै आमा र शिशुको ज्यान जाने गरेको थियो । अहिले त्यो अवस्था छैन ।

अब के के कुरा भइ दियो भने अझ सजिलो हुने थियो जस्तो लाग्छ ?
अहिले समाजमा धेरै कुरामा चेतना पुगेको छ । अब समुदायमा भौतिक पूर्वाधार निर्माण गर्नु आवश्यक छ । यहाँका गाउँघर क्लिनिक र खोप सेवाका लागि उपयुक्त स्थानको व्यवस्थापन गर्न जरुरी छ । अहिले भवन नहुँदा बाहिरै खोप लगाउनुपर्ने बाध्यता छ । यसले शिशुलाई संक्रमण हुने जोखिम छ ।

थपकेही भन्न मन लागेको छ ?
यो ठाउँमा आइसकेपछि यो मानसी परियोजनाले गरेको सहयोगबाट म धेरै प्रभावित भएको छु । धेरै संस्था आए । तर, प्रभावकारी भएनन् । मानसीले भने लक्ष्य अनुसार वास्तविक लक्षित वर्गका लागि धेरै काम गरेको छ । यसका लागि म फेयरमेडलाई धन्यवाद दिन चाहान्छु ।

अपुग कुरामा फेयरमेडले सहयोग गरिदियोस् भन्ने अपेक्षा छ । जनचेतना बढाउन र कर्मचारी व्यवस्थापन र औषधीमा सहयोग गरे यहाँको स्वास्थ्यमा धेरै सुधार हुन्छ जस्तो लाग्छ ।

 

र यो पनि,

 स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ 

गर्भवतीलाई सहज

Tags :
प्रतिक्रिया दिनुहोस