अछामको मेल्लेख गाउँपालिका पशुपालनमा आत्मनिर्भर बन्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अछामको मेल्लेख गाउँपालिका पशुपालनमा आत्मनिर्भर बन्दै


१६ चैत्र २०७४, शुक्रबार


अछाम । मेल्लेख गाउँपालिका पशुपालनमा करिब आत्मनिर्भर बनेको छ । यहाँ सबैजसो वडाका किसान पशुपालनका हिसाबले निकै अगाडि भएका कारण गाउँपालिका नै पशुपालन र मासुजन्य वस्तुमा करीवकरीव आत्मनिर्भर अवस्थामा देखिएको हो ।

मेल्लेख गाउँपालिकामा आवश्यक बाख्रा र भैँसी तथा त्यसबाट प्राप्त हुने मासु र दूधजन्य वस्तुको बाहिरबाट आयात बन्दजस्तै रहेको बताइएको छ । १० वटै स्थानीय तहमध्ये पशुपालनका लागि भूगोल, भौगोलिक, वातावरणीय रुपमा सन्तुलित र बाख्रापालनका दृष्टिकोणले निकै उपयुक्त क्षेत्र भएका कारण मेल्लेख गाउँपालिका क्षेत्रभित्रका किसान पशुपालन गरेर आत्मनिर्भर भएको गाउँपालिकाको पशु सेवा शाखाका प्रमुख कृष्णबहादुर रोकायाले बताए।

गाउँपालिकाको पशु सेवा शाखाका अनुसार प्रत्येक वडाका कृषकसँग तीन हजार बढी बाख्रा रहेका र वडा नम्बर १ र २ ऋषिदहमा भेडापालनसमेत भइरहेको छ । गाउँपालिकाभरि ३० हजारको हाराहारीमा बाख्रापालन भइरहेको छ भने दूधजन्य उत्पादनका लागि पालिने पशुवस्तुको समेत राम्रो सम्भावना रहेको रोकायाको भनाइ छ ।

गाउँपालिकाले एक गाउँ एक उत्पादन नीति लिएर पशुपालनलाई पनि उच्च महत्व दिएर कार्य अघि बढाइरहेको गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले बताए । गाउँपालिका, पशु सेवा कार्यालय र शाखामार्फत विभिन्न अनुदान सहयोग र आवश्यक प्राविधिक तथा व्यावसायिक ज्ञान प्रदान गरिएपछि किसानलाई पशुपालनका लागि निकै सहज भएको बताइएको छ । रासस

यस वर्ष पनि गाउँपालिकाबाट पशु सेवातर्फ झण्डै रु २० लाख रकम विनियोजित गरी आवश्पक प्रचारप्रसार, घाँस विकास, औषधि खरिद र किसानलाई अनुदान सहयोगलगायतका कार्यक्रम अघि बढाएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस