जिल्ला भन्सारमा आसीकुडा प्रणाली « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जिल्ला भन्सारमा आसीकुडा प्रणाली


१३ चैत्र २०७४, मंगलबार


गौशाला । महोत्तरीको जिल्ला भन्सार कार्यालय जलेश्वरमा आजदेखि आसीकुडा प्रणाली लागू भएको छ ।

जिल्ला भन्सार कार्यालयले आजदेखि उक्त नाकाबाट आयात निर्यात हुने सम्पूर्ण सामानको प्रज्ञापन पत्रको कामकाज आसीकुडा प्रणालीबाट शुरु गरेको प्रमुख भन्सार अधिकृत केशवकुमार भण्डारीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले एक कार्यक्रमबीच जलेश्वर भन्सारमा आसीकुडा प्रविधिको उद्घाटन गरे । सो कार्यक्रममा भन्सार विभागकी सूचना प्रविधि निर्देशक नीतु भारतीले आसीकुडा प्रणालीले यहाँको व्यापारमा सहजीकरण गर्ने बताइन्। उनले आजदेखि भन्सारको प्रज्ञापन पत्र अनलाइन भएको र अब आयात निर्यातकर्ता व्यापारी व्यवसायी कागजी प्रक्रियाबाट मुक्तभएको बताइन् ।

आसीकुडा प्रणाली सञ्चालनमा आइसकेपछि व्यापारी व्यवसायी भन्सार कार्यालयमै आइरहनु नपर्ने, घरमै बसी÷बसी अनलाइनमै आफ्नो दस्तुर तिर्न सक्ने र अनलाइनमै प्रज्ञानपत्र प्राप्त गरी आफ्नो मालसामान आयात निर्यात गर्नसक्ने बताइन् ।

‘यस प्रणालीका माध्यमबाट कुन भन्सारले के, कति र कहाँ के गरिरहेको छ भन्ने बारेमा केन्द्रबाट चौबीसै घण्टा अनुगमन र निरीक्षण गर्न सकिन्छ,’ भन्सार विभागकी सूचना प्रविधि निर्देशक भारतीले भनिन् । यसले भन्सारको काम कारबाहीमा गति प्रदान गर्नुका साथै भ्रष्टाचार न्यूनीकरण र अनियमिततामा रोक लगाउन महत्पूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

यसअघि मुलुकका ११ जिल्लामा आसीकुडा प्रणाली लागू भइसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस