फोर्ड गाडी ठगी प्रकरणमा राजस्व विभागको अटेरी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

फोर्ड गाडी ठगी प्रकरणमा राजस्व विभागको अटेरी


प्रशासन विशेष ब्युरो

११ चैत्र २०७४, आइतबार


काठमाडौं । फोर्ड ब्रान्डका सवारीसाधनमा भइरहेको ठगी प्रकरणमा आन्तरिक राजस्व विभागले अनुसन्धान प्रक्रियामा असहयोग गरेको आपूर्ति विभागले जानकारी दिएको छ।

राजस्व विभागले आपूर्ति विभागलाई आवश्यक जानकारी उपलब्ध नगराएर अनुसन्धान प्रक्रियामा असहयोग गरेको हो। ‘हामीले फोर्ड गाडीका विषयमा केही आवश्यक विषयवस्तुमा जानकारी उपलब्ध गराइदिन तीन पटकसम्म पत्राचार गर्‍यौं’, आपूर्ति विभागका महानिर्देशक कुमारप्रसाद दाहालले भने, ‘तर राजस्व अनुसन्धान विभागले एकपटक पनि जवाफ पठाएन।

एउटा सरकारी निकायले अर्को सरकारी निकायको कामकारबाहीमा सहयोग नगर्दा अनुसन्धान नै प्रभावित बनेको छ।’

आपूर्ति विभागले पछिल्लो पटक गत आइतबार तेस्रो पटक राजस्व अनुसन्धान विभागलाई पत्राचार गरेको हो। यसअघि दोस्रो पटक फागुन १६ गते पनि विभागले राजस्व विभागलाई पत्राचार गरेको थियो। त्यसको एक महिनाअघि पनि सोही विषयमा पहिलोपटक आपूर्तिले राजस्व विभागलाई पत्राचार गरेको थियो। आपूर्ति विभागले तीन पटकसम्म पत्राचार गरे पनि राजस्व अनुसन्धान विभागले एक पटक पनि लिखित जवाफ फर्काएको छैन।

‘पत्राचार गरेको डेढ महिना बितिसक्दा पनि एउटा सामान्य विषयवस्तुबारे आन्तरिक राजस्व विभागले सहयोग गरेन’, आपूर्तिका महानिर्देशक दाहालले भने, ‘यो सीधै अटेरीपन देखियो। फोर्ड गाडीको अडिट रिपोर्ट माग गरेका छौं। अटेरी गरेर त्यो दिन नसक्नु भनेको सिस्टम फेलर भएको भन्नुपर्‍यो।’

एक डेढ साताभित्र राजस्व विभागबाट जानकारी प्राप्त नभए अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री कार्यालयलाई बोधार्थ दिएर अन्तिम पटक पत्राचार गरिने उनले बताए। ‘त्यसपछि पनि अटेरीपन देखिए अन्तिम विकल्पमा फोर्डसहित अन्यको सम्पूर्ण कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिनका लागि बुझाउने हाम्रो तयारी छ’, महानिर्देशक दाहालले भने। आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस