पाक्दो काफल भन्छ के सकलमा, ऐसेलु के भन्दछ ?
उल्लासै परिवेशमा वन हुँदा, मीठो त्यहीं छन्द छ,
फुल्छन् पुष्प जता–लता लहरमा, पाक्छन् गुहेली फल,
वासन्ती ऋतुराजमा मन भने, औधी भयो चञ्चल ।
शैलीमा सुरिलो उमंग रसका आत्मीय भाकाहरू,
डाकिन्छन नव सूत्रमा हृदयले स्वीकार्य डाकाहरू,
हांगा पात जरा विभाज्य रुखझैं बांडिन्छ मेरो मन,
यौटै काण्ड महां ठसक्क उभिदा शिक्षा छ सम्प्रेषण ।
निःस्वार्थीपनमा अरण्य वनले डाक्ने कला भिन्न छ,
कोसेली उपहार छन् हृदयमा चिनो तथा चिन्ह छ,
बिर्सिन्नन् जनले अथाह ममता एकान्त छानामुनि,
गाऊं लाग्दछ कोइली लवजमा आवाज मीठो सुनी ।
ए ! मौरी मिहिनेत गर्न तँ सिका, बोली सिका कोइली,
गर्मी धेर हुरी बतास सहँदै, नाँच्नै सिका पल्लवि,
पस्की दे सबका समक्ष रचना, सौन्दर्यको वैभव,
मान्छेमा रसयुक्त जीवन सिका, वासन्तिका शोभित