४ हजार वडा कार्यालयविहीन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

४ हजार वडा कार्यालयविहीन


प्रशासन विशेष ब्युरो

९ चैत्र २०७४, शुक्रबार


काठमाडौँ । चुनाव भएर जनप्रतिनिधिले काम थालेको एक वर्ष हुन लागिसके पनि अधिकांश स्थानीय तह कार्यालयविहीन छन् ।

७७ जिल्लाका स्थानीय तहमा ६ हजार ७ सय ४३ वडा छन् । तीमध्ये झन्डै ४ हजार वडा कार्यालयको भवन तत्काल बनाउनुपर्ने अवस्था रहेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अधिकांश वडा कार्यालयका आफ्नै भौतिक संरचना छैनन् । तिनीहरू भाडाका घरमा सञ्चालित छन् । मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले करिब ४ हजार स्थानीय तहका कार्यालय बनाउनुपर्ने तथ्यांक आएको बताए ।

मुलुकभर २ हजार ७ सय ४३ वडाको मात्रै आफ्नै भवन छ । तिनमा पनि कतिपय भवन पुनर्निर्माण र मर्मतसम्भार गर्नुपर्ने अवस्थामा छन् । दुर्गम भेगका कतिपय वडा कार्यालय वडा अध्यक्षको घरमै सञ्चालित छन् ।

दुर्गम क्षेत्रमा कार्यालय सञ्चालन गर्न भाडाको घर नपाइने डोल्पाको डोल्पोबुद्ध गाउँपालिका १ का अध्यक्ष ग्याल्पो थापा भोटेले बताए । ‘सदरमुकामबाट ३ दिन पैदल दूरीमा पर्ने भएकाले कार्यालय सञ्चालन गर्ने कोठा नपाउँदा मेरै घरमा सम्पर्क कार्यालय राखेको छु,’ उनले भने ।

कार्यालय नै नभएपछि वडा सचिव पनि कार्यथलोमा जाँदैनन् । अति दुर्गममा पर्ने माथिल्लो डोल्पाका ४ वटै गाउँपालिकामा वडा कार्यालय नभएको भोटेले बताए । ‘गाउँपालिकाको कार्यालयचाहिँ भाडाको घरमा खोलिएको छ,’ उनले भने । वडा कार्यालय नभएको भन्दै सचिवहरू गाउँ जान नमान्ने छार्का ताङसेङ गाउँपालिका १ का अध्यक्ष धावा लामाले जानकारी दिए ।

देशभरका २ सय ७६ नगरपालिकामध्ये १ सय १९ कार्यालय भवन निर्माणको चरणमा छन् । नगरपालिकाका भवन बनाउन २ अर्ब ९७ करोड थप रकम आवश्यक छ ।

गाउँपालिका र वडा कार्यालयहरूको भवन निर्माण गर्न जिल्ला समन्वय समितिमार्फत संकलन गरिएको तथ्यांकअनुसार त्यसका लागि ७१ अर्ब ६४ करोड आवश्यक रहेको अनुमान छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस