सिंहदरबारका अघिकांश कर्मचारीको ‘ब्लडप्रेसर हाई’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सिंहदरबारका अघिकांश कर्मचारीको ‘ब्लडप्रेसर हाई’


प्रशासन विशेष ब्युरो

९ चैत्र २०७४, शुक्रबार


काठमाडौं । सिंहदरबारभित्र काम गर्ने अधिकांश कर्मचारीको रक्तचाप उच्च देखिएको छ । सिंहदरबारभित्रको ‘हेल्थ डेस्क’मा जाँच गराउँदा अधिकांश कर्मचारीमा उच्च रक्तचापको जोखिम देखिएको अहेब दीपक मुडभरीले बताए ।

कर्मचारीमा कामको चाप र तनावले समस्या भएको हुन सक्ने उनले बताए । चिकित्सकले उपचारका लागि आउने कर्मचारीको दैनिकी बुझ्दा दिनभर चियाको भरमा बस्ने गरेको सुनाएका थिए । सिंहदरबारभित्र करिब सात हजार कर्मचारी छन् ।

उनीहरूमध्ये हालसम्म चार सय १० ले स्वास्थ्य परीक्षण गराएकोमा ७० प्रतिशत अर्थात् दुई सय ८७ मा उच्च रक्तचाप देखिएको मुडभरीले बताए ।

रक्तचापबारे जान्नैपर्ने कुरा
चिकित्सकहरूका अनुसार ३० प्रतिशत व्यक्तिमा उच्च रक्तचापको लक्षण नदेखिन सक्छ । सामान्यतया वयस्कको रक्तचाप १२०र८० एमएमएचजीभन्दा कम हुनुपर्छ । १२०—१३९ / ८०—८९ एमएमएचजीलाई उच्च रक्तचापउन्मुख अवस्था मानिन्छ ।

१४०—१५९/९०—९९ एमएमएचजीलाई उच्च रक्तचाप भनिन्छ । १६०/१०० एमएमएचजी वा सोभन्दा बढीलाई जोखिमपूर्ण उच्च रक्तचाप मानिन्छ । उच्च रक्तचाप मुटु, रक्तनली, हृदयाघात तथा मिर्गौला बिग्रिने प्रमुख कारण हो ।

२१ दिनमा १६ जना इमर्जेन्सी भर्ना
सिंहदरबारका कर्मचारीमा तनाव, ग्यास्ट्रिक, प्रेसर, आँखा, टाउको दुख्नेजस्ता समस्या बढी देखिएको छ । महिला कर्मचारीमा आँखा र टाउको दुख्ने समस्या बढी छ भने पुरुषमा तनाव, ग्यास्ट्रिक र प्रेसरको समस्या बढी देखिएको मुडभरीले बताए ।

१६ कर्मचारीको स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । उनीहरूमा उच्च रक्तचाप र ग्यास्ट्रिक देखिएको हो । चिकित्सकका अनुसार हेल्थ डेस्कमा सेवा लिन आउने कर्मचारी ५० वर्षमाथिका बढी छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस