आरक्षण र संरक्षण भन्दा क्षमता र प्रतिष्पर्धामा विश्वास गर्नुहोस : प्रधानमन्त्री ओली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आरक्षण र संरक्षण भन्दा क्षमता र प्रतिष्पर्धामा विश्वास गर्नुहोस : प्रधानमन्त्री ओली


८ चैत्र २०७४, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाहरुलाई आरक्षण र संरक्षणमा भन्दा क्षमता र प्रतिष्पर्धामा विश्वास गर्न आग्रह गरेका छन् ।

राष्ट्रिय महिला उद्यमी महासंघले बिहिबार ललितपुरको सानेपामा आयोजना गरेको तेस्रो अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला २०७४ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

आरक्षण केही समयलाई भएको बताउँदै ओलीले पछिलाई काम नलाग्ने बताए । अखिल नेपाल महिला संघको अगुवाइमा दशक अघी सुरु भएको ३३ प्रतिशत आरक्षणको उपलब्धी अहिले ४१ प्रतिशतमा पुगेको प्रधानमन्त्री ओलीले बताए । यसलाई हामी छिट्टै ५० प्रतिशत पुर्याइने ओलीले बताए ।

महिलाहरुको आर्थिक सवलीकरण नभएसम्म प्रतिष्पर्धी क्षमता बिस्तारमा केही कठिनाइ हुने भएकोले त्यसतर्फ पनि ध्यान दिनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘घरेलु उद्यम मार्फत महिलालाई आर्थिक रुपमा शसक्त बनाउन सकिन्छ’ प्रधानमन्त्री ओलीले भने ‘महिला उद्यमीहरुले निर्यातजन्य वश्तुको उत्पादन गर्ने सके आर्थिक स्तर उकासिन धेरै समय लाग्दैन ।’

प्रधानमन्त्री ओलीले मेलामा प्रदर्शनीका लागि राखिएका घरेलु उत्पादनका सामग्रीहरुको निरीक्षण पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस