कर्मचारी स्वेच्छिक अवकास प्याकेजः सरकारलाई ‘निल्नु न ओकल्नु’ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कर्मचारी स्वेच्छिक अवकास प्याकेजः सरकारलाई ‘निल्नु न ओकल्नु’


प्रशासन विशेष ब्युरो

८ चैत्र २०७४, बिहिबार


काठमाडौं – निजामती कर्मचारी स्वेच्छिक अवकाश प्याकेज व्यवस्थापन सरकारका लागि टाउको दुखाइ बनेको छ। राज्यलाई भार पर्ने गरी पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको यो कार्यक्रमलाई निरन्तरता दिने कि खारेज गर्ने भन्ने विषयमा वर्तमान सरकार अन्योलमा परेको हो।

५० वर्ष उमेर र २० वर्ष सेवाअवधि पूरा भएका कर्मचारीका लागि सात वर्षको ग्रेड थप गरी सातै वर्षको पेन्सन एकमुस्ट दिने गरी अघिल्लो सरकारले स्वेच्छिक अवकाश प्याकेज ल्याएको थियो। स्वेच्छिक अवकाश आवश्यक छ/छैनरु अवकाश पाउन केही दिनमात्रै बाँकी रहेकालाई यस्तो सुविधा दिनुको औचित्य केरु सरकारले करोडौं लगानी गरेका कर्मचारीलाई किन उल्टो पैसा दिएर पठाउनेरु देउवा सरकारले अवकाश प्याकेजका लागि रकम कसरी जुटाउने भन्ने सामान्य अध्ययनसमेत नगरी स्वेच्छिक अवकाश योजना ल्याएका कारण त्यसलाई कार्यान्वयन गर्ने कि खारेज भन्ने विषयमा वर्तमान सरकार अलमलमा छ।

संघीयता लागू भएपछि प्रदेश र स्थानीय तहमा कर्मचारी पठाएर सेवा प्रभावकारी बनाउनुको सट्टा भएकै कर्मचारीलाई किन अतिरिक्त सुविधासहित एकमुस्ट रकम दिएर सेवाबाट बिदा दिनुको औचित्य पुष्टि हुन सकेको छैन। सामान्य प्रशासन मन्त्रालयमा स्वेच्छिक अवकाशमा जान इच्छुक साढे नौ हजार कर्मचारीको आवेदन परेको छ।

पूर्ववर्ती सरकारले ल्याएको कर्मचारी स्वेच्छिक अवकाश योजना कार्यान्वयन गर्ने कि खारेज भन्ने विषयमा केपी ओली नेतृत्वको सरकार अलमलमा परेको छ । प्रधानमन्त्री ओली, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्वेच्छिक अवकाश योजना देशको हितमा नभएको भन्दै खारेज गर्ने बताउँदै आएका छन्। प्रदेशमा खटाइएका कर्मचारीले ४५ दिनसम्म पनि हाजिर हुन अटेरी गरिरहेका बेला स्वेच्छिक अवकाश योजना खारेज गर्दा कर्मचारीबाट विरोध वा असहयोग हुने र कार्यान्वयन गर्दा अर्बौं रुपैयाँ चाहिन्छ। यो योजना कार्यान्यन भए त्यस्तै अनिवार्य अवकाश हुन केही दिनमात्र बाँकी भएकालाई पनि औचित्यबिनै सुविधा दिनुपर्नेछ।

संघीयता लागू भएसँगै एकात्मक शासन प्रणालीअन्तर्गत निजामती सेवाका कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्नुपर्ने भएपछि पूर्ववर्ती देउवा सरकारले कर्मचारी समायोजन ऐन ल्याएको थियो । तर, स्थानीय चुनाव तयारी र संसद्को पनि अवधि सकिनै लागेकाले पर्याप्त छलफलबिनै सो ऐन पारित भयो। त्यतिबेला सरकारको स्वार्थ थियो, मंसिर १० र २१ को प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कर्मचारीको मत आकर्षित गर्ने। यसै उद्देश्यले कर्मचारीलाई स्वेच्छिक अवकाशको प्याकेज ऐनमा राखिएको हो। त्यस्तै देउवा सरकारले कर्मचारी समायोजन नियमावली मस्यौदामा प्रदेश र स्थानीय तहमा समायोजन हुने कर्मचारीलाई एक तह बढुवा दिने प्रस्ताव गरेको थियो। तर त्यतिबेला सो नियमावली पारित हुन सकेन । ओली सरकारले एक तह बढुवाको प्रावधान हटाएर कर्मचारी समायोजन नियमावली पारित गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार स्वेच्छिक अवकाशका लागि ९ हजार ६ सय ५६ जनाले आवेदन दिएका छन्। तीमध्ये करिब ८ हजार आवेदन अध्ययन गर्दा स्वेच्छिक अवकाश लिनेमा पाँच सचिव, ३८ सहसचिव, दुई सय उपसचिव, १६ सय शाखा अधिकृत, दुई हजार एक सय नासु, एक हजार खरिदार र तीन हजार एक सय कार्यालय सहयोगी छन्। करिब १५ सय निवेदन रुजु गर्न बाँकी छ। मन्त्रालयका अनुसार स्वेच्छिक अवकाशका लागि निवेदन दिएकामध्ये अधिकांश केही महिनामै उमेर हदका कारण अनिवार्य अवकाश पाउँदैछन्।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पण्डितले पूर्ववर्ती सरकारले अध्ययन नगरी हचुवाका भरमा कर्मचारी स्वेच्छिक अवकाश प्याकेज ल्याएका कारण समस्या भएको बताए। उनका अनुसार स्वेच्छिक अवकाशका लागि निवेदन दिएकामध्ये केही कर्मचारी छिट्टै अवकाशमा जान लागेका छन्। ‘निवेदन दिँदैमा कर्मचारीलाई स्वेच्छिक अवकाश दिनुपर्छ भन्ने छैन। निवेदन दिने उसको अधिकार हो। स्वीकृत गर्ने–नगर्ने सरकारको अधिकार हो,’ मन्त्री पण्डितले भने, ‘मानसिक रोगी, अशक्त र गम्भीर बिरामीबाहेक अन्यलाई स्वेच्छिक अवकाश दिइँदैन।’ उनले मानसिक रोगी, अशक्तबाहेकका कर्मचारीलाई समायोजन गरिने र समायोजनमा नगए बर्खास्त गर्ने बताए। उनले अनिवार्य अवकाश पाउनै लागेकालाई स्वेच्छिक अवकाश दिएर सरकारले आर्थिक बोझ नलिने स्पष्ट पारे। ‘जागिर खान मन नभए अवकाश लिन सबैलाई छुट छ, तर एकमुस्ट सात वर्षको पेन्सन र ग्रेडसहितका सुविधा थपेर अवकाश दिइँदैन।’

प्रधानमन्त्री ओली र मन्त्री पण्डितले एकमुस्ट पेन्सन दिएर स्वेच्छिक अवकाश नदिने सार्वजनिक रुपमा बताएपछि कर्मचारी वृत्तमा खैैलाबैला मच्चिएको छ। एकमुस्ट सात वर्षको पेन्सन पाइने लोभमा अनिवार्य अवकाश पाउन केही दिन र महिनामात्र बाँकी रहेका कर्मचारी ट्रेड युनियनसँग स्वेच्छिक अवकाश योजना लागू गर्न लबिङमा लागिरहेका छन्। निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाल सरकारले स्वेच्छिक अवकाश प्याकेज ल्याएपछि कर्मचारीले सोहीअनुसार मनस्थिति बनाएकाले अब खारेज गर्न नहुने बताउँछन्। उनी भन्छन्, ‘निवेदन दिएका कर्मचारीले अब सेवा छाड्छु भन्ने मनस्थिति बनाइसके। कतिले पैसा आएपछि विभिन्न काम गर्ने योजना बनाएका होलान्। कतिले घरको तला थप्ने योजना बनाएका होलान्। सरकारले स्वेच्छिक अवकाश नदिए उनीहरुको योजना पनि अलपत्र पर्न सक्छ।’ उनले स्वेच्छिक अवकाश योजना ल्याउनुअघि सरकारले गृहकार्य नगरेकाले कार्यान्वयनमा केही समस्या देखिएको पनि बताए। ‘ऐन, नियमावली, नीति ल्याउने, खारेज गर्ने सरकारको अधिकार हो तर प्रक्रिया र विधि पु(याउनुपर्छ,’ उनले भने । ढकालले समायोजनमा जाने कर्मचारीलाई पनि एक तह बढुवा दिनुपर्ने दाबी गरे।

प्रशासनविद् भीमदेव भट्टले संघीयता कार्यान्वयनका लागि अनुभवी कर्मचारी चाहिने बेलामा भएकालाई नै थप सुविधा दिएर बिदा गर्नु ठिक नहुने बताए। ‘हामी संघीयता कार्यान्वयन क्रममा छौं। यसबेला धेरै अनुभवी र जिम्मेवार कर्मचारी आवश्यक पर्छ,’ उनले भने, ‘भएकालाई पनि सुविधा थपी–थपी बिदा गर्नु ठिक होइन।’ अध्ययनबिनै स्वेच्छिक अवकाश योजना ल्याइएकाले कार्यान्वयनमा समस्या भएको उनले बताए। भट्टले कर्मचारी ट्रेड युनियनले संघीयता कार्यान्वयनमा सहयोग गर्नुको सट्टा सुविधा मागेर सरकारसँग दोहोरी खेल्न नहुने पनि बताए। ‘संघीयता कार्यान्वयनका बेला कर्मचारीले त सहयोग गर्ने हो,’ उनले भने, ‘बार्गेनिङ गर्ने, सुविधा खोज्ने होइन।’ आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस