बीस वर्ष पुराना ११० सवारी जफत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बीस वर्ष पुराना ११० सवारी जफत


७ चैत्र २०७४, बुधबार


काठमाडौं । यातायात व्यवस्था विभागले २० वर्ष पुराना ११० वटा सार्वजनिक सवारी साधन जफत गरेको छ ।

पछिल्लोपटक मंगलबार वीरगञ्जबाट १६ वटा २० वर्ष पुराना सवारी जफत गरिएको विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए ।

चैत १ गतेदेखि १४ वटै अञ्चल यातायात व्यवस्था कार्यालयले सडकमा अनुगमन गरी २० वर्ष पुराना सवारी जफत शुरु गरेका थिए । प्रदूषण र सवारी दुर्घटना बढेको भन्दै सरकारले सवारी तथा यातायात व्यवस्था नियमावली संशोधन गरी चैत १ गतेदेखि देशभरका सडकमा २० वर्ष पुराना सार्वजनिक यातायात गुड्न रोक लगाएको थियो ।

विभागले फागुन मसान्तसम्म २० वर्ष पुराना सवारी पत्रुका लागि निवेदन दिन व्यवसायीलाई सूचित गरेको थियो । त्यस अवधिमा १२७ सवारी पत्रु गर्न १४ अञ्चल कार्यालयमार्फत विभागमा निवेदन प्राप्त भएको देशभर २० वर्ष पुराना सवारीको संख्या १६ हजार ९६१ रहेको विभागले जनाएको छ ।

सरकारले हरियो प्लेट, मिटर ट्याक्सी र अन्य सार्वजनिक यातायातका सवारीलाई २० वर्षे नियम लगाएको हो । निजी र सरकारी नम्बर प्लेटका २० वर्ष पुराना सवारी पनि हटाइनुपर्ने यातायात क्षेत्रका विकृतिविरुद्ध आवाज उठाइरहनुभएका भक्तपुरका रामबहादुर थापाले माग गरे ।

निजी र सरकारी नम्बर प्लेटका २० वर्ष पुराना सवारी गुड्न निषेध नगर्दा सडकमा प्रदूषण कम हुन नसकेको उनले बताए । यातायात व्यवसायीको विरोधका बाबजुद विभागले सडकमा २० वर्ष पुराना सवारी गुडे÷नगुडेको निरीक्षणलाई निरन्तरता दिएको छ ।

यातायात व्यवसायीले भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा २० वर्ष पुराना सवारी जफत गर्ने अभियान बन्द गर्न माग गरिरहेको अभियन्ता थापाले बताए । सरकारले यातायात व्यवसायीका पक्षमा नेपाल राजपत्रमा प्रकाशित भएको सूचनाविपरीत निर्णय गरे प्रदूषण एवं दुर्घटना बढ्ने उनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस