मन्त्रालय मर्जको असरःआधा कर्मचारी कटौती « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मन्त्रालय मर्जको असरःआधा कर्मचारी कटौती


प्रशासन विशेष ब्युरो

७ चैत्र २०७४, बुधबार


काठमाडौंः दुई मन्त्रालय मर्ज भएर नयाँ बनेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आधाभन्दा बढी कर्मचारी कटौती हुने भएका छन्। दुई मन्त्रालयका आधाभन्दा बढी कर्मचारी कटौती गर्दै मन्त्रालयको नयाँ संगठन संरचना तयार पारिएको छ।

मन्त्रालयको नयाँ संगठन संरचनाअनुसार अब संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा एक सय ५४ जना मात्रै कर्मचारी हुनेछन्। यसअघिको केन्द्रिकृत शासन प्रणाली अनुसारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा २ सय ५ र सामान्य प्रशासन मन्त्रालयमा १ सय २६ दरबन्दी गरी कूल ३ सय ८ जना कर्मचारी छन्।

संघीय शासन प्रणालीअनुसार दुई मन्त्रालय मर्ज भएर नयाँ मन्त्रालय बनेसँगै आधाभन्दा बढी कर्मचारी कटौतीमा पर्ने भएका हुन्। नयाँ संगठन संरचनाअनुसार दुई मन्त्रालयमा गरी एक सय ७५ दरबन्दी कटौतीमा पर्ने भएका हुन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको नयाँ संगठन संरचनाअनुसार अब मन्त्रालयमा संघीय मामिला, योजना तथा अन्तर्राष्ट्रिय सहयोग समन्वय, स्थानीय तह क्षमता विकास, कर्मचारी प्रशासन, कर्मचारी समायोजन तथा संगठन विकास र प्रशासन सुधार तथा जनशक्ति विकास गरी ६ वटा मात्रै महाशाखा रहनेछन्। यसअघि संघीय मामिला मन्त्रालयमा मात्रै सात र सामान्य प्रशासन मन्त्रालयमा तीन महाशाखा गरी १० महाशाखा थिए।

दुवै मन्त्रालयका १० मध्ये तीन महाशाखा खारेज गर्दै मन्त्रालयले सात महाशाखा बनाउन प्रस्ताव गरेको छ। यसैगरी विभिन्न क्षेत्रलाई समेट्ने गरी २१ वटा महाशाखा राख्ने तयारी गरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ।

प्रस्तावित कर्मचारी दरबन्दीमा हाल दुई सचिव, ६ जना प्रशासनका सहसचिव, २१ जना उपसचिव र ४३ जना शाखा अधिकृत रहने मन्त्रालयको भनाइ छ। यसैगरी लेखा अधिकृत तीन, कानुन अधिकृत एक, कम्प्युटर इन्जिनियर र अधिकृत एक–एक जना, नायब सुब्बा ३५, लेखापाल तीन, हल्का सवारी चालक आठ र कार्यालय सहयोगी २६ जना रहने गरी नयाँ संगठन संरचना तयार पारिएको मन्त्रालयले जानकारी दिएको छ।

योसँगै अब मन्त्रालयमा प्राविधिकसमेत गरी चार सहसचिव र उपसचिवको १५ पद कटौती हुनेछ। यस्तै शाखा अधिकृतको २२ पद र नायब सुब्बाको ३१ पद कटौतीमा पर्नेछ।

मन्त्रालयले तयार पारेको नयाँ संगठन संरचनालाई स्वीकृतिका लागि मन्त्रिपरिषद् लैजाने तयारी गरेको छ। दुई मन्त्रालय मर्ज भएर नयाँ मन्त्रालय बनेसँगै सरकारले कार्यान्वयनमा ल्याएको कार्यविभाजन नियमावली २०७४ अनुसार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कार्यजिम्मेवारी २८ वटा निर्धारण गरेको छ। आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस