अघिबढ्यो अमेरिका उत्तर कोरिया वार्ता, अमेरिकी र उत्तर कोरियाली अधिकारी हेलसिन्कीमा भेट्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अघिबढ्यो अमेरिका उत्तर कोरिया वार्ता, अमेरिकी र उत्तर कोरियाली अधिकारी हेलसिन्कीमा भेट्दै


४ चैत्र २०७४, आइतबार


हेलसिन्की । संयुक्तराज्य अमेरिका र उत्तर कोरियाका अधिकारीहरु आइतबार फिनल्याण्डको हेलसिन्कीमा भेट्ने भएका छन् ।
गएको मार्च ८ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका विशेषदूत अमेरिका पुगेर वार्ताको प्रस्ताव राखेपछि यी दुई देशबीच भेटवार्ताको चर्चा सुरु भएको हो ।

सोही वार्ताकै प्रयोजनका लागि यी दुई देशका अधिकारीहरु अनौपचारिक रुपमा हेलसिन्कीमा वार्तामा बस्न लागेका हेलसिन्कीबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले शनिबार जानकारी दिएका छन् ।

उत्तर कोरियाली विदेशमन्त्रालयको अमेरिका डेक्सका प्रमुख चोख्वाङ इल दुइदिने औपचारिक भ्रमणका लागि आइतबार हेलसिन्की पुग्नुहुने यहाँको सरकारी टेलिभिजनले जानकारी दिएको छ । साथै आइतबार नै दक्षिण कोरियाका लागि पूर्व अमेरिकी राजदूत काथलिन स्टेफन पनि यहाँ आइपुग्ने समाचारहरुमा जनाइएको छ । उनीहरुबीच आइतबारै साँझ यहाँ अनौपचारिक भेटघाट रहेको यहाँको एक दैनिक पत्रिका हेलसाइन सानमोतको अनलाइन संस्करणले जानकारी दिएको छ । यो कुराको पुष्टि फिनल्याण्डको विदेश मन्त्रालयले पनि गरेको छ । उक्त दैनिकका अनुसार विदेशमन्त्रालयले यी दुई अधिकारीहरुको भेटवार्ताको चाँजो मिलाएको छ ।

फिनल्याण्डको सरकारी समाचार समिति, एसटिटीले उक्त वार्ता आइतबार साँझ हेलसिन्कीमा रहेको जापानी दूताबासमा हुने पनि जानकारी गराएको छ । फिनल्याण्डको विदेश मन्त्रालयको एसिया डेक्सका प्रमुख किमो लादेभिर्ताले सो वार्ता विशुद्ध प्राज्ञिक तर अर्थपूर्ण हुने भन्दै यसको व्यवस्थापन फिनल्याण्डले गरेको पुष्टि गरे । साथै उनले यस वार्ता अन्तर्राष्ट्रिय सम्बन्धका हिसाबले र त्यसका लागि व्यवस्थापनको काम गरिएको पनि उक्त समाचार समितिलाई जानकारी दिएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनका विशेषदूतका रूपमा त्यहाँका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इयु–योङ दक्षिण कोरिया र उत्तर कोरियाली नेता किमको सन्देश बोकेर अमेरिका गएका थिए। उनको सो भ्रमणपछि अमेरिकाले उत्तर कोरियासँग वार्तागर्ने आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको हो ।

राष्ट्रपति ट्रम्पले सो वार्ता प्रस्ताव स्वीकारगर्दै उत्तर कोरियाका नेतासँग अमेरिकाले वार्ता गर्न तयार रहेको बताएको थियो । उनले भनेको थियो– हामीले उत्तर कोरियासँग गर्न लागेको वार्ता सफल हुनेछ र यसले हामीबीचका सबै कुरामा पनि खुलेर कुरागर्ने अवस्था आउने छ । उनले उत्तर कोरियाले आणविक अस्त्रको उत्पादन रोक्ने बाचा गरेको कारणले वार्ताका लागि आफू उत्साहित भएको पनि बताएको थियो ।

यसबीचमा राष्ट्रपति ट्रम्पले त्यस वार्ताका लागि जापान, दक्षिण कोरिया र चीनको पनि समर्थन र सहयोग रहेको खुलासा ट्वीटमार्फत नै गरेको छ । उत्तर कोरियाली नेता किम जङ उन र राष्ट्रपति ट्रम्पबीच आगामी मे महिनाको अन्तिमतिर भेटवार्ता हुने कार्यक्रम पनि सोही समयमा तय भएको हो । तर त्यसको मिति भने निश्चित भएको छैन ।

त्यसैले यो हेलसिन्की वार्ता त्यस अगाडिको तयारीको लागि तय भएको अनुमान गरिएको छ । उक्त वार्ताको तयारीका लागि यी अधिकारीहरु अगावै भेट्न खोजेका अनुमान गरिएको छ । अमेरिका उत्तर कोरिया वार्ताको चर्चा सुरु भएपछि चिनियाँ राष्ट्रपति सि चिनफिङले पनि सफलताका लागि शुभकामनासम्म दिएका छन । यी दुई देशबीच हुने भनिएको वार्ताको सफलताको कामना उनले यसैहप्ता गरेका छन ।

उता दक्षिण कोरियाली ती विशेषदूतले यसैहप्ता चीनका राष्ट्रपति सि चिनफिङलाई पनि भेटेका हुन । उनले अमेरिका उत्तर कोरिया तथा उत्तर र दक्षिण कोरियाबीचमा भएको पछिल्लो विकसित घटनाक्रमका साथैवार्ताका बारेमा जानकारी गराएका छन ।

गएको फेब्रुअरी ९ देखि २५ सम्म दक्षिण कोरियामा सम्पन्न ओलम्पिक खेलकूदमा उत्तर र दक्षिण कोरियाका प्रतिनिधिहरुको सहभागिताबाट सम्बन्धमा पछिल्लो समयमा निकै सुधार आएको महसुश गरिएको छ । अब यसै महिनाको अन्तिममा दुई कोरियाबीच उच्चस्तरीय बैठक आयोजना गर्ने तयारी हुदै छ । यस तयारीको जानकारी दक्षिण कोरियाका राष्ट्रपति इनका प्रमुख सचिव इम जङ सियोकले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस