सिरियाली गृहयुद्ध आठौँ वर्षमा, तीन लाख ५० हजारभन्दा बढी नागरिकको ज्यानगयो, २ करोड विस्थापित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सिरियाली गृहयुद्ध आठौँ वर्षमा, तीन लाख ५० हजारभन्दा बढी नागरिकको ज्यानगयो, २ करोड विस्थापित


१ चैत्र २०७४, बिहिबार


बेरुत । सिरियामा जारी रहेको गृहयुद्ध बिहीबार आठौँ वर्षमा प्रवेश गरेको छ । सन् २०११ को मार्च १५ बाट त्यहाँ राष्ट्रपति बसर अल असदको राजिनामा माग्दै जनआन्दोलन सुरु भएको थियो ।

तर उक्त आन्दोलनमा सरकारको व्यापक दमन र हिंसाका कारण दुई वर्षमात्र पछि सो आन्दोलन गृहयुद्धकारुपमा परिणत भएको थियो । विपक्षी आन्दोलनकारीहरुले पनि सशस्त्र समूहको निर्माण गरेपछि सरकारी र विपक्षी फौजबीच यस्तो युद्ध जारी रहेको छ ।

यसका अतिरिक्त पनि त्यहाँ विभिन्न हिंसात्मक विद्रोही फौज जन्मिएका छन् । केहीलाई अमेरिकाको समर्थन छ भने अरु केहीलाई रुसले पनि सहयोग गरिरहेको बताइन्छ । त्यहाँ केही समयका लागि मात्र भए पनि युद्धविराम गर्न भएको पछिल्लो प्रयास पनि सफल हुन नसकेको बताइएको छ । पछिल्लो समयमा सिरियाली सरकारी सुरक्षाबलले यस देशको राजधानी दमासकसको पूर्वी भू–भागमा पर्ने गुटामा आक्रमण गरेको छ । त्यहाँ हाल जारी गृहयुद्धमा आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट्स बढ्दै गएका छन् । जारी सो द्वन्द्वमा परी सो समयदेखि हालसम्म तीन लाख ५० हजारभन्दा बढी व्यक्ति मारिएका छन् ।

त्यसैगरी लाखौँ घाइते भएका छन् भने अरु लाखौँलाख नागरिक घरबारबिहीन भई स्वदेश र विदेशमा शरणार्थी जीवन विताउन बाध्य छन् । संयुक्त राष्ट्रसंघले पछिल्लो समयमा सार्वजनिक गरेको एक तथ्यांकअनुसार यहाँका करिब दुई करोड व्यक्ति विस्थापित भएका छन् । यो सिरियाको करिब आधाजति जनसंख्या हो । संयुक्त राष्ट्रसंघले सिरियामा शान्तिपूर्ण वार्ताको माध्यमबाट जारी हिंसात्मक गतिविधी रोक्ने प्रयास गरिरहेको भए पनि त्यो सम्भव हुन सकिरहेको छैन ।

झन बढ्यो हिंसा

सिरियाली द्वन्द्वको अनुगमन गरिरहेका मानवअधिकारवादीले बताएअनुसार सिरियामा पछिल्लो समयमा हिंसा थप क्रुर बन्दै गएको छ । पूर्वी सिरियाको गुटा क्षेत्रमा सिरियाली सेनाको अगुवाइमा रहेका सुरक्षाकर्मीले हवाई र स्थलगत कारबाही गरेका छन् । सो आक्रमणमा परी १५ दिनमा नै एक हजारजनाभन्दा बढी सर्वसाधारण मारिएका छन् । यहाँ सयौँको संख्यामा बालबालिका मारिएका छन् । यो पछिल्लो महिनादिन यताको सिरियाको हिंसा अहिलेसम्मकै सबैभन्दा ठूलो र हिंस्रक रहेको बताइएको छ ।

नागरिक हत्याको अवस्था अत्यन्तै क्रुर र नाजुक भएकोले सिरियामा केही समयका लागि मात्र भएपनि युद्धविरामको प्रयास संयुक्त राष्ट्रसंघले गरेको हो । मानवअधिकारबादीले मानवीय सहायता पु¥याउन पनि यहाँ युद्धविराम गर्नुपर्ने प्रस्ताव गरेकोमा त्यो समेत सम्भव हुन नसकेको बताइएको थियो ।

सिरियाको पूर्वी क्षेत्र गुटास्थित केही भाग विद्रोहीको घेराबन्दीमा रहेकोले उक्त क्षेत्रको अवस्था निकै दयनीय रहेको र त्यहाँ खाद्यान्न, पानी, विजुली तथा अन्य आधारभूत आवश्यकताको पनि ठूलो अभाव रहेको बताइएको छ ।

सिरियाली राजधानी दमासकसको सबैभन्दा नजिकपर्ने क्षेत्रमा विद्रोहीको बलियो प्रभाव रहेको एकमात्र बाँकी क्षेत्र नै गुटा हो । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस