उद्यमी सैनिकको सफलता र सपना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उद्यमी सैनिकको सफलता र सपना


२७ फाल्गुन २०७४, आइतबार


२०५५ सालमा सैन्यबाट नेपाली सेनामा प्रवेश गरेका जगतसिँह सामन्तले २०७१ सालमा गुल्म कार्य हुद्धाबाट स्वैच्छिक अवकाश लिए । जागिर अवधि छँदै उनले अवकाश लिनुको मुख्य उद्देश्य थियो व्यवसाय गर्ने । केही समयको बजार अध्ययनपछि उनी कपास प्रशोधन उद्योग खोल्ने निष्कर्षमा पुगे । सुदूर तथा मध्यपश्चिमका जिल्लाहरूमा अत्यधिक माग रहेको सिरक, डस्नाबाट पर्याप्त आम्दानी हुने देखिएपछि उनले भिमदत्त नपा ६, महेन्द्रनगर खैरानी सिद्धनाथ कपास प्रशोधन तथा सिरक डस्ना उद्योगको स्थापना गरे । सुदूर तथा मध्यपश्चिममै पहिलो प्रशोधन केन्द्रका रूपमा स्थापित उद्योगबाट उनले छोटो अवधिमै राम्रो प्रगति गर्न सफल भए । मासिक एक लाख ५० हजारदेखि २ लाखसम्म आम्दानी गर्न सफल जगतसिँह आर्थिक सँगसँगै सामाजिक जीवनस्तरमा पनि बढोत्तरी हुँदै गएकोमा निकै खुसी छन् । उनमा यति धेरै आत्म विश्वास बढेको छ कि अवकाशप्राप्त सैनिकहरू मिलेर समूहगतरुपमा धागो मिल स्थापना गरी नेपाली सेनाका लागि आवश्यक कपडासमेत यही उपलब्ध गराउन सकिन्छ भन्नेमा पुगेका छन् । अवकाशप्राप्त सैनिक जगतसिँहको सफलताको कथा र भावी योजनाबारे प्रशासन डटकमका एस राज उपाध्यायले गरेको कुराकानी ।

कस्तो चल्दैछ व्यवसाय ?
एकदमै राम्रो भइरहेको छ । हामीले सुदूर तथा मध्यपश्चिमका जिल्लाहरूमा सामान पुर्‍याउँदै आएका छौँ । अहिले धेरै जिल्लाहरूबाट माग आइरहेको छ । सिजनको बेलामा त माग अनुसार सामान पुर्‍याउन नसक्ने अवस्था पनि हुन्छ । त्यो अनुसारको आम्दानी पनि ठिकै छ ।

कति जति हुन्छ मासिक आम्दानी ?
मासिक एक लाख ५० हजारदेखि दुई लाखसम्म हुन्छ ।

काम गर्ने कर्मचारी कति जना छन् नि ?
एक जना मुख्य ठेकेदारसहित ४ जना भारतीय गरी १० जना कर्मचारी छन् । दिउँसो र राती गरेर दुइटा सिफ्टमा मेसिन चलाउँछौँ । दिनमा पच्चिसदेखि तीस हजारसम्मको माल निकाली रहेका छौँ । दुई सिफ्ट गरेन भने माग अनुसारको सामान नै दिन सक्दैनौँ ।

सुरुमा कति लगानी गर्नुभयो त ?
सुरुमा त्यही नौ लाख जति गरेँ । त्यसमध्ये डेढ लाख रुपैयाँ नेपाली सेना कल्याणकारी बोर्डले सञ्चालन गरेको लघु वित्त कार्यक्रमबाट लिएको हुँ । त्यसपछि थप ३ लाख पनि लिए र अहिले ७ लाखको लागि कुरा गरेको छु । यदि त्यो प्राप्त भयो भने एक दुइटा अरू मेसिन थप्ने योजना बनाएको छु ।

सैनिक जीवन र व्यवसायीक जीवनमा कुन चाहिँ राम्रो लाग्यो ?
मेरो क्यारियरको सुरुवात सैनिकबाट नै भएको हो । त्यहाँ बसेर मैले राष्ट्रको सेवा गर्ने अवसर पाए र त्यहीँबाट प्राप्त आत्मविश्वासले म आज व्यवसायमा पनि सफल हुन सकिरहेको छु । त्यसैले सैनिक पेशाले मलाई देशको सेवा गर्ने अवसर दियो भने त्यसपछिको जीवनका लागि व्यवसायले टेवा पुर्‍याइरहेको छ ।

सेना हुनुमा बढी गर्व लाग्छ कि व्यवसायी हुन सकेकोमा ?
सेना हुनुमा गर्व लाग्छ । सैनिक भएर नै मैले राष्ट्र र जनताको सेवा, सुरक्षा गर्न सकेँ । नेपाल मात्रै हैन, विदेशमा समेत नेपाली सेनाको आफ्नो सम्मान छ । केही भएन भने पनि पेन्सनबाट छोराछोरी पाल्न सजिलो हुन्छ । परिवारका सदस्यहरूलाई उपचार लगायत अन्य सुविधा पनि सेना भएरै पाइरहेको छु । नेपाली सेनाको सदस्य भएकै कारण मलाई व्यापारमा पनि धेरै सजिलो भएको छ । फौजी मान्छे सोझो र स्टेट हुन्छ, इमानदार हुन्छ भनेर सबैले विश्वास गर्छन् । यो सबै भनेको नेपाली सेना भएर नै त हो ।

समाजमा अहिले पनि कतिपयले भन्ने गर्छन् बन्दुक बोकेको हातले के अन्य काम गर्न सक्छ र, आर्थिक रूपमा त सबल हुनुभयो नै सामाजिक अवस्था के छ ?
आर्थिक अवस्थाले पनि सामाजिक जीवनमा धेरै प्रभाव पार्ने रहेछ । व्यवसाय गरेपछि छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिन र परिवारका चाहनाहरू पनि सजिलै पुरा गर्न सकेको छु । सामाजिक कार्यमा पनि सहभागी भइरहेको छु । कहिलेकाहीँ साथीभाइलाई गारो सारो, अफ्ठेरोमा पनि सहयोग गर्न सक्ने भएको छु ।

केही नभए पनि आठ दश जनालाई रोजगारी पनि दिएको छु । नेपाली सेनामा हुँदा कमैले चिन्थे भने अहिले व्यवसायमा लागेपछि धेरैसँग चिनजान बढेको छ । नेपाल मात्र नभई भारतका समेत केही व्यापारीसँग चिनजान भएको छ । सबैले विश्वास गर्न सक्ने अवस्था भएको छ ।

भावी योजना के बनाउनु भएको छ त ?
अवकाशप्राप्त सैनिकहरू मिलेर समूहगतरुपमा ठुलो धागो उद्योग खोलेर नेपाली सेनाका लागि आवश्यक कपडा यहीँ उत्पादन गर्ने मेरो ठुलो सपना छ । कटिङका टुक्राहरू प्रशोधन गरेर धागो उत्पादन गरी त्यसबाट कपडाहरू बुन्न सकिन्छ । त्यसो हुन सकेमा धेरै जनाले रोजगारी पनि पाउँछन् । सस्तो पनि पर्छ र ठुलो रकम स्वदेशमै लगानी हुन्छ ।

एस राज उपाध्यायबाट थप,

सैनिक परिवारको सहारा

भूतपूर्वहरुले बनाएको वर्तमान पहिचान

के निश्कन्छ मतपेटिकाबाटः देवता कि दानव ?

पति सेनामा, पत्नी व्यवसायमा

लघुवित्तले भिन्नै परिचय स्थापित गराएको छ

लघुवित्त कार्यक्रमले मध्यम तथा निम्न वर्गीय परिवारलाई सहयोग पुर्‍याएको छ

लघुवित्त कार्यक्रमले जीवनस्तरमा धेरै सुधार ल्याएको छ

सैनिक परिवारको आर्थिकस्तर बढाउन लघुवित्त कार्यक्रम सञ्चालन गरेका हौं

सैनिक परिवारको जीवनस्तर उकास्न लघुवित्त कार्यक्रम सञ्चालन गरेका हौं

सैनिक परिवारलाई हौसला

Tags :
प्रतिक्रिया दिनुहोस