म तिम्री प्रेमिका होईन ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

म तिम्री प्रेमिका होईन !


२६ फाल्गुन २०७४, शनिबार


सबै सम्बन्ध भन्दा अलग
सबै आफन्त भन्दा नजिक
संसार अटाउने मनको खुल्ला सिंहासनमा
तिमीलाई राखेँ,
के यो मेरो भुल थियो र ?

जीवनका हर पानाहरु खुल्लै थिए तिम्रो सामु
कहाँ कहिले के लेखिएको थियो ?
कोरिएका, कतै मेटिएका, कतै मेटाईएका मेरा अतीत,
सायद तिमीलाई भन्दा धेरै त आफैलाई
पनि थाहा छैन होला ।
आकाश लजाउँदैन धर्तीलाई देखेर
धर्तीले घुम्टो हाल्दैन आकाशलाई देखेर
यस्तै यस्तै केही त थियो तिमी र म बीचमा
के यो हुनु मेरो भुल थियो र ?

कसले सम्बन्ध धमिल्यायो ?
मैले बुझ्नै सकिन !
कतै बिझाएको छु भने ती तिम्रा आँखामा
झारीदिनु निसङ्कोच यही जमिनमा
जहाँबाट उठेर तिम्रो आँखासम्म पुग्ने दुष्साहस गरेँ ।
दुखाएको छु भने त्यो मुटुलाई,
फ्याकिदिनु त्यही बगरमा जहाँबाट शुरू भएको थियो
त्यो मुटुसम्मको यात्रा !

म तिम्री प्रेमिका होईन !
न त श्रीमती नै
न दिदी न बहिनी
केवल मनसंगको साईनो न हो तिम्रो र मेरो ।
तर
प्रेमिका झैं मायालु
श्रीमती झैं दोस्ती
दिदी बहिनी झैं शुभचिन्तक
अवश्य बन्न सक्छु ।
म नारी तिमी पुरुष फरक यति मात्र हो ।
समाजले तेर्साउने अनगिन्ती प्रश्नहरु त मेरा सामु पनि छन् ।
नियमहरु छन् ।
कर्तव्य अनि जिम्मेदारी पनि।
नरी पुरुषको सम्बन्ध प्रेमी प्रेमिका र लोग्ने स्वास्नीको
मात्रै हुँदैन बुझ्नु पर्छ तिमीले अनि यो समाजले ।

सायद तिमी डरायौ होला यो समाजसंग
जीवनसंग जोडिएका हरेक नातासंग,
त्यसैले त टाढियौ साईनो बिनाको सम्बन्धसंग !
सोच हो एक दिन बदलिनेछ,
समाज हो एकदिन परिवर्तन हुनेछ,
बदलिनुपर्छ स्वयम तिमी पनि ।

थाहाँ छ तिमीलाई ?
यी सबै नाता सम्बन्ध भन्दा कैयौं गुणा माथि छौ तिमी
र रहनेछौ जीवनभर ।
कही कतै कहिल्यै नदुख्ने नाता गाँस्न चाहेकी हुँ तिमीसंग,
के तिमी र म असल साथी बन्न सक्दैनौँ ?

म तिमीसंग अधिकार खोज्न आउँदिन
कहाँ छौ कोसंग छौ सोध्न पनि आउँदिन
तर
तिम्रा हरेक सकारात्मक काममा
सधैं सधैं साथ रहिरहनेछु ।
तिम्रा पाईलाहरुले बाटो बिराए भने
अवश्य उज्यालो दीप बनेर
देखाईदिने कोसिस गर्नेछु लक्ष्य तिम्रो ।

बुझ्नेछु कि अब पनि सम्बन्ध सङ्लिएन भने,
मन बदलिएन भने,
साथी साथी रहेनौं
विचार साघुरिएको छ,
शरीरसंग आत्मा हारेको छ ।

भन्नेछु यो दुनियालाई सुन्नेगरी नारी र पुरुष बीचमा
साथीको सम्बन्ध कहिल्यै दिगो रहन सक्दैन ।
नबन्नु साथी कसैको, नबनाउनू यो नाजुक सम्बन्ध
जो एक झोक्का हावाले उडाउछ,
सानो खहरेले बगाउछ ।

प्रतिक्रिया दिनुहोस