९९ वर्ष नाधेका सैनिकलाई मासिक १० हजार ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

९९ वर्ष नाधेका सैनिकलाई मासिक १० हजार !


प्रशासन विशेष ब्युरो

२५ फाल्गुन २०७४, शुक्रबार


काठमाडौं । नेपाली सेनाले ९९ सय वर्ष नाधेका सैनिकलाई ‘शताब्दी मासिक भत्ता’ स्वरुप मासिक १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

पूर्वी पृतना हेडक्वाटर अन्तर्गत इटहरी ब्यारेकमा संचालन भएको भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीले सो कुराको जानकारी गराएका छन् ।

‘९० वर्षदेखि ९९ वर्षसम्म उमेर पुगेका भूतपूर्व सैनिकलाई पूर्व शताब्दी मासिक भत्ता तीन हजार रुपैयाँ र ९९ वर्षमाथिकालाई शताब्दी मासिक भत्ता १० हजार रुपैयाँ दिने निर्णय भएको छ’ महारथी राजेन्द्र क्षत्रीले भने –”२०७४ माघ महिनाबाट लागू हुने गरी सैनिक कल्याणकारी कोषबाट रकम उपलब्ध गराइने छ ।”

सेनापति क्षत्रीले उपलब्ध श्रोत साधनको परिधिभित्र रही हिताधिकारीहरुको हित र कल्याण होस भन्ने हेतुले “कमाण्ड मार्ग निर्देशन, २०७२” मा उल्लेख भए अनुसार कल्याणकारी कार्यक्रमको पहुँच बढाउने तर्फ केन्द्रित रही अधिकतम संख्यामा बहालवाला, अवकाश प्राप्त तथा आश्रित परिवारका सदस्यलाई सहयोग तथा सुविधा प्रदान गर्ने गरी नयाँ कार्यक्रमहरुको लागि नेपाल सरकारसँग समन्वय र स्वीकृति लिई अगाडी बढ्ने नीति अवलम्बन गरिएको बताएका छन् ।

यस वर्षको भूपू सैनिक सम्मेलनको मुख्य नारा नै शिक्षा, स्वास्थ्य र स्वरोजगार राखिएको र यसका लागि लघुवित्त कार्यक्रमलाई प्राथमिकता दिइएको प्रधान सेनापति क्षत्रीको भनाइ थियो।

नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा संचालन भएको उक्त सम्मेलनमा छ जिल्लाका तीन हजार ५ सय ५० जना भूतपूर्व सैनिक तथा निवृत्तभिरणमा रहेका परिवारको उपस्थिति थियो।

यस अवसरमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै भूतपूर्व, वहालवाला सैनिक तथा तिनका परिवार र गैरसैनिक व्यक्तिहरू समेत गरी करिव चार हजार ४ सय ३० जनालाई स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधिसमेत वितरण गरेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस