नाम मात्रको लैङ्गीक समानता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नाम मात्रको लैङ्गीक समानता


टिका सापकोटा

२४ फाल्गुन २०७४, बिहिबार


लैङ्गीक समानता भन्नाले महिला र पुरुष बीच आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक विकासमा समान सहभागिता र अधिकार भन्ने बुझिन्छ । लैङ्गीक समानता भन्नु नै महिला पुरुष बीचको अथवा नारी पुरुषको प्राकृतिक भिन्नता भित्रै उनीहरुले गरेको समान भुमिकालाई समान सम्मान दिनु पनि हो ।

प्राकृतिक भिन्नता परिवर्तन नभए पनि सामाजिक विभेद वा भिन्नता भने समय सापेक्ष परिवर्तन गर्न सकिन्छ । महिला र पुरुष यो समाज र राष्ट्रको साझेदार सदस्य हुन् । यो यर्थाथ दुबैले मनन् गर्न आवश्यक छ । पितृसत्तात्मक संस्कार र संस्कृति भएको हाम्रो समाजमा लैङ्गीक समानताको नारा शताव्दीऔं देखि लगाउँदै आएपनि ब्यवहारिक रुपमा परिवर्तनको महसुस गर्न पाइएको छैन । गाउँमा मात्र होइन केन्द्रमा पनि समान अवसर र अधिकारबाट महिलाहरु बञ्चित भएकै छन् ।

हाम्रो वैदिक परम्परालाई नियाल्दा कुनै किसिमको सामाजिक तथा लैङ्गीक विभेद नपाइएता पनि कुनै कालखण्डमा पुराणहरुको गलत व्याख्या भएकै कारण नारी शिक्षा, अर्थ र शक्तिमा कमजोर बनाउँदै लगियो । जस्का कारण नारीले राज्यका हरेक तह र तप्कामा नेतृृत्व लिन सकेनन् । सदियौं देखिका हाम्रा गलत संस्कार, सस्कृति र ब्याख्यालाई सच्याउँदै नारी पुरुषलाई एक रथका दुई पाङग्रा मानि दुबैलाई समान रुपले हेर्न आबश्यक छ ।

मानिस एक चेतनशील बुद्धिमान तथा सिर्जनशील प्राणी हो । तर पनि नारी माथि भएका बिभिन्न दुब्र्यहार सम्झदा मान्छे पशु भन्दा पनि गए गुज्रेको जस्तै लाग्छ । नारी आमा हो, सृष्टिकर्ता हो, धैर्यकी प्रतिमुर्ति हो । नारीको त्याग र धैर्यलाई कमजोरी ठानेर अत्याचार गर्नु म्र्खता शिवाय केही होइन ।

सृष्टिकर्ता नारी त्यति कमजोर छैन् । जति पुरुषवादी समाजले सोचेको हुन्छ । एउटा पुरुषलाई पुरुष बनाउन महिलाले भोगेको कष्ट पुरुषले कल्पना गर्न सक्दैन र त नारीलाई कमजोर मान्छ । के पुरुष बिना नारी र नारी बिना पुरुषको जीवनको अस्तित्व छ त ? जुन पुरुषले त्यही नारीबाट जीवन पाएको छ उसैलाई दोस्रो दर्जाको ठान्न कसले अधिकार दियो ? समाजमा पुरुष हुनको लागि नारीकै रगत पसिना चाहिन्छ । तरपनि किन नारीहरुलाई आफ्नो पैतलाको धुलो सम्झिन्छ ?

नारी सहनशील उर्जावान शक्ति हो तर बिस्फोट नहुनुको अर्थ नारी कमजोर छ भन्ने कदापी होइन । भनिन्छ, यदि नारीले शंका त्यागेमा नारी स्वयम शिव हो । नारी सिङ्ंगो शक्ति हो । नारीले चाहेको खण्डमा पुरुषवादी शासनको बिध्वंस गर्न सक्छे । नारी कोमल छे भनेर उसका अधिकारमा हात हाल्ने पुरुषवादी चिन्तनलाई चिर्न नसक्ने महिलावादीसँग जुध्ने शक्ति सञ्चय गरेको यो मौन अवधी हो ।

कसैलाई लाग्न सक्छ नारीको कमजोरी रुनु होे । पुरुषकै निम्ति जीवन आहुति गर्नु र माया गर्नु हो तर यो त नारी हुनुको उदारता हो । पुरुषकै भरमा परेर जीवन गुजारा गर्ने बिचरा नारी जसले भन्छ, त्यही पुरुष नारीको साहारा विना पानी पनि पिउन सक्दैन । कल्पना गरौ त ! श्रीमान श्रीमती सँगै जागिरे छ भने घरमा गएर सबै काम महिलाले नै गर्नुपर्छ । श्रीमान् थकाई लाग्यो भनेर आराम गर्छन् त्यसो भए महिलालाई थकाई नै लाग्दैन त ? पुरुषले आफू नारीको आश्रयमा परेको जीवनभर थाहा पाउँदैन । घमण्ड गरेर सकिन्छ । तर उस्कै कारण बाँचेको हुँ भन्ने चाल पाउदैन ।

समाजको नियम परिवर्तन गर्न छ भने आफै परिवर्तन हुन पर्दछ । नारी पनि हरेक क्षेत्रमा पुरुष सरह काम गर्न सक्षम छे । आफूसँग भएको शक्ति र सामथ्र्यलाई व्यबहारमा ल्याउन सक्नुपर्छ । त्यो खुवी नारी भित्र छ । पुरुषको पाखुरो बलियो बनाउने नारीको शक्तिको प्रयोग नगर्दा मात्र हो । नारीहरु घरको साघुरो पर्खाल भित्र कैद भएर हेपिए भन्ने र अधिकार पाईन भन्ने कुरा हामी नारीको कमजोरी हो । अ धिकार र आरक्षण कोटाले हामी नारी झन बिचराको पात्रमात्र हुन्छौ । के हामीमा पुरुष झै प्रतिस्पर्धा गरेर अधि आउन सक्दैनौ र ? बस हामीले हामीलाई खुम्च्याएर सिमित पार्नु हुँदैन । हाँस्न बोल्न सिमित घेरामा पारिनु लैङ्गिक असमानता होईन ?

सानो सानो कुराको हामी माथि बार लगाएको छ । हास्यो भने पनि हाम्रो चरित्रको मूल्याकन हुन्छ । नहासे पनि हामी भित्रको नारीको बारेमा अनेक अड्कलबाजी गरिन्छ । कोही साथी भयो भने वा चिया पसलमा कसैसँग हांँस्यो भने हामी नारी हुनुकै कलङ्क मानिन्छ । के हामी हाँस्दा बोल्दा पनि लैङ्गिक विभेदका शिकार भएका होइनौ ? के पुरुष जस्तै हाँस्न र रमाउने अधिकार नारीलाई छैन ? कपडा गहना लगाएर महिलालाई उसको गुलाम बनाउन खा्ेज्नु मुर्खता पनि हो ।

नारीलाई पाइजु र सिक्रीले बाँधेर श्रृङगारको महङ्गो बुट्टाले छोपेर उसका नैसर्गिक अधिकारमा प्रश्न उठाउने अधिकार कसले दिएको छ ? महिलाको मुद्धा सम्बोधन गर्ने बाहानामा हजारौ लाखौ पैसाको खेती गरेको छन् । के साच्चि त्यसो भए महिला सन्तान उत्पादन गर्ने मेसिन हो ?

कहिले काहिँ महिलाको ठाउँमा बसेर पारिवारीक झमेलाको र पारिवारीक सद्भावलाई अपनाएर हेर बल्ल कति गाह्रो छ महिला हुन । समाजका हरेक रितीरिवाज पुजा पाठ देखि लिएर राजनैतिक सहभागितामा महिलाहरु जहिले पहिलो स्थानमा किन छैन ? एकाध ठूला पोष्टमा पुगेका छन् महिलाहरु तर उनीहरु उही पुरुषवादी चिन्तन र उनीहरुकै अनुसार चलेका छन् । त्यो त मात्र बत्तिमुनिको अध्यारो हो ।

शक्तिको र शासनको मालिक पुरुष भएपछि महिला त्याहाँ पुगेको भन्ने अर्थ नै रहदँैन । मात्र पुरुषवादी चिन्तनकै एक मोहोरा बनेका हुन्छन् । त्यो नारी अस्तित्वको उपहास मात्र हो । हामी नारीहरु कसैको गहनामा र कसैको चाहनामा चल्ने मेसिन होइन । हामीमा नारी हुनुको स्वाभिमान हुनुपर्दछ । आफैमा हामी पूर्ण मानिस हौ । हामी पनि हरेक क्षेत्रमा समान अधिकारको लागि तयार छौ त्यो हाम्रो जन्मसिद्ध अधिकार हो । पितृसत्ताको शासनले नारी जातिको उत्थान गर्न सक्दैन् । त्यसो भए हामीले हरेक क्षेत्रका पहँुचको र सहभागिताको लडाइमा जानु पदैन ?

प्रत्येक बर्ष ८ मार्चमा अन्र्तराष्ट्रिय नारी दिवस मनाईन्छ तर यो दिवस नारा र भाषणमा मात्र सिमित भएको छ । ब्यबहार लागु हुन सकेको छैन । जवसम्म समाजका हरेक ब्यक्तिको नारीलाई हेर्ने दृिष्टकोणमा परिवर्तन आउँदैन तवसम्म नारी दिवस मनाउनुको अर्थ रहदैन । त्यसैले नारीलाई समाजमा उसको स्थान दिनु पर्दछ ताकि उसले आफु हुनुको महशुस गर्न सकोस् । त्यो कारणले पार्टीहरुप्रतिको मान्छेको आस्था मर्दैै गइरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस