एड्सबाट कञ्चनपुरमा १४२ जनाको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एड्सबाट कञ्चनपुरमा १४२ जनाको मृत्यु


२३ फाल्गुन २०७४, बुधबार


भीमदत्तनगर । कञ्चनपुरमा एचआइभी एड्सको संक्रमणबाट हालसम्म १४२ जनाको मृत्यु भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा एचआइभी संक्रमितको संख्या ४८९ जना रहेको छ । कार्यालयका जनस्वास्थ्य निरीक्षक रतन विष्टले जिल्लाका २५८ एचआइभी संक्रमितले महाकाली अञ्चल अस्पतालमा नियमित औषधि सेवन गरिरहेको जानकारी दिए ।

‘शुरुवातका दिनमा संक्रमितहरु खुलेर आउन अप्ठ्यारो मान्ने गरेका थिए । पछिल्लो समय उनीहरु स्वास्थ्य सेवा लिन आउने गरेका छन्,’ उनले भने । जिल्लामा ५० जनाभन्दा बढी बालबालिका एचआइभीबाट संक्रमित छन् । महिलाभन्दा पुरुषमा यसको संक्रमण बढी देखिएको विष्टले बताए ।

जिल्लामा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), थागिल विकास समाज, ‘ब्लु डायमण्ड’ सोसाइटीलगायत गैरसरकारी संस्था एचआइभी न्यूनीकरणका क्षेत्रमा सक्रिय छन् । संक्रमितलाई निःशुल्क रुपमा औषधी र स्वास्थ्य सेवा प्रदान गरिँदै आएको महाकाली अञ्चल अस्पताल एआरटी शाखाका प्रमुख नन्दराम भट्टले बताए ।

‘संक्रमित नियमित औषधि सेवनका लागि आउने गरेका छन्,’ उनले भने । औषधि सेवन गर्न आउनेमा २० जनाभन्दा बढी बालबालिका रहेका छन् । संक्रमितलाई सबैखाले स्वास्थ्य सेवासँगै यातायात सुविधासमेत दिने गरेको भट्टले बताए । संक्रमितलाई अन्य अस्पताल पठाउन समेत विभिन्न गैरसरकारी संस्थाले सहयोग गर्दैआएका छन् । रासस

प्रतिक्रिया दिनुहोस