ख्याल गर्नुहोस्; थाहै नपाइ मृगौला ड्यामेज भएको हुन सक्छ ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ख्याल गर्नुहोस्; थाहै नपाइ मृगौला ड्यामेज भएको हुन सक्छ !


१८ फाल्गुन २०७४, शुक्रबार


हाम्रो शरीरको पेटको पछाडि ढाडको दुबैतिर रहेका दुइवटा महत्वपूर्ण अंग हुन् मृगौला । मृगौलाको काम शरीरमा भएका हानिकारक विषालु पदार्थहरु छानेर पिसाब मार्फत बाहिर पठाउनु हो । रगतमा भएको फोहोर र बढी भएको पानीलाई पिसाबबाट बाहिर फालेर रगत सफा राख्दछ । सुरुवातमा केही थाहै नभइ एकैपटक समस्या देखिने भएकोले पनि यसलाई ‘साइलेंस किलर’ समेत भनिन्छ । मानव शरीरमा मृगौलाको महत्व, मृगौलामा रोगको लक्षण र यसबाट बच्ने उपाय लगाएत विषयमा मृगौला रोग विशेषज्ञ डक्टर अर्चन शम्शेर राणासंग प्रशासन डटकमले गरेको कुराकानी ।

मानव स्वास्थ्यमा मृगौलाको महत्वबारे केही वताइदिनुहोस न ?
मानव शरीरका लागि मृगौला महत्वपूर्ण अंग मध्ये एक हो । प्रत्येक मृगौला १० देखि १२ सेन्टिमिटरसम्म लामो सिमीको गेडा आकारको हुन्छ । यसको मुख्य काम रगतमा हुने फोहोरमैला छान्ने नै हो । मृगौलामा भएका लाखौका संख्यामा रहेका नेफोनहरुले रगतमा भएका फोहोर पदार्थ र शरीरमा बढी भएको पानी छान्ने काम गर्दछ र शरीरमा बढी भएको पानीको मात्रालाई पिसावको रुपमा बाहिर पठाउने काम गर्छ । मृगौलाले एसिडहरु र रसायनहरुलाई पनि सफा गर्नुका साथै शरीरमा नयाँ रगत बन्नको लागि र हड्डि बलियो बनाउन पनि मद्यत गर्दछ । त्यसैले मानव शरीरमा मृगौलाको महत्व अत्यन्तै धेरै रहेको छ ।

यति धेरै महत्व बोकेको मृगौलाबारे किन मानिसहरु सचेत नभएका होलान् ?
सबै मानिसहरु सचेत छैनन् भन्न त मिल्दैन । र जनचेतना भने निश्चय नै कम छ । केयरलेस भएकै कारण कहिलेकाहीँ दुबै मृगौला फेल हुने अवस्थासम्म पनि पुगेको हुन्छ । दुईवटा भएकोले पनि एकै पटक अन्तिम अवस्थामा मात्रै पनि थाहा हुन्छ । त्यसले गर्दा पनि हो मान्छेले शुरुमा खासै मतलब नगर्ने गरेको हो ।

यद्यपी पहिले भन्दा अहिले धेरै सुधार चाहि भएको मान्न सकिनछ । नियमित स्वास्थ्य जाँचका क्रममा आउनेहरुको संख्या पनि बढ्दै गएको छ भने मृगौला चेकअपका लागि पनि दैनिक दुइचार जनाको संख्यामा आइरहेका छन् । पहिले पहिले त एकै पटक रोग लागि सकेपछि मात्रै आउने हुन्थ्यो भने अहिले जाँच गर्न आउने भएका छन् ।

मृगौलालाई कसरी स्वस्थ राख्न सकिन्छ ?
मृगौलालाई स्वस्थ राख्ने सबैभन्दा सस्तो र सहज उपाय पानी नै हो । दिनमा दुइ तीन लिटर पानी अनिवार्य पिउनु पर्छ । हामीले खाएको कुनैपनि कुराको फिल्टर या त कलेजोमा हुन्छ या त मृगौला ।

कलेजोले प्रोसेस गरेको कुराहरु दिशाको माध्यमबाट बाहिर निस्कन्छ भने मृगौलामा भएको प्रोसेसमा पिसावबाट जान्छ । तर धेरैजसो खानेकुराहरुले मृगौलामा नै बढी असर गर्छ । त्यही भएर पानी अर्थात् तर पदार्थ धेरै खानुस् भनिएको हो । जसले गर्दा नचाहिने तत्वहरु मृगौलामा थेग्रिन नदेओस् नै भन्ने हो । पानी धेरै खायो भने पखाल्दै जान्छ ।

मृगौलालाई स्वस्थ राख्ने अर्को उपाय भनेको मृगौला फेलिएर हुने कारणहरुबाट सतर्क हुनु नै हो । मृगौला फेल हुने सबभन्दा मुख्य कारण डाइबिटिज (सुगर) हो । यदि सुगरलाई नियन्त्रणमा राख्न सक्यो भने त्यसबाट पनि अप्रत्यक्षरुपमा मृगौलालाई सहयोग नै पुगिराखेको हुन्छ । त्यसपछि प्रेसरलाई पनि नियन्त्रणमा राख्न जरुरी छ ।

यसका साथै प्रसस्तै मात्रामा पानी पिउने । खानेकुराहरुमा ब्यालेन्स मिलाउने । नुन धेरै नखाने र खाने कुरामा प्रोटिनको मात्रा पनि धेरै खानु हुँदैन । साथसाथै नियमित व्यायाम र चेकजाँच गराइराख्नु भयो भने मृगौलालाइ स्वस्थ राख्न सकिन्छ ।

कहिले काँही अचानक मृगौला बिग्रने पनि हुन्छ, के कारणले त्यस्तो हुन्छ ?
मृगौला बिग्रिनुको दुइवटा कारण छन् । एउटा अचानक फेल हुने र अर्को दीर्घकालिन मृगौला रोगबाट । अचानक मृगौला फेल हुने जसलाई हामी एक्युड किड्नी इन्ज्युरी पनि भन्छौं । यो खासगरी विषजन्य पदार्थहरु जस्तो बारुला, सर्पको टोकाइ, पेनकिलर तथा बढी मात्रामा औषधि सेवनले हुन्छ ।

हामिले खाएको कुराहरु अन्तमा फिल्टर गर्ने भनेको मृगौलाले नै हो र मृगौलाले पनि निश्चित क्षमता धान्दछ । यदि क्षमताभन्दा बढी हुन गयो भने फिल्टर गर्न सक्दैन र थिग्रिन थाल्छ । जसको कारण अचानक मृगौलाले काम गर्न छोड्छ । तत्काल उपचार गरेनौं भने एकेआई (एक्युट किड्नी इन्जरी) पछि गएर दिर्घकालिन मृगौला रोग बन्ने सम्भावना हुन्छ । यस्तो अवस्थामा के कारणले त्यस्तो भएको हो त्यसको उपचार गरेर दीर्घकालिन रोगबाट बच्न सकिन्छ ।

थाहै नपाइ पनि मृगौला ड्यामेज भएको पनि सुन्नमा आउँछ, कसरी यस्तो हुन्छ ?
केही घण्टादेखि केही दिनसम्म मृगौलाले काम नगरेको अवस्थालाई अचानक मृगौला बिगे्रको भन्न सकिन्छ । कुनै पनि कारणले शरीरमा पानीको मात्रा कम हुनु तथा पानी निकै कम पिउनाले अचानक मृगौला फेल हुन्छ ।
मृगौला रोग असिम्टोम्याटिक बढी हुन्छ । कुनैपनि लक्षण देखा नपरी एकैपटक वाकवाकी आयो, टाउको दुख्यो भनेर हस्पिटल जचाउन जाँदा मृगौलामा क्रीऐटिनीनको मात्रा एकैपटक १४/१५ पुगेको छ । डायलोसिस गर्ने अवस्था आउन सक्छ । तर कुनै पनि रोग यत्तिकै हुँदैन । त्यो भन्दा अगाडी केही भएको हुन्छ नै, जसले गर्दा यो अवस्था आउँछ । यसलाई अज्ञानता भन्ने की राम्रोसँग चेतना नभएको भन्ने ।

मुख्य कुरा हाम्रो नेपालमा औषधीको सिफारिस डाक्टरले भन्दा अरु मान्छेहरुले नै बढी लेख्छन् । अनि मानिसहरु पनि आफै जान्ने भएर यो औषधि दिनुहोस् न भनेर माग्छन् । के भएको हो र कुन औषधि खाने भन्ने कुरा त डक्टरले जाँच गरेपछि भन्ने हो नि । एक पटक एउटा रोगका लागि सिफारिस गरेको औषधि अर्को पटक अर्कै कारणबाट उब्जेको हुन सक्छ र त्यो औषधिले काम नगर्ने पनि हुन सक्छ । टाउको दुख्यो भने डाक्टर कहाँ गएर देखाउनु भन्दा पनि डाइरेक्ट एकै पल्ट औषधी पसलमा गएर पेनकिलर किनेर खान्छ । के कारणले त्यस्तो भएको हो भन्ने राम्ररी जाँच नगरीकन आफैले औषधि किनेर खाँदा ठूलो जोखिम निम्तन सक्ने हुन्छ ।

यसो हुन नदिनका लागि अपनाउनु पर्ने सावधानी के के हुन् ?
पहिलो कुरा एवेयरनेस हुनुपर्यो । जस्तोः प्रेसर भएको मान्छे पाँच, छ वर्षदेखि नियमित औषधि खाइरहेको छ भने उसले नियमित चेकजाँच गराएर औषधि थपघट गर्नुपर्ने हुन्छ । सधै एउटै औषधि खाएर मात्रै हुँदैन । त्यसैगरी खानेकुरामा पनि मुख बार्नु जरुरी छ । नुन र प्रोटिन धेरै भएको खानेकुराहरु कन्ट्रोल गर्नुपर्छ ।

सामान्य अवस्थामा के भयो भने मृगौला सम्बन्धी समस्या आएको मान्न सकिन्छ ?
मैले माथि पनि भनिसकेँ कि मृगौला कुनै लक्षण नदेखाइकन एक्कासि पनि फेल हुन सक्छ, त्यसैले बेला बेलामा चेकजाँच गराइरहँदा सजिलो हुन्छ । त्यसपछि दोस्रो चरण भनेको वाकवाकी आउने, खानामा अरुची बढ्ने, कमजोरी महसुस हुने, रिँगटा लाग्ने, टाउको दुख्ने आदि लक्षणहरु देखा पर्न सक्छ । त्यसैगरी डाइविटीजको लक्षण देखा पर्यो भने, छिनछिनमा पिसाव लाग्ने र पिसाव गर्न कठिन हुने हुन्छ । मृगौलाको पत्थरी पनि एउटा कारण हो । पथ्त्रीको पनि आ–आफ्नै लक्षणहरु छन् । तल्लो पेट दुख्ने । यस्तो यस्तो हुन सक्छ । यि लक्षणहरु देखा पर्न थाल्यो भने एक पटक चेकजाँच गरेर के भएको हो त्यसको उपचार गरिहाल्नु पर्छ ।

कुन उमेर समूहका मानिसले कति कति समयमा नियमित मृगौला जाँच गराइराख्नु पर्दछ ?
यसमा डायविटीज र उच्चरक्तचापको बिरामीले त एक/एक महिना र तीन/तीन महिनामा नियमित जाँच गरिराख्नु पर्छ । अन्य व्यक्तिहरुले कम्तिमा पनि वर्षको एक पटक अनिवार्य जाँच गराइराख्नु पर्छ । यो धेरै महंगो पनि छैन । नीजि अस्पतालमा जाने हो भने त्यै पाँच सय रुपैयाँसम्म लाग्छ भने सरकारीमा त अझ धेरै कम छ ।

यदि मृगौलामा कुनै समस्या छ र समयमै थाहा पाउन सक्यो भने उपचार सम्भव हुन्छ । किड्नी फेलै भयो भन्दैमा डाइलासिस गर्ने अवस्था हुँदैन । त्यसको पनि स्टेजहरु छ । स्टेप एकबाट पाँचौंसम्म जानलाई दुई वर्षसम्म लाग्न सक्छ । त्यो दुई वर्षलाई बीस वर्ष कसरी बनाउने त ? औषधी खाएर हुन्छ की मुख बारेर हुन्छ की डक्टरले त्यही अनुशार सल्लाह दिन्छ ।

कुन अवस्थापछि मृगौलाले काम गर्न छोड्छ ?
अचानक किड्नी ड्यामेज हुने जसलाइए एकेआई भनिन्छ, त्यसको चाहिँ अर्कै हुन्छ । दीर्घकालिन मृगौला रोगको पाँचवटा स्टेज हुन्छ । चौथो स्टेपसम्म केही लक्षण नुहुन सक्छन् । नियमित चेकजाँचका क्रममा क्रीऐटिनीन दुइ/तीन पुगेको हुन सक्छ । त्यसले किड्नीको यस्तो अवस्था रहेछ भन्ने थाहा हुन्छ । तर, म्याक्सिमम् स्टेप फाइभ अन्तिम स्टेजमा पुगेपछि मात्र त्यसको लक्षणहरु आउन सक्छ । स्टेज फाइभ पुगिसकेपछि त डाइलोसिस र प्रत्यारोपण बाहेक केही बिकल्प हुँदैन ।

Tags :
प्रतिक्रिया दिनुहोस