संघीय संसदको अन्तरिम कार्यविधि पहिलो बैठकले पारित गर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

संघीय संसदको अन्तरिम कार्यविधि पहिलो बैठकले पारित गर्ने


प्रशासन विशेष ब्युरो

१६ फाल्गुन २०७४, बुधबार


विकास र समृद्धि

काठमाडौँ । संघीय संसद बैठक सञ्चालनका लागि ‘संसद नियमावली’ नबनुन्जेलसम्म आवश्यक पर्ने अन्तरिम कार्यविधि संसदको पहिलो बैठकले पारित गर्ने भएको छ ।

संघीय संसद सचिवालयले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधिसँग आज गरेको छलफलमा दुवै सदनको पहिलो बैठकबाट सम्बन्धित अन्तरिम कार्यविधि पारित गर्ने सहमति भएको हो ।

छलफलमा संसद बैठकको पहिलो दिनको कार्यसूची बनाउने र त्यसपछिका बैठकको तयारीबारे सहमति बनेको सचिवालयका प्रवक्ता डा भरतराज गौतमले राससलाई जानकारी दिनुभयो । संसद नियमावली तयार नहुन्जेलसम्मका लागि उक्त कार्यविधिका आधारमा दुबै सदनका बैठक सञ्चालन हुनेछन् ।

सचिवालयले दलका प्रतिनिधिलाई आज अन्तरिम कार्यविधिको मस्यौदा उपलब्ध गराएको र दलहरूले त्यसमा आवश्यक सुझावसहित यही फागुन २० गते १० बजे पुनः बस्ने सर्वदलीय बैठकबाट अन्तिम रुप दिने सहमति भएको बैठकमा सहभागी काँग्रेस नेत्री डा डिला संग्रौलाले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा संविधानको धारा ९३ (१) बमोजिम फागुन २१ गते अपराह्न ४ बजेका लागि दुवै सदनको बैठक आह्वान गरेकी छिन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक फागुन २१ गते एउटै समयमा सम्बन्धित सदनका सभाहलमा बस्दैछ । फागुन २० गते दुवै सदनका ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउनेछन्। त्यसअघि दुवै सदनका जेष्ठ सदस्यलाई फागुन २० गते दिउँसो १ बजे शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ख्वाउने निश्चित भएको एमाले नेता भानुभक्त ढकालले जानकारी दिए ।

प्रतिनिधिसभामा राजपा नेपालका सर्लाही क्षेत्र नं २ बाट निर्वाचित ८० वर्षीय महेन्द्रराय यादव र राष्ट्रियसभामा काँग्रेसका ६९ वर्षीया तारादेवी भट्ट जेष्ठ सदस्य छन् । सभामुख र अध्यक्षको निर्वाचन नभएसम्म उहाँहरूले नै बैठकको अध्यक्षता गर्नेछन्।

संविधानअनुसार संसदको पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्नेबारे समेत छलफल भएको छ । त्यस्तै प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोहीअनुसार सचिवालयले बैठकमा दलहरूको ध्यानाकर्षण गराएको छ ।

दलका प्रतिनिधिहरूले उल्लिखित कार्यसँगै राष्ट्रपतिको निर्वाचनसम्मका तयारीका लागि सचिवालयले गृहकार्य गरोस् भन्दै आगामी बैठकमा त्यसबारेमा निर्णय गर्ने जनाएका छन् । फागुन २० गते प्रतिनिधिसभाका सदस्यको शपथ अपराह्न ४ बजे र राष्ट्रियसभा सदस्यको शपथ अपराह्न ५ बजेका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा तोकिएको छ ।

शपथमा सदस्यहरूलाई राष्ट्रिय पोशाक एवं राष्ट्रियता तथा संस्कृति झल्कने पोशाक निर्धारण गरिएको छ । साथै सदस्यहरूलाई नागरिकता वा निर्वाचित प्रमाणपत्रको प्रतिलिपिसहित बैठकमा उपस्थितिका लागि सूचित गरिएको सचिवालयले जनाएको छ ।

बैठकमा एमालेका सुवास नेम्वाङ, काँग्रेसका डा मीनेन्द्र रिजाल, माओवादी केन्द्रका कृष्णबहादुर महरा, राजपाका यादवलगायतका नेता सहभागी रहेका थिए ।

संसदको तल्लो सदन प्रतिनिधिसभामा २७५ र माथिल्लो सदन राष्ट्रियसभामा ५९ सदस्य छन् । प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ मा दुई चरणमा भएको थियो भने राष्ट्रियसभाको निर्वाचन गत माघ २४ मा सम्पन्न भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस