ठीक ढंगले हिडे हिड्छन्, हिड्दैनन् कानुनको दायरा भित्र छिर्छन् « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

ठीक ढंगले हिडे हिड्छन्, हिड्दैनन् कानुनको दायरा भित्र छिर्छन्


१६ फाल्गुन २०७४, बुधबार


दुइ साताअघि महानगरीय प्रहरी परिसर काठमाडौंको कमाण्ड सम्हालेका एसएसपी विश्वराज पोखरेल यतिबेला चर्चामा छन् । आचरण बिपरित काम गर्ने मातहतका प्रहरीलाई कारवाहीको दायरामा ल्याइ छाड्ने र अपराधिक कृयाकलापमा संलग्न तथा मुद्धा दर्ता पश्चात फरार रहेका प्रतिवादीहरुको खोजी अभियानलाई छुट्टै टीम नै बनाइ पक्राउ गर्ने पोखरेलको उद्घोषले सार्थकता पाउने हो भने आम नागरिकले प्रहरीलाई हेर्ने दृष्टिकोणमा नै परिवर्तन भइ सिँगो प्रहरी संगठनप्रति जनताको विश्वास बढ्ने छ । चौतर्फि आलोचना खेप्दै आएका उपत्यकाका प्रहरीको आनिबानी र व्यवहार सुधारका लागि उनले अघि सारेका योजना के हुन् ? शान्ति सुरक्षा कायम राख्दै अपराधमुक्त काठमाडौं बनाउने योजना लगायत सेरोफेरोमा रही परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलसँग प्रशासन डटकमका एस राज उपाध्यायले गरेको कुराकानी ।

पत्रकार सम्मेलन नै गरेर आचरण व्यवहारमा कमजोर प्रहरी र फरार अपराधि पक्राउ गर्ने घोषणा गर्नुभयो, यसको अर्थ प्रहरीमा आचरण व्यवहार कमजोर हुँदै गएका कारण अपराधमा समेत बढोत्तरी हुन पुगेको हो भन्ने यहाँको बुझाइ हो ?
निश्चय नै केही प्रहरीमा कमि कमजोरी छ । त्यसलाई ट्र्याकमा ल्याउनु पर्छ भन्ने नै मेरो दृष्टिकोण हो । थोरै मात्रामा रहेका दुइ चार जना प्रहरीको कारणले गर्दा सिंगो संगठन तथा प्रहरीमाथि जुन आरोप लाग्ने गरेको छ त्यो सत्य होइन । सबै प्रहरी खराबै पनि छैनन् ।

पत्रकार सम्मेलन र सार्वजनिक सुनुवाइको मुख्य उद्देश्य स्थानीय तहमा अपराधको अवस्था के छ र जनताले हामीसँग के आशा गरिरहेका छन् ?  स्थायी शान्ति कसरी निर्माण गर्न सकिन्छ भन्ने नै हो । यसको फिडब्याक प्राप्त गरी शान्ति सुरक्षाको स्थायित्वको लागि र अपराध अनुसन्धान तथा नियन्त्रणको प्रभावकारीताको लागि पहिलो चरणमा हामीले अपराधिक कृयाकलापमा संलग्न रही रहेका र मुद्धा दर्ता पश्चात फरार रहेका फरार प्रतिवादीहरुको खोजी अभियानलाई एउटा छुट्टै टीम बनाइ तिब्र बनाएका छौं । त्यसबाट अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने कुरामा ठूलो योगदान पुग्छ भन्ने हामीले विश्वास लिएका छौं ।

घुस र अपराध यी दुबै अग्रिम जानकारी गराएर अर्थात खबर गरेर गरिने काम होइनन् । गोप्य साँठगाँठबाट संचालन हुने यस्ता क्रियाकलापहरुलाई निस्तेज पार्न त्यति सजिलो छैन, तपाइले त पत्रकार सम्मेलनमार्फत नै सूचना संकलनको लागि ठूलो सख्यामा टोली नै तयार गरेको सार्वजनिक गर्दा उनिहरुलाई बच्न सजिलो बनाए जस्तो भएन र ?
बिलकुल होइन । हामीले नागरिकका लागि नागरिकसँगै मिलेर काम गर्ने हो । जहाँसम्म २ सय जना युवा परिचालित गर्ने कुरा छ, हामीलाई सपोर्ट गर्ने नागरिक समाजका हरेक व्यक्तिहरु यो दस्ताभित्र पर्दछन् । अपराध हुने पनि समाजमै हो । अपराध गर्ने पनि समाजकै केही व्यक्ति हुन्छन् र त्यस्ता व्यक्तिहरु को हुन् भन्ने जानकारी पनि समाजसँग नै हुने भएकोले समाज सुधारका लागि हरेक नागरिक समाजको उतिकै उतरदायित्व रहन्छ । त्यसैले यो अभियान शान्ति र अमनचयन चाहने हरेक नागरिकको अभियान हो । समाजमा कुनै पनि आपराधिक गतिबिधि भइरहेको छ भने त्यसको बारेमा हामीलाई जानकारी गराँउदा उसको परिचयको पूर्ण गोपनियता कायम हुनेछ । तर नागरिक समाजबाट सूचना दिनेहरु सबै नेपाल प्रहरीलाई सहयोग गर्ने समुहमा आवद्ध हुन्छन् ।

भ्रष्टाचार र अपराधिकरण उच्च तहसम्मै जोडिँदै आएको अवस्थामा सुद्धिकरणको यस अभियानलाई साच्चिकै सफल पार्ने त्यस्तो कुनै योजना छ कि केही समय चर्चाका लागि भएपनि गरौं न भन्ने हो ?
तपाइले यसलाई हेर्दै जानुहोस् । मैले सार्वजनिक सुनुवाइ गरेर सार्वजनिक स्थानबाटै बोलिसकेको छु । बोले अनुसार हुन्छ कि हुँदैन भन्ने कुरा रिजल्ट हेर्नुहोस् । त्यसबाट तपाइहरुलाई थाहा हुने छ । हामीले गरेको कामको अडिटिरुपब्लिकबाट हुँदै जाने छ ।

गलत व्यक्तिसँग उठबस गर्ने प्रहरीलाई कारवाहीको दायरामा ल्याउने उद्घोष गर्नुभएको छ, उसो भए अब यहाँकै भाषामा फरार सुचीमा रहेका व्यक्तिहरु सांसद नै बनेका भएपनि प्रहरीले सलुट हैन, हतकडी लगाउँछ हैन त ?
हामीले कानुनको दायरामा ल्याउनु पर्ने जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउँछौं । यो या त्यो भनेर पृथक आँखाले हेर्न जरुरी छैन । रुल अफ ल भएको मुलुकमा अपराध गर्ने जो कोही पनि कानुनको दायरामा आउँछन् । काठमाडौ प्रहरी कानुनको पालना गर्न र गराउन कुनै पनि कसुर बाँकी राख्दैन ।

कतिपय अपराध राजनीतिकै आडमा संचालन भएको कुरा त नौलो होइन, पहुँचकै कारण उनिहरुलाई कारवाहीको दायरामा ल्याउन नसकिएको र स्वयं प्रहरी संगठनका उच्च पदाधिकारीको पनि संलग्नता रहने गरेको अवस्थामा तपाइको यो अभियान कसरी अघि बढ्छ ?
सबैभन्दा ठुलो इमान्दारीता हो । यदि व्यवसायिक इमान्दारीता छ । क्षमता छ । र, लोभ लालचबाट मुक्त भएर सही बाटोमा हिड्न सक्यो भने जो कोहीले पनि आफ्नो सपना पुरा गर्न सक्छ । काठमाडौं प्रहरीलाई इमान्दार बनाउने र काठमाडौंमा स्थायी शान्ति सुरक्षा कायम गर्ने मेरो सपना छ । यो सपनामा कहीँ अवरोध आउन सक्दैन । किनभने म कुनै कमजोरी बोकेर हिड्दिन ।

यो अभियान पुरा हुनेमा भित्रै मनदेखि कतिको विश्वस्त हुनुहुन्छ ?
म आफु प्रतिवद्ध छु र मलाई विश्वास छ । मेरो प्रतिवद्धता र इमान्दारीतापूर्वक हिड्ने बाटोमा कसैले पनि अवरोध सिर्जना गर्ने छैन भन्ने मलाई विश्वास छ । त्यसैले अहिले नै कसैलाई आरोप लगाइहाल्नु भन्दा पनि मैले इमान्दारीपूर्वक काम गर्दै गर्दा समस्या आउँछ या आउँदैन त्यहि बेला निक्र्यौल गर्नेछु ।

प्रहरीले यसअघि पनि बिभिन्न लोकपृय नारासहित अनेक कार्यक्रम नल्याएको होइन तर केही समयपछि सेलाउँदै गए । कतै तपाइको योजना पनि तपाइसँगै या तपाइ यही रहँदा रहँदै पनि निस्तेज भएर जाने त होइन ?
यो चर्चाको लागि गरिएको होइन । पब्लिकले अडिट गर्र्दै जान्छ । अहिलेसम्म अहिलेसम्म ४ वटा सार्वजनिक सुनुवाई गरिसकेको छु र म यहाँ रहुन्जेलसम्म निरन्तर गरिरहन्छु पनि । यो अभियानमा म चुकेको दिन संगठनमा म रहँदा पनि रहन्न ।

घुसरहित प्रहरी र अपराधरहित काठमाडौं बनाउने यहाँको सपनाको प्रतिफल कति समय पछि काठमडौंबासीले महसुस गर्न सक्लान् त ?
मैले भित्रीरुपमा त प्रतिफल प्राप्त गर्न सुरु गरिसकेको अनुभूत गरेको छु । अब त्यो जनतासम्म पुग्नलाई केही समय लाग्छ । किनभने यो भनेको सेवाग्राहीले सेवा लिन आउँदा अनुभूत गर्ने कुरा हो । तर कुनै गल्ती गर्ने मान्छेले प्रहरीले गरेको कारबाहीको बिरुद्ध नै अनेकथरी बोल्न सक्छ । गलत गर्ने मान्छेलाई प्रहरीले कारबाही गर्दा प्रहरीको बिरोधै हुन्छ । यहाँ असल नागरिक जो अपराध न्युनिकरण गर्दै शान्ति सुरक्षा चाहन्छन् ति व्यक्तिहरुले प्रहरीको कुनैपनि कामकारवाहीमाथि गुनासो रहन्छ भने हामी त्यसको तत्काल सम्बोधन गर्छौ ।

कार्यालयमा काम गर्नेदेखि फिल्डमा खटिने प्रहरी त उनै हुन् नि, त्यति सजिलै आफुलाई परिवर्तन गर्न सक्छन् त ?
यो फौजि संगठन हो । यसमा अधिकार छ । युनिफर्म छ । र, हतियार पनि छ । यो चेन अफ कमाण्डमा चल्ने संगठन हो । मेरो प्रतिबद्धामा हिड्न नसक्नेहरु मेरो नेतृत्वमा रहन पनि सक्दैनन् र अट्दैनन् पनि । ती कानुनको दायरामा आउँछन् ।

यो अभियानका लागि केही नयाँ अफिसरहरु पनि छनौट गर्नु भएको छ कि ?
छनोट भन्दापनि यो मिसनमा सबैले आफुलाई सुधारेर हिड्नु पर्छ । म कोही नयाँ ल्याउन तयार छैन । र, सोचमा पनि छैन । भएकाहरु ठीक ढंगले हिडे हिड्छन् । हिड्दैनन् कानुनको दायरा भित्र छिर्छन् ।

नानीदेखि लाग्या बानी तपाइले भनेजस्तै गरी त्यति सजिलै परिवर्तन आउला त ?
कमान्ड गर्ने मान्छे इमान्दार भयो भने नसुध्रिकन सम्भवै छैन । कि बर्दि खोलेर बाहिर बस्नु पर्यो कि सुध्रिनु पर्यो । यो संगठन निजी कम्पनी पनि होइन, उद्योग पनि होइन त्यसैले यसका सदस्यले यसभित्र बसेर कमाउने कल्पनासम्म गर्नुहुन्न । बर्दि र गैर कानुनी कमाइ सँगै हिड्न सक्दैन । कसैलाई कमाई धमाई गर्नु छ भने व्यवसायमा जानु पर्यो । उद्योगधन्दा गर्नु पर्यो । फ्याक्ट्रि खोल्नु पर्यो । अनि कमाउनु पर्यो । सुरक्षाकर्मीको संगठन कमाई धमाइको संगठन हुन सक्दैन ।

यस अभियानमा क कसबाट कस्तो सहयोगको अपेक्षा गर्नुहुन्छ ?
मुख्य त इमान्दार मान्छेबाट सहयोगको अपेक्षा गर्ने हो । इमान्दार मान्छेले मात्रै खराब कामको बिरुद्ध लड्न सक्छ । मैले धेरै सपोर्ट पाइरहेको छु । अहिले मलाई सयौं कलहरु आइरहेका छन् । सयौं नागरिकहरुले यस अभियानलाई सहयोग गरिरहनु भएको छ । यति हुँदाहुँदै पनि केही नेगेटिभ कमेन्ट गर्ने मान्छेहरु पनि छन् । जाने बुझेका र पढे लेखेकै विद्धान मित्रहरुले पनि अनेक टिका टिप्पणी पनि गरेका छन् । मैले त्यसलाई नकरात्मक रुपमा लिँदिन । संकृण मानसिकता मात्रै राखेर समाज अघि बढ्दैन । जब मैले सार्वजनिक रुपमै प्रतिबद्धता जाहेर गरी सकेको छु भने त्यो कुरा त उहाँहरुले पनि मनन् गर्न सक्नुपर्छ । जो नकरात्मक कमेन्ट गरिरहनु भएको छ उहाँहरुलाई म जवाफ दिन्छु । तपाइहरुले कमेन्ट डिलिट गर्नुपर्ने दिन आउँछ । त्यो बेलामा लज्जित हुन नपरोस् ।

नेतृत्व फेरिँदा निकै होहल्ला हुने काठमाडौ प्रहरी परिसरको पहिल्यैदेखिको चलन तपाइको हकमा पनि त्यसैको निरन्तरता जस्तै मात्रै त हुँदैन नि ?
सबैले आ आफ्नो अनुशार केही न केही सुधार त गरेर नै गए । यसअघि भएका सुधारका प्रयासहरुलाई संस्थागत गर्दै सुधारको गतिलाई थप उचाइमा पुर्याउनका लागि म प्रतिबद्ध छु । अहिलेको नयाँ सरकारले सुशासन र भ्रष्टाचारमुक्त शासन व्यवस्थाको परिकल्पना गरेको छ । त्यसको उदाहरण बन्ने प्रयासमा हामी छौं । काठमाडौंलाई उदाहरणीय बनाएर देखाउन चाहन्छु ।

अन्त्यमा थप भन्न मन लागेको कुरा केही छ कि ?
म यस परिसरको नेतृत्वमा आइसकेपछि जिल्लाभित्रको शान्ति सुरक्षाको अवस्थालाई भरपर्दो र विश्वासिलो बनाइ स्थायीत्व प्रदान गर्ने प्रयासमा छु । जनताले आफ्नो व्यापार व्यवसाय गरी निर्भयतापूर्वक हिडडुल गर्न पाउने अवस्थाको सिर्जना गर्नु नै मेरो पहिलो प्राथमिकता हो । मेरो यो उद्येश्य प्राप्तीका लागि म कहिँ चुक्दिन/झुक्दिन र आम नागरिकसँग सहयोगको अपेक्षा गर्दछु ।

Tags :
प्रतिक्रिया दिनुहोस