प्रदेश नम्बर २ मा विश्वकै नमुना गाउँ बनाइने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेश नम्बर २ मा विश्वकै नमुना गाउँ बनाइने


प्रशासन विशेष ब्युरो

१२ फाल्गुन २०७४, शनिबार


काठमाडौं । नेपालमा दिगो विकास लक्ष(एसडीजी) नमुना गाउँ बनाइने भएको छ ।

प्रदेश नम्बर २, सर्लाहीका स्थानीय सरकार चन्द्रनगर गाउँपालिकाकाले १५ वर्षे योजनासहित विश्वमै पहिलो एसडीजी नमुना गाउँको अवधारणा सार्वजनिक गरेको हो ।

विश्वका १ सय ९३ राष्ट्रहरुले संयुक्त रुपमा अंगालेका पन्ध्र वर्षे (२०१६ देखि २०३०) विश्वव्यापी दिगो विकास लक्षको नमुना गाउँ बनाउने योजना अनुशार अवधारणा अघि सारेको चन्दनगर गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत टेकप्रसाद भट्टराइले बताए ।

सन् २०३० सम्ममा नेपाललगायत विश्वबाट सबै प्रकारका गरिबीको उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिको लागि एक समान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने परिकल्पना बोकेको पन्ध्र वर्षे साहसिक दिगो विकास लक्ष्यलाई एकिकृत रुपमा समाज, परिवार र व्यक्तिगत जीवनमा प्रत्यक्ष अनुभुती हुने गरी एकीकृत विकासको अवधारणलाई अंगाल्दै मानवता सहितको र समानताभएको सबल र दिगो नमुना गांउ बनाउने अभियानको रुपमा चन्द्रनगर दिगो विकास लक्ष्य नमुना गांउ योजना अगाडी बढाइएको भट्टराइले बताए ।

दिगो विकासका १७ वटा लक्ष्य तथा १ सय ६९ सहायक लक्ष्यहरु र २ सय भन्दा बढी सुचकहरु दिगो विकासका लागि एजेण्डा २०३० को एउटा भाग हो, जुन संयुक्त राष्ट्रसंघका १ सय ९३ सदस्य राष्ट्रहरु सम्मिलित सेप्टेम्बर २०१५ को ऐतिहासिक राष्ट्रसंघीय साधारण सभाको शिखर सम्मेलनले पारित गरेर जनवरी १, २०१६ देखि लागु गरेको छ ।

विश्वभरका राष्ट्रिय सरकारहरु तथा लाखौं नागरिकहरुलाई एउटै थलोमा ल्याई यी महत्वाकांक्षी कार्य सुचीमा व्यापक छलफल र परामर्श गरी यो दिगो विकास लक्ष्यहरु तय गरिएका हुन् ।

विश्वकै पहिलो दिगो विकास लक्ष्य नमुना गाँउ योजनाको सबल र प्रभावकारी योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र अभिलेखनको लागि चार किसिमको शासन संरचना तय गरिएको छ ।

राष्ट्रिय योजना आयोग, मन्त्रालय, दातृ निकायहरु, उधोग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ, प्राज्ञिक लगायतका क्षेत्रहरु समेटने गरी १५ सदस्य सल्लाहकार समुह काठमाडौंमा हुनेछ ।

त्यसैगरी, स्वास्थ्य, शिक्षा, कृषि, निमार्ण, अर्थ, रोजगारी, व्यापार, संस्कृति, संचार, भिएफएस, अनुसन्धान, अभिलेखन, लैडि.क, समता र सामाजिक समावेशीकरण, महिला सशक्तिकरण, गरिबीनिवारण, वजारीकरण, वन तथा जलवायु परिवर्तन, वातावरण, उर्जा, सुचना प्रविधी, पोषण, सरसफाई, ज्ञान व्यवस्थापन लगाएत विभिन्न विषयगत विज्ञहरु सम्मिलित ३१ सदस्य प्राविधिक कार्य समुह पनि गठन गरिनेछ ।

यस चन्द्रनगर दिगो विकास लक्ष्य नमुना गाउँ योजनाको कुशल र प्रभावकारी संचालनको लागि गाउँ पालिका प्रमुख संरक्षण, प्रमुख कार्यकरी अधिकृत सल्लाहकार तथा वडा अध्यक्षको अध्यक्षता रहेको १५ सदस्य नमुना गांउ योजना संचालन समिती गठन गरिने छ ।

साथै, दिगो विकास र चन्द्रनगर दिगो विकास लक्ष्य नमुना गाउँको बारेमा व्यापक जागरण ल्याउनतथा स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय सरोकारवालाहरुको ध्यानाआकर्षण गराउँदै यस अभियानमा थप उर्जा प्रदान गर्न निखिल उप्रेती, केकी अधिकारी, डली सरकार र सन्तोष साह गरी चार जना नेपालका ख्यातीप्राप्त कलाकारहरु र व्यक्तिहरु सद्भावनादुतको रुपमा यस अभियानमा जोडिने जनाइएको छ ।

अगामी पाँच वर्षको लागि विस्तृत लागत सहितको रणनैतिक योजना तयार गरी चन्द्रनगर दिगो विकास लक्ष्य नमुना गाउँ योजनाको कार्यान्वयन द्रुत गतिमा अगाडी बढाइने जानकारी अवधारणाकर्ता राजकुमार महतोले जनाएका छन् ।

चन्द्रनगर दिगो विकास लक्ष्य नमुना गाउँ योजना नेपालमा मात्रै नभई विश्वमा नै पहिलो भएकोले गर्दा विश्व सामु नेपाललाई चिनाउने, एकिकृत विकासको मोडेल प्रस्तुतगर्ने र नेपालमा भर्खर लागु भएको संघीयता सहित स्थानीय सरकारको सफल संचालनको मार्ग दर्शनको रुपमा साबित हुने विश्वास लिएको महतोले बताए ।

२९७३ सालमा स्थापना भएको सलाहीस्थित चन्द्रनगर गाउँपालिका ४७ दशमलब ५ बर्गकिलोमिटरमा फैलिएको छ । जम्मा ७ वडा रहेको यस नगरपालिकामा ४ हजार ९ सय ३५ घरधुरी गरी (महिला १८,३९४ र पुरुष १६६२१) जम्मा ३५ हजार ५ जनसंख्या रहेको छ ।

प्रतिक्रिया दिनुहोस