सुरक्षा नभएको भन्दै डोटीका सबै डाक्टर काठमाडौं ! « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुरक्षा नभएको भन्दै डोटीका सबै डाक्टर काठमाडौं !


९ फाल्गुन २०७४, बुधबार


डोटी । जिल्ला अस्पताल डोटी र स्वास्थ्य कार्यालय मातहतका निकायमा कार्यरत चिकित्सकहरुले आफुहरु असुरक्षित भएको भन्दै बुधबार जिल्ला छोडेका छन् ।

केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत रही जिल्ला अस्पताल डोटीमा काजमा रहेका चिकित्सक डा. जितेन्द्र सिंहमाथी आईतबार कुटपिट भएपछि सुरक्षाको कारण देखाउँदै जिल्ला अस्पताल डोटीका चिकित्सकहरु विबस पराजुली, जितेन्द्र सिंह र सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक डा. राजकुमार बिश्वकर्माले जिल्ला छोडेका हुन् ।

आईतवार जिल्ला अस्पताल डोटीमा एक महिलाको भिडियो एक्स–रे गर्ने क्रममा डा. जितेन्द्र सिंहले दुव्र्यवहार गरेको भन्दै महिलाका आफन्तहरुले सिंहलाई कुटपिट गरेका थिए ।

कुटपिटबाट सिंहको दाँत भाँचिएको छ । उक्त घटनापछि नेपाल चिकित्सक संघ र सरकारी चिकित्सक संघ (गोडान)ले बिज्ञप्ती जारी गर्दै जिल्लाका सरकारी तथा नीजि स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरुलाई जिल्ला छोड्न आग्रह गरेपछि सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरुले जिल्ला छोडेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख सतिश बिष्टले चिकित्सकहरुले जिल्ला छोडेको पुष्टी गरे । ‘चिकित्सकहरुमाथी हमला भएपछि असुरक्षित भएको महसुस गर्दै आज हिडे’ बिष्टले भने, ‘उहाँहरुका पेशागत संगठनहरुले बिज्ञप्ती निकालेर काठमाडौं आउन भनेका रहेछन्, त्यसैले उहाँहरु जानुभयो ।’

आईतवार चिकित्सकमाथी भएको कुटपिटको घटनामा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीले चार जना बिरुद्ध सार्वजनिक अपराधको मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको छ । जिल्ला प्रहरी कार्यालय डोटीमा प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताएका छन् । सिँहका अनुसार डोटी दिसिनपा–७ का हिम्कत सिंह बिष्ट, बिजय बिष्ट, टेकबहादुर विष्ट र सोही नपा–६ का अरुण महतलाई नियन्त्रण लिई अनुसन्धान भईरहेको छ ।

सरकारी कोटामा रहेका दुवै डाक्टरले अस्पताल छोडेपछि निक साईमन नामक गैरसरकारी संस्थाबाट नियुक्त डा. गिरीश अवस्थी मात्रै अस्पतालमा छन् । डा. अवस्थी पनि बिहिबार जिल्ला छोड्ने तयारीमा छन् । ‘नेपाल चिकित्सक संघले आउन भनिसकेपछि म पनि भोली जाने तयारीमा छु’ डा. अवस्थीले भने ।

आईतवार भएको घटनाको बिरुद्धमा मुद्धा दर्ता भएपछि मुद्धाका बिपक्षीहरुले चिकित्सक डा. जितेन्द्र सिंहबिरुद्ध जवरजस्तीकरणी उद्योगमा मुद्धा हाल्ने चेतावनी दिएकोले आफुहरु असुरक्षित भएको महसुस गर्दै जिल्ला छोडेको जिल्ला अस्पतालमा कार्यरत डा. विवस पराजुलीले वताए ।

‘तपाई मुद्धा हाल्ने भए हामी पनि मुद्धा हाल्छौं भन्ने धम्की आयो’ पराजुलीले भने, ‘त्यसपछि हामीहरुले पेशागत संगठनहरुसँग सल्लाह गरी असुरक्षित भएको महसुस गर्दै जिल्ला छोड्यौं ।’

यस्तो थियो आइतबारको घटना

जिल्ला अस्पताल डोटीमा भिडियो एक्स–रे गर्ने चिकित्सक डा. गिरीस अवस्थी परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविरका लागि गाउँतिर भएका बेला केदाराखडा प्राथमिक स्वास्थ्य केन्द्रका डा. जितेन्द्रलाई जिल्ला जिल्ला अस्पतालमा एक महिनाको लागि काजमा बोलाईएको थियो ।

आईतबार उनी बिरामीहरुको भिडियो एक्स–रे गरिरहेका बेला एक महिलासँग भनाभन भयो सामान्य विबाद भयो । महिलाहरुसँग भनाभन भएपछि डा. जितेन्द्रले ती महिलाको भिडियो एक्स–रे नगरी भिडियो एक्सरेका लागि काटीएको विल फिर्ता गरी बहिर पठाए । डाक्टरले आफुमाथी अभद्र व्यवहार गरेको र भिडियो एक्स–रे पनि नगरिदिएको भन्दै ती महिलाले फोनबाट आफन्तलाई खवर गरिन् ।

महिलाका आफन्त जिल्ला अस्पताल पुगेर डाक्टरलाई किन एक्स–रे नगरेको भन्दै प्रश्न गरे । यस क्रममा डाक्टर र ती ब्यक्तिको बाँझाबाँझ भयो । एक आपसमा हात हालाहाल भयो ।

घटना त्यती बेला साम्मे भयो । तर, केही समयपछी केही जनाको समुह फेरी अस्पताल भित्र पस्यो । अस्पतालका मेडिकल सुपरिटेण्डेण्टको कार्यकक्षमा बसिरहेका डाक्टर सिहलाई कुटपिट गर्यो । तत्काल प्रहरीलाई खवर भएपछि प्रहरीले घटनामा संलग्नलाई नियन्त्रणमा लियो ।

‘डाक्टरले पनि बिरामीसँग नराम्रो व्यवहार गरेको देखियो’ प्रहरी नायव उपरीक्षक सिंहले भने, ‘तर साँघातिक आक्रमण गर्नु राम्रो भएन ।’

 

सरकारी चिकित्सक संघद्धारा जारी विज्ञप्तीका लागि यो लिंक क्लिक गर्नुहोस्

 

 

प्रतिक्रिया दिनुहोस