लोक सेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

लोक सेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर


९ फाल्गुन २०७४, बुधबार


वस्तुगत प्रश्नोत्तर

१. नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दोस्रोपल्ट प्रधानमन्त्री पदमा कहिले नियुक्त भएका हुन् ?
– वि.सं. २०७४ फागुन ३
– सङ्घीय गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेका ओलीले फागुन ३ मा नै पद तथा गोपनियताको शपथग्रहण गरेका ।
– राजनीतिका सम्भावना र विकल्पबीच बनेको वाम गठबन्धनको चुनावी नतिजा पश्चात् नेकपा माओवादी केन्द्रको समर्थनमा नै ओली प्रधानमन्त्री बनेका । ओलीले फागुन ३ मा नै तीन सदस्यीय मन्त्रिमण्ड गठनसमेत गरेका ।
– वि.सं. २००८ फागुन ११ मा तेह्रथुममा जन्मिएका ओली प्रधानमन्त्री बन्नुअघि गृहमन्त्री, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री भइसकेका । पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनका क्रममा राज्य विप्लवको आरोप लागेपछि ओलीले १४ वर्ष जेल जीवन बिताएका ।

२. इरानको राजधानी तेहरानबाट दक्षिण पश्चिमी सहर यासुजतर्फ गइरहेको यात्रुवाहक विमान कहिले दुर्घटनाग्रस्त भयो ?
– सन् २०१८ फेब्रअरी १८
(विमान दुर्घटनामा परी ६६ जनाको मृत्यु भएको)

३. दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०७४ मङ्सिर मसान्तसम्म नेपालको कुल जनसङ्ख्याको कति प्रतिशतमा इन्टरनेृट सेवा पुगेको छ ?
– ६६.१७ प्रतिशत
(१४ औं योजना (२०७३/७४–२०७५/७६) अनुसार आयोजनाको अन्त्यसम्म इन्टरनेटको पहुँच पुगेको जनसङ्ख्या ६५ प्रतिशत पुर्याउने लक्ष्य रहेको ।)

४. ‘सुखका साथीहरु गर्मीमा हिउँ पग्लेजस्तै पग्लेर छिट्टै बिलाउँछन् भने दुःखका साथी जाडोमा हिउँ जमेजस्तै सधैँ एक ढिक्का भई साथमै रहन्छन्’ भन्ने विचारक को हुन् ?
– जर्ज आरआर मार्टिन, अमेरिकी उपन्यासकार

५. इथियोपियामा सङ्कटकाल घोषणा कहिले गरिएको हो ?
– सन् २०१८ फेब्रअरी १५
(यसअघि लगाइएको सङ्कटकाल अन्त्य भएको करिब ६ महिना नबित्दै त्यहाँ पुनः सङ्कटकाल घोषणा गरिएको ।)

६. ‘स्मार्ट गोरखापत्र– २०१८’ को औपचारिक शुभारम्भ कहिले गरिएको हो ?
– वि.सं. २०७४ फागुन २

७. खोटाङलाई साक्षर जिल्लाका रुपमा कहिले घोषणा गरिएको हो ?
– वि.सं. २०७४ फागुन २

८. यस वर्ष (२०७४) को भैरव अर्याल स्मृति पुरस्कार कसलाई प्रदान गरियो ?
– धुर्मुस सुन्तली फाउन्डेसन

९. विश्वकै ठूलो नोबेल पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ?
– सन् १९०१
– अर्थशास्त्र तर्फको नोबेल पुरस्कार भने सन् १९६८ देखि दिन थालिएको ।
– नोबेल शान्ति पुरस्कार नर्वेको राजधानी ओस्लोमा दिइन्छ भने अन्य विधाका पुरस्कार स्विडेनको राजधानी स्कटहोममा प्रदान गरिने ।
– यो पुरस्कार संयुक्त रुपमा तीन जना सम्मले पाउन सक्ने ।

१०. ‘खोज यस्तो यन्त्र हो जसले सिर्जनालाई गतिशील बनाउँछ, सिर्जनाले नै आर्थिक वृद्धिलाई बढावा दिन्छ’ भन्ने विचारक को हुन् ?
– इडिथ विड्डर

विषयगत प्रश्नोत्तर

१. नेपालको संविधान अनुसार राष्ट्रपतिको निर्वाचन के–कसरी हुने व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।
नेपालको संविधानको धारा ६२ अनुसार नेपालमा राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) का सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने व्यवस्था छ । निर्वाचक मण्डलको तत्काल कायम रहेको कुला मतको बहुमत प्राप्त गर्ने व्यक्ति नेपालको राष्ट्रपति पदमा निर्वाचित हुने व्यवस्था छ । कुनै उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच मतदान हुने र त्यस्तो मतदानमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त् गर्ने उम्मेदवार राष्ट्रपति पदमा निर्वाचित हुने, यस मतदानबाट समेत कुनै उम्मेदवारले कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा पुनः मतदान हुने, यस्तो पुनः मतदानमा खसेको कुल सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवार नेपालको राष्ट्रपति पदमा निर्वाचित हुने व्यवस्था छ ।

२. उपभोक्ता संरक्षण परिषदको काम, कर्तव्य र अधिकार के–के हुन् ? लेख्नुहोस् ।
उपभोक्ता संरक्षण ऐन, २०५४ ले आपूर्ति मन्त्री वा आपूर्ति राज्यमन्त्रीको अध्यक्षतामा निजी क्षेत्रको समेत सहभागितामा उपभोक्ता संरक्षण परिषद् गठन गरी उक्त परिषद्को काम, कर्तव्य र अधिकारको व्यवस्था गरेको छ, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः
– उपभोक्ताको हकहित संरक्षण, आपूर्ति व्यवस्था र उपभोग्य वस्तु तथा सेवाको मल्य, गुणस्तर, शुद्धता सम्बन्धी विषयमा नेपाल सरकारलाई सुझाव दिने,
– उपभोक्तालाई उपभोग्य वस्तु तथा सेवाको सम्बन्धमा सुरक्षित गराउन त्यस्ता वस्तु तथा सेवाको गुणस्तरका सम्बन्धमा जानकारी गराउन उपभोक्ताको हकहित सम्बन्धी सूचना प्रचारप्रसार गर्ने गराउने,
– उपभोक्तालाई उपभोग्य वस्तु तथा सेवाको मुल्य, गुण, परिमाण, शुद्धता तथा अनुचित व्यापारिक क्रियाकलापका सम्बन्धमा सूचित गर्ने, गराउने,
– उपभोक्ताको हकहित संरक्षण गर्ने सम्बन्धमा अनुसन्धान गर्ने, गराउने,
– उपभोक्ताको हकहित संरक्षण सम्बन्धमा भइरहेका नीति परिवर्तन गर्ने वा नयाँ नीति बनाउने सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने,
– उपभोक्ताको हकहित संरक्षण सम्वन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना अद्यावधिक राख्ने तथा राख्न लगाउने,
– उपभोक्तका अधिकारको अनुगमन गर्ने गराउने र अनुगमन गर्दा देखिएका त्रुटिको सुधार गर्न नेपाल सरकारलाई सुझाव दिने,
– नेपाल सरकारले तोकिदिए बमोजिमका काम गर्ने, गराउने,
– उपभोक्ताको हकहित संरक्षण गर्ने सम्बन्धमा उपयुक्त सम्झेको अन्य काम गर्ने, गराउने ।

३. मूल्य अभिवृद्धि करमा कर अधिकृतले के कस्तो अवस्थामा कर निर्धारण गर्न सक्ने व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।
मूल्य अभिवृद्धि कर स्वयंकर निर्धारण प्रणालीमा आधारित कर हो, जस अनुसार करदाताले आफ्नो खरिद बिक्रीको बिलबिजक व्यवस्थित अभिलेख गरी सोही आधारमा आफूले तिर्नुपर्ने कर र तोकिए बमोजिमको कर विवरण तोकिएको समयमा आन्तरिक राजस्व कार्यालयमा पेस गर्नुपर्ने हुन्छ तर देहायका कुनै अवस्थामा कर अधिकृतले मूल्य अभिवृद्धि कर निर्धारण गर्न सक्ने व्यवस्था मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २० मा गरिएको छः
– म्यादभित्र कर विवरण पेस नगरेमा,
– अधुरो वा त्रुटिपूर्ण कर विवरण पेस गरेमा,
– झुट्टा कर विवरण पेस गरेमा,
– करको रकम कम देखाएको वा ठीक नभएको भन्ने कर अधिकृतलाई विश्वास गर्नुपर्ने कारण भएमा,
– आपूर्ति मूल्यमा न्यून विजकीकरण गरेको भन्ने कर अधिकृतलाई विश्वास गर्नुपर्ने कारण भएमा,
– न्यून विजकीकरण गरी सामान कम्पनीमा आपूर्ति भएमा,
– दर्ता हुनुपर्ने दायित्व भएको व्यक्तिले दर्ता नगरी कारोबार गरेमा,
– बिजक जारी नगरी बिक्री गरेमा,
– दर्ता नभएको व्यक्तिले कर उठाएमा ।
एपरोक्त बमोजिम कर निर्धारण गर्दा कर विवरण पेस गरेको मितिले चार वर्षभित्र कर निर्धारण गरिसक्नुपर्ने व्यवस्था छ, सो अवधिभित्र कर निर्धारण हुन नसकेमा करदाताबाट पेस भएको विवरण नै स्वतः मान्य हुने व्यवस्था छ ।

साभारः गोरखापत्र

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/loksewa/

Tags :
प्रतिक्रिया दिनुहोस