हुम्ला र डोल्पामा कहिले पुग्ला गाडी ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हुम्ला र डोल्पामा कहिले पुग्ला गाडी ?


९ फाल्गुन २०७४, बुधबार


काठमाडौं । देशका ७५ जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएका भए पनि कर्णालीका हुम्ला र डोल्पामा भने अझै मोटरबाटो पुग्न सकेको छैन । बजेट भाषणमा अर्थमन्त्रीले ‘यसै वर्ष हुम्ला र डोल्पामा सडक पुर्‍याउने लक्ष्य राखिएको छ’ भन्न थालेको वर्षौैँ बिते पनि यथार्थ भने भिन्न छ । अपर्याप्त बजेट, जटिल भौगोलिक बनोट र सुस्त निर्माणले अझै केही वर्ष गाडी हुइँकिन मुस्किल छ ।

हिल्सा–सिमकोट सडक आयोजना कार्यालयले छारे–खार्पुनाथ सडकखण्ड निर्माणका लागि टेन्डर आह्वान गरेको छ । हिल्सा सडक आयोजनाका अनुसार ४६।९० किलोमिटरका लागि टेन्डर आह्वान गरिएको हो । निर्माणका लागि सेनाको हेलिकोप्टरबाट सर्केगाँड गाउँपालिकामा स्काभेटर पुर्‍याइएको छ ।

हुम्ला सदरमुकाम सिमकोटलाई चीनसँग जोडिन भने नौ किलोमिटर मात्रै बाँकी छ । नाम्खा गाउँपालिकाको ओखरथालसम्म गाडी पुगेको र त्यहाँबाट सिमकोटसम्म नौ किलोमिटर मात्रै बाँकी रहेको गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए ।

नाम्खाको मुचु तुम्कोट र हिल्साको बेलिब्रिज पुल निर्माणमा समय लागेकाले ढिलाइ भएकाले उनको भनाइ छ ।

यता राष्ट्रिय सडक सञ्जालमा जोडिन पनि सल्लीसल्लाबाट दार्मासम्मका लागि १४ किलोमिटर सडक निर्माण भइरहेको छ । ग्रामीण पहुँच कार्यक्रमले सल्लीसल्लाबाट तीन वर्षअघि निर्माण सुरु गरेको हो । त्यस्तै गल्फादेखि श्रीनगरसम्म १२ किलोमिटर सडक निर्माण गरी अदानचुली गाउँपालिकामा सडक पुर्‍याइने ग्रामीण पहुँच कार्यक्रमले जनाएको छ ।

दुवै गरेर २७ किलोमिटर सडकका लागि ग्रामीण पहुँच कार्यक्रमले ५१ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ । सल्लीसल्ला–दार्माका लागि २८ करोड २१ लाख ५२ हजार सात सय र गल्फागाँढ–श्रीनगर खण्डका लागि २२ करोड ९१ लाख ६१ हजार तीन सय ८० रुपैयाँ छुट्याइएको कर्मचारी शंकर पोखरेलले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस