मलाई गजल गायनमा पनि विषेश रूची छ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मलाई गजल गायनमा पनि विषेश रूची छ


प्रशासन विशेष ब्युरो

५ फाल्गुन २०७४, शनिबार


शान्ति शर्माको पहिलो गजल संग्रह ‘अम्लान फुल ’ आज एक समारोहका बीच बिमोचन भएको छ । सोलुखुम्बुको नेचा सल्यानमा जन्मिएर हाल काठमाडौँलाई कर्मथलो बनाउँदै आएकी शर्मा प्रकृति र प्रेमिल गजल लेख्छिन् । उनै शर्माको गजल संग्रहमा केन्द्रित रही प्रशासन डटकमका लागि यज्ञराज जोशीले गरेको छोटो कुराकानी ।

आजै मात्र कृति विमोचन गर्नु भएको छ, के हो ‘अम्लान फुल’ ?
अम्लान भनेको संस्कृत शब्द हो । अम्लानको अर्थ कहिले पनि नओइलिने हुन्छ ।

कसरी जुराउनु भयो नाम ?
नाम मैले सोचेको थिइन । केही समय अगाडीदेखि म गजल लेखि रहेकी थिए । साथिहरुले संग्रह निकाल्नु पर्छ भन्ने सल्लाह दिए । संग्रहको तयारी गर्दै गर्दा एक दिन राष्ट्रकवि माधव घिमिरेलाई भेट्न पुगियो । उहाँसँग कुरा गर्दा के लेख्नुहुन्छ ? भनेर सोध्नु भयो । मैले अलि अलि गजल, कविता, कथा, मुक्तक लेख्छु भनेँ । केही कृति पनि निकाल्नु भएको छ की ? भनेर सोध्नु भयो । मैले अहिलेसम्म छैन । यही गजल सङ्ग्रह निकालौकी भन्ने सोचेको छु भनेँ । के नाम राख्नु भयो त सङ्ग्रहको भनेर सोध्नुभयो । त्यतिवेलासम्म पनि मैले नामको बारेमा सोचेकै थिएन । उहाँले सोध्दा मैले सोचेकै छैन, हजुरले नै राखिदिँदा आभारी हुन्थे भनेँ । कुराकानी हुँदै गर्दा म सोलुखुम्भु जिल्लामा जन्मेको हो । मलाई मेरो जन्मभूमिको औधि माया लाग्छ । मेरो कृतिमा कतै सोलुलाई पनि जोड्न पाए हुन्थ्यो भन्ने मनमा लागेको थियो ।

मलाई कस्तो विषयमा लेख्नुहुन्छ भनेर सोध्नुभयो । मैले प्रकृति र फूलको बारेमा बढी सिर्जना कोर्छु भनेँ । सुरूमा सोलुलाई जोड्न खोज्दा उहाँले थुप्रै नाम भन्नुभयो । मैले प्रकृति जोड्छु भन्दा मलाई राम्ररी हेर्नुभयो अनि भन्नुभयो जो कहिले ओइलाउँदैन, त्यसैले यसको नाम ‘अम्लान फूल’ भन्नुभयो । यसको अर्थ बुझ्नु हुन्छ भन्नुभयो । मैले बुझ्दिन भन्दा त्यसको परिभाषा सहित भन्नुभयो । अम्लान भनेको ‘कहिले नओइलाउने’ र फूल भनेकोे फूल भइहाल्यो । यसरी राष्ट्रकविबाट जुरेको नाम हो ‘अम्लान फूल’ ।

खासगरी कस्तो भाव बोकेका गजल संग्रहित छन्, अम्लान भित्र ?
चारवटा बहर(छन्द)मा पनि छन् । बहरमा धेरै लेखेको छैन । लोकलयमा नै धेरै छन् । प्रकृतिको नजिक रहेका सिर्जना गरिएका गजल धेरै छन् भने केही प्रेमील गजल पनि छन् ।

समिक्षकको प्रतिक्रिया कस्तो पाउनुभयो ?
आज मात्रै कृति बिमोचन भयो । बिमोचन समारोहमा मैले अगाध माया पाएको महशुस गरेकी छु । कृतिको बारेमा डा. सनतकुमार वस्तिले कतिले गजल लेख्छन्, अरुले गजल गाउँछन् तर शान्तिसँग गजल लेखन क्षमता त छ नै, गाउने क्षमता पनि छ जुन थोरैसंग मात्र हुन्छ भन्नुभयो ।

गजलमालि ज्ञानुवाकर पौडेलले पनि कृतिको बारेमा धेरै राम्रो प्रतिक्रया दिनुभयो । जसले मलाई थप उर्जा प्राप्त भएको महशुस गरेकी छु । चितवनबाट आउनु भएका साहित्यकार धनराज गिरीले र डा. घनश्याम परिश्रमी लगाएतले कृतिको बारेमा राम्रो समिक्षा गर्नुभयो । उहाँहरूले मेरो लेखनीको विषयमा यति गहिरो समिक्षा गर्नुभयो कि जुन मैले परिकल्पना पनि गरेकी थिइन् । महिला गजलकारहरुमा मलाई पनि राम्रै स्थानमा राखेको कुराले निकै खुशी महशुस भएको छ । उहाँहरुको विश्वासलाई कायम राख्न म सधै प्रयत्नशिल रहने छु ।

अम्लान फुल पाठकले मन पराउनेमा कतिको विश्वस्त हुनुहुन्छ ?
मलाई मन पराउनेले त पराउलान् तर पुस्तक कत्तिको पाठकसम्म पुग्छ र उहाँहरुले कस्तो प्रतिक्रिया दिन्छन् त्यो त पछि नै थाहा होला । धेरै जनाले किताव कहाँ पाउँछ भनेर सोधिरहनु भएको छ । सबैको एउटै मन हुँदैन तर आशा छ मन पराउनेछन् ।

थप केही भन्न मन लागेको छ कि ?
साहित्यिक यात्रालाई निरन्तरता दिइरहने छु । मलाई गजल गायनमा पनि विषेश रूची छ । निकट भविश्यमै केही गजलमा स्वर पनि भर्छु । आख्यानतिर पनि कलम चलाउने योजना बनाइरहेकी छु । जे जति जानेँ, जे जति लेखेँ । पढ्ने, हेर्नेले स्वच्छ खालको प्रतिकृया दिनुभयो भने त्यही अनुसार सुधार गर्दै अगाडी बढ्न सहज हुने थियो भन्ने लागेको छ । पहिलो कृति भएकोले केही कमि कमजोरी हुन सक्छन् । तर मेरा साथीभाइ तथा आफन्ततलाई के अनुरोध गर्न चाहन्छु भने मन दुख्ला कि भनेर कमि कमजोरी नलुकाइ स्पष्ट भनिदिनु भयो भने आगामी दिनमा सच्याउँदै अगाडि बढ्न सजिलो हुने अपेक्षा गरेकी छु । पुस्तक पढी सकेपछि तपाइका मनमा लागेका कुराहरु खुलेर भनिदिन सबैलाई अनुरोध गर्दछु ।

Tags :
प्रतिक्रिया दिनुहोस