नेपाल डिभिजन–२ को उपविजेता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल डिभिजन–२ को उपविजेता


प्रशासन विशेष ब्युरो

३ फाल्गुन २०७४, बिहिबार


काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाल संयुक्त अरब इमिरेट्स (युएइ) सँग पराजित हुँदा उपविजेतामा सीमित बनेको छ ।

नामिवियास्थित विन्डहोकस्थित वन्डर्रस क्रिकेट मैदानमा भएको खेलमा नेपाल युएइसँग सात रनले पराजित भएको थियो । दुई सय ७८ रनको लक्ष्य पछ्याएको नेपाल ५० ओभर पूरै खेल्दै आठ विकेट क्षतिमा २७० रनमा समेटिएको थियो । नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट पारी गर्दै शतक पूरा गरे पनि त्यो जीतका लागि पर्याप्त भएन । कप्तान पारसले ११२ रनको योगदान दिए ।

एक सय तीन बल खेलेका पारसले आठ छक्का र ३ चौकाको मद्दतमा अविजित ११२ रन बनाए । त्यसैगरी उपकप्तान ज्ञानेन्द्र मल्लले २४, दिलीप नाथले १३, दीपेन्द्रसिंह ऐरीले ३५, शरद् भेषवाकरले ३०, आरिफ शेखले ७ र रोहितकुमार पौडेलले २३ रन जोडे भने करण केसीले ३, सोमपाल कामीले ६ तथा वसन्त रेग्मीले ५ रन जोडे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएइले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै २७७ रन बनाएको थियो । युएइका लागि शुरुआती ब्याट्सम्यान अस्फाक अहमेदले शतकीय पारी खेले । एक सय २३ बल खेलेका उनले तीन छक्का र १० चौकाको मद्दतमा ११४ रन जोडे । यस्तै कप्तान रोहन मुस्ताफाले ५१, साइमन खनवरले ४० तथा रमिद शहजादले अविजित ४१ रन जोडे ।

बलिङतर्फ नेपालका लागि सोमपाल, वसन्त र सन्दीप लामिछानेले १–१ विकेट लिए । लिग चरणको खेलमा नेपालले युएइलाई ४ विकेटले पराजित गरेको थियो । सो जीतसँगै युएइले लिग चरणमा नेपालसँग हारेको बदलासमेत लिएको छ ।

प्रतिक्रिया दिनुहोस