डिभिजन–२ क्रिकेटः ओमानले ६ विकेटले हरायो नेपाललाइ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

डिभिजन–२ क्रिकेटः ओमानले ६ विकेटले हरायो नेपाललाइ


प्रशासन विशेष ब्युरो

२६ माघ २०७४, शुक्रबार


काठमाडौँ . नामिवियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग छ विकेटले पराजित भएको छ ।

नामिवियाको विन्डहोकस्थित अफिज पार्कमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओमानलाई १३९ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा ओमनले ३५ दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । प्रतियोगितामा दुई खेल खेलेको नेपालको यो पहिलो हार हो । बिहीबार भएको पहिलो खेलमा नेपालले नामिवियालाई एक विकेटले पराजित गरेको थियो ।

दुई खेल नै खेलेको ओमानको यो पहिलो जीत हो । बिहीबार भएको खेलमा ओमान क्यानडासँग आठ विकेटले पराजित भएको थियो । ओमानको जीतमा अकिव इल्यासले सर्वाधिक ४६ रनको योगदान दिए । यस्तै वैभव वाटेगाओनकरले नटआउट ३७, जतिन्दर सिंहले २४ र कप्तान सुल्तान अहेमद १६ रनमा नटआउट रहे ।

नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए । सोमपाल कामी र वसन्त रेग्मीले एक एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल ४६ ओभरमा सबै विकेट गुमाएर १३८ रनमा समेटिएको थियो ।

नेपालका लागि शरद् भेषवाकरले सर्वाधिक २२ रन बनाए । त्यसैगरी दीपेन्द्रसिंह ऐरीले २०, दिलीप नाथले १७, कप्तान पारस खड्काले १७ तथा रोहित पौडेलले १४ रन बनाए भने कामी १७ रनमा नटआउट रहे ।

नेपाललाई अलआउट गर्न ओमानका कलिमुल्लाह एक्लैले ४ विकेट तथा बिलाल खानले २ विकेट लिएका थिए । नेपालले अब आइतबार युएइसँग तथा ओमानले नामिबियासँग खेल्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस