लोक सेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लोक सेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर


१७ माघ २०७४, बुधबार


वस्तुगत प्रश्नोत्तर

१. वि.सं. २०७४ माघ ११ गतेको मन्त्रिपरिषद् बैठकले देशका कति स्थानमा अन्तर्राष्ट्रिय व्यापार प्रदर्शन केन्द्र स्थापना गर्ने निर्णय गरेको छ ?
– ७
(प्रदेश नं. १ को धरान, प्रदेश नं. २ को वीरगञ्ज, प्रदेश नं. ३ को चोभार, प्रदेश नं. ४ को दमौली, प्रदेश नं. ५ को दाङ, प्रदेश नं. ६ को सुर्खेत र प्रदेश नं. ७ को महेन्द्रनगरमा अन्तर्राष्ट्रिय व्यापार प्रदर्शन केन्द्र स्थापना गर्ने निर्णय गरिएको ।)

२. राष्ट्रिय खेलकुद परिषद्द्वारा सञ्चालित राखेप च्याम्पियनसिपमा कति खेल समावेश गरियो ?
– २९
– स्क्वास, भलिबल, सोपाकटाक्रो, एथलेटिक्स, बक्सिङ, ह्यान्डबल, कुस्ती, फेन्सिङ, बास्केटबल, जुडो, टेबलटेनिस, कबड्डी, सुटिङ, भारोत्तोलन, गुल्फ, साइक्लिङ, हक्की, खो–खो, उसु, पौडी, आर्चरी, लनटेनिस, ट्रायथलन, फुटबल, कराँते, ब्याडमिन्टन, सफ्टटेनिस, र तेक्वान्दोका दुई (राष्ट्रिय तेक्वान्दो र तेक्वान्दो) गरी २९ खेल समावेश गरिएको ।
– तीन वर्षअघि लुम्बिनी च्याम्पियनसिपका नाममा भएको प्रतियोगिता यसपालिबाट राखेप च्याम्पियनसिपका नाममा सञ्चालन गरिएको ।

३. एसियाली चिकित्सा विद्यार्थी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा कहिले सम्पन्न भयो ?
– वि.सं. २०७४ माघ ८–१२, काठमाडौं
(दक्षिण एसियामै पहिलोपटक नेपालमा आयोजना भएको नेपाल लगायत विभिन्न १६ राष्ट्रका चिकित्सा विषयका विद्यार्थीको सहभागिता रहेको सो सम्मेलन ‘मातृ तथा नवजात शिशु स्वास्थ्य’ विषयमा केन्द्रित रहेको ।)

४. हाल पूर्ण साक्षर घोषित जिल्लाको सङ्ख्या कति पुगेको छ ?
– ३९
(वि.सं. २०७४ माघ ८ मा म्याग्दी ३९ औं साक्षर जिल्ला घोषित भएको ।)

५. ‘सोच्नु राम्रो हो, कुरा गर्नु त्यो भन्दा राम्रो हो तर सबैभन्दा राम्रो काम गर्नु हो’ भन्ने विचारक को हुन् ?
– इमरसन

६.इन्टरनेट प्रविधिमा LAN को पूरा रूप Loal Area Network  हो भने WAN को पूरा रूप को हो ?
– Wide Area Network

७. विश्वप्रसिद्ध अनुसन्धान तथा परामर्शदाता संस्था प्राइस वाटरकुपर्स (पीडब्लूसी) का अनुसार लगानीका लागि आकर्षक गन्तव्यमा पहिलो पाँच स्थानमा परेका मुलुक कुन–कुन हुन् ?
– क्रमशः अमेरिका, चीन, जर्मनी, बेलायत र भारत

८. इनर्जी डेभलपमेन्ट काउन्सिल (इडीसी) द्वारा आयोजित ‘नेपाल पावर इन्भेस्टमेन्ट समिट– २०१८’ कहिले सम्पन्न भयो ?
– वि.सं. २०७४ माघ १३–१५ (काठमाडौं)
(उर्जा क्षेत्रसँग सम्बन्धित राष्ट्रिय/अन्तर्राष्ट्रिय सरोकारवालालाई एकै ठाउँमा ल्याई नेपालको ऊर्जा विकासमा ठोस प्रभाव ल्याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको ।)

९. मानव अङ्ग प्रत्यारोपण केन्द्रको नाम परिवर्तन गरी के नामकरण गरिएको छ ?
– धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र
(मानिसका विभिन्न अङ्ग प्रत्यारोपण गर्ने उद्देश्यले पाँच वर्षअघि स्थापना भएको मानव अङ्ग प्रत्यारोपण केन्द्र नाम परिवर्तन भई वि.सं. २०७४ माघ १५ बाट धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र बनेको । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले विकास समिति ऐन अन्तर्गत मानव अङ्ग विकास समिति गठन आदेश अनुसार २०६९ वैशाख ११ गते केन्द्रमा बहिरङ्ग (ओपीडी) सेवा सुरू गरेको ।)

१०. नेपालमा सहीद दिवस कहिले मनाउने गरिन्छ ?
– माघ १६

विषयगत प्रश्नोत्तर

१. राष्ट्रिय समावेशी आयोगको काम, कर्तव्य र अधिकार के–के हुन् ? उल्लेख गर्नुहोस् ।
नेपालको संवधानको धारा २५९ मा राष्ट्रिय समावेशी आयोगको काम, कर्तव्य र अधिकारको व्यवस्था छ, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः

क) खस आर्य, पिछडा वर्ग, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, श्रमिक, किसान, अल्पसङ्ख्यक एवम् सीमान्तकृत समुदाय तथा पिछडिएको वर्ग र कर्णाली तथा आर्थिक रूपले विपन्न वर्ग लगायतका समुदायको हक अधिकारको संरक्षणका लागि अध्ययन तथा अनुसन्धान गर्ने,

ख) उपरोक्त समुदाय, वर्ग र क्षेत्रको समावेशीकरणका लागि नेपाल सरकारले अवलम्बन गरेको नीति तथा कानुनको कार्यान्वयन अवस्थाको अध्ययन गरी सुधारका लागि नेपाल सरकारलाई सुझाव दिने,

ग) उपरोक्त समुदाय, वर्ग र क्षेत्रको राज्य संयन्त्रमा उचिव प्रतिनिधित्व भए नभएको अध्ययन गरी त्यस्तो समुदाय, वर्ग र क्षेत्रको प्रतिनिधित्वका लागि गरिएको विशेष व्यवस्थाको पुनरावलोकन गर्न नेपाल सरकारलाई सुझाव दिने,

घ) उपरोक्त समुदाय, वर्ग र क्षेत्रको संरक्षण, सशक्तीकरण र विकास सन्तोषजनक भए नभएको अध्ययन गरी भविश्यमा अवलम्बन गर्नुपर्ने नीतिको सम्वन्धमा नेपाल सरकार समक्ष सिफारिस गर्ने,

ङ) कर्णाली र पिछडीएको क्षेत्रको विकास र समृद्धिका लागि अबलम्बन गर्नुपर्ने नीति र कार्यक्रमको सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने,

च) अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदाय सम्बन्धी कानुनमा समयानुकूल परिमार्जनका लागि सिफारिस गर्ने,

छ) अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायका लागि प्रत्याभूत हक अधिकारको कार्यान्वयन स्थिति अनुगमन गरी आवधिक रूपमा हुने राष्ट्रिय जनगणना तथा मानव विकास सूचकाङ्क सम्बन्धी प्रतिवेदनको आधारमा आवश्यक पुनरावलोकन गरी परिमार्जनका लागि सिफारिस गर्ने,

२. जिल्ला सुरक्षा समितिको गठन कसरी हुने व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।
स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रत्येक जिल्लामा शान्ति सुरक्षा र सुव्यवस्था गर्ने काममा सहयोग पुर्याउन देहाय बमोजिमको एक जिल्ला सुरक्षा समिति हुने व्यवस्था छः
क) प्रमुख जिल्ला अधिकारी – अध्यक्ष
ख) नेपाली सेनाको स्थानीय प्रमुख – सदस्य
ग) जिल्ला प्रहरी कार्यालयको प्रमुख – सदस्य
घ) सशस्त्र प्रहरी कार्यालयको स्थानीय प्रमुख – सदस्य
ङ) राष्ट्रिय अनुसन्धान विभागको जिल्लास्थित कार्यालय प्रमुख – सदस्य
च) सहायक प्रमुख जिल्ला अधिकारी – सदस्य सचिव
प्रमुख जिल्ला अधिकारीले जिल्ला सुरक्षा समितिको बैठक आवश्यकता अनुसार बोलाउन सक्ने र बैठकमा आवश्यकता अनुसार जिल्लास्थित अन्य कार्यालयका पदाधिकारीलाई आमन्त्रण गर्नसक्ने व्यवस्था छ ।

३. पोषणको महत्वबारे लेख्नुहोस् ।
खाद्य पदार्थबाट प्राप्त हुने पौष्टिक तत्व पोषण हो । पोषणले शरीरको वृद्धि, विकास र सम्बद्र्धन गर्न मद्दत गर्दछ । पोषणको महत्वलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः
– शरीरलाई शक्ति प्राप्त गर्न मद्दत गर्दछ ।
– शारीरिक र मानसिक रूपमा शरीरको विकास गर्न सहयोग गर्दछ ।
– शरीरका अङ्गको परिचालन गर्न मद्दत गर्दछ ।
– शरीरलाई रोगबाट बचाउन तथा शरीरको रक्षा गर्न सहयोग गर्दछ ।
– शरीरको तापक्रम सन्तुलित राख्दछ । त्यसकारण पोषणको महत्व हुन्छ ।

साभारः गोरखापत्र

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/loksewa/

Tags :
प्रतिक्रिया दिनुहोस