हराएका शहीदहरु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

हराएका शहीदहरु


गोविन्द राज पोखरेल

१६ माघ २०७४, मंगलबार


हरेक बर्ष झै यस बर्ष पनि माघ १० देखि माघ सोह्रसम्मलाई शहीद सप्ताहको रुपमा मनाइदै छ । शहीदहरुको सम्झना कुनै औपचारिक कार्यक्रम शुरु गर्दा राजनैतिक पार्टीहरुले १ मिनेट मौन धारण गर्ने परिपाटी छ । हामीले शहिदले के बाटो देखाएका हुन भनेर सम्झन्छौ कि सम्झदैनौ घोप्टा परेर घडी हेर्दै गर्नेहरुलाई सोधेमा पनि भन्ने छैनन ।

राष्ट्रपति, प्रधानमन्त्री, बिदेशी राष्ट्र प्रमुखहरुले पुष्पगुच्छा सहिद गेटमा राखेपछि शहीदप्रतिको सम्मान गरेको देखिन्छ । माघ १० देखि १७ गते सम्म शोभा भगवती, टेकु पचली, सिफल र पुल्चोकमा माल्र्यापण गरेपछि शहीदप्रतिको सबै औपचारिकता पुरा हुन्छ । हामीले शहीदको सम्झना केवल राणा शासनको अन्त्यको लागि लडेका व्यक्तिहरुको मात्र औपचारिक रुपमा कार्यक्रम गरी समापन गरेको देखेका छौं । हामीले राणा शासन मात्र होइन ३० बर्षको पञ्चायती व्यबस्थाको पनि अन्त्य गरयौं । २३८ बर्ष सम्म रहेको राजाको प्रत्यक्ष शासनलाई पनि समाप्त गरिसक्यौं तर त्यस समयमा मृत्युवरण गर्नेहरुको सोलो डोलो मौन धारणबाट सम्झना गर्ने वाहेक अरु भएन ।

मुलुक संघीय गणतन्त्रमा सामेल भै सकेको छ । यस अबस्थामा राज्यले शहीदको खोजी गर्ने एउटा पाटो बेपत्ता तथा छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेको छ । यि दुवै आयोगको अन्तर चरित्रलाई हेर्ने हो भने नेपालमा शहीदको खेती छ त्यस्तो शहीदको खेतीलाई कसरी किनारामा पर्याउने भन्ने नै हो । सरकारले गठन गरेका यि आयोगहरु राज्यले बुझाएका फाइलहरु वाहेक उनीहरुसंग केही देखिदैन । मानौ राज्यले उनीहरुलाई मान मनितोको लागि उक्त पदमा पुर्याएको हो ।

पहिलो निरङकुशताका बिरुद्ध लडने पात्रहरुको सम्झना गरिरहयौं तर दोस्रो निरङकुशताका बिरुद्ध लड्दा शहादत प्राप्त गर्नेहरुप्रति केही सोच्न सकिरहेका छैनौ । गणतन्त्र प्राप्तीको लागी शहादत प्राप्त गर्नेतर्फ पनि पुरै वेवास्ता गरिरहेका छौं । हामी कुनै पार्टीका महान नेताको पगरी गुथिरहेका छौं तर जुन विचारको लागि, सोचका लागि, समृद्धिको लागि र समाजमा न्यायको आवाज बुलन्द गर्नको लागि जुन ढङ्गले शहादत प्राप्त गरे आज उनको विचार, सोंचहरुमा परिवर्तन भैरहेको छ । उनीहरुलाई युद्धमा आह्वान गर्ने नेताहरु, आन्दोलनको अगुवाई गरेर हिंडनेहरुले आफनो विचार र सोंच परिवर्तन गरिसके । आज त्यसरी शाहदत प्राप्त गर्नेहरु कता छन् उनीहरुलाई नै थाहा छैन ।

शहीदको परिभाषा भित्र कस्तालाई राख्ने हो त्यसको नीति सबैले बुझ्ने भाषामा पनि राख्न सकिरहेका छैनौ । सीमा रक्षाको लागि लड्ने शहीद , स्वतन्त्रताको लागि लड्ने शहीद, बिकास र समृद्धिको लागि लड्ने शहीद , न्याय र समानताको लागि लड्ने शहीद, बैज्ञानिक शिक्षा लागु गराउन गरिएको संघर्षमा बनेका शहीद , वा न्युनतम गाँस, बास, कपासको सम्बन्धमा माग गर्दा गर्दै बनेका शहीदको बर्गीकरण हुनु पर्ने हो । शहीदलाई कसैको पार्टी बिशेषको रुपमा पनि हेर्ने गर्दछौ र आम नागरिकलाई भ्रामक समाचार सम्प्रेषण गर्न पनि पछि पर्दैनौ । शहीद कसैका हुँदैनन शहीद राज्यका हुन्छन् ।

हाम्रा विचारहरु फरक हुन सक्दछन तर शहीद फरक नहुन पर्ने हो तर पुरातन र जडशुत्रवादी सोंचका कारण हामी त्यसतर्फ रुमल्लिरहेका छौं । २००७ सालको निरङकुश राणा शासनको बिरुद्ध, २०१८ सालको नेपाली काँग्रेसको निरङकुश पञ्चायत बिरुद्ध भएको सशश्त्र युद्ध, २०२८ सालको बर्ग शत्रु अभियान, २०४२ को सत्याग्रह आन्दोलन, २०४६ को पञ्चायत बिरुद्धको आन्दोलन, २०५२ बाट शुरु भएको नेकपा माओवादीको १० बर्षे जनयुद्ध, २०६२/०६३ को जनआन्दोलन फरक फरक समयमा आन्दोलन र युद्धमा शहादत प्राप्त गर्ने वीर शहीदहरुको बारेमा शहीदकै बारेमा पनि अलमलिएका छौं ।

को शहीद हुन् को होइनन ? शहीदका सपना विचारलाई कार्यान्वयन गर्नको लागि बनाउने नीति योजना र कार्यक्रमहरु राजनैतिक पार्टीका एजेण्डाभित्र रहन सकेका छैनन् । शहीदको मान मनितोको लागि शहीदका परिवारलाई नीति निर्माण तहमा पुराउनु पर्ने हो तर जनयुद्धमा २/२ वटा छोरा शाहदत प्राप्त गर्नेको आमा होइन, सावित्री कुमार काफ्लेको श्रीमती त्यसमा अटाउन सक्छिन् जन आन्दोलनको प्रथम शहीदकी पत्नीको सट्टामा कोमल वलीहरु पर्न सक्छन् । परिवर्तनको लागि लड्ने त्यस्ता वीर योद्धाहरुको परिवारलाई किन आरक्षित गर्न सकेनौ ? अर्को विडम्वना देखिएको छ ।

राजनैतिक नेतृत्वमा परिवारवाद, चाकडीवाद , धनवाद , डनवादलाई अगाडि राखेर राजनैतिक नेतृत्व आफना कार्यक्रम बनाइरहेका छन् । सवारी र्दुघटनामा परि मृत्युवरण गरेकाहरुका हकमा बाटो छेकेर शहीद हुन् भनेर नारा लगाई रहँदा वा यो वा त्यो कोणमा मृत्युवरण गर्नेहरुलाई शहीदको कोटामा राखेर बिभिन्न लाभको पदमा आसिन गराइरहेका छन् ।

शहीदले खोजेको भविश्यलाई सम्बोधन हुन गइरहेको छैन । शहीद खोज्न बनाइएका आयोग टसमस हुन सकेका छैनन् । यस्ता आयोगहरुको आजसम्म कुनै कार्य प्रगति छ नत हराएका शहीदहरु फेला परेका छन् । राजनैतिक नेताहरु स्वागत, सम्मान, बधाई बटुल्लन हम्मे हम्मे हुने र क्लब, सहकारी, मन्दिर, कार्यालयको उद्घाटनमै व्यस्त रहनेहरुले हराएका शहीदको सोंच र विचारलाई कार्यक्रम बनाउने, लागु गर्ने सम्बन्धमा कहिल्यै ध्यान पुराउन सकेको देखिदैन ।
शहीद मात्र खोज्ने होइन शहीदका सोंच र विचारलाई कार्यान्वयन गर्ने हो । बेरोजगार, अशिक्षा, गरिवीको अबस्थालाई सम्बोधन गर्नुपर्ने हो तर कसैको पनि यस तर्फ नारामा बाहेक यथार्थमा प्राप्त हुन सकेको छैन । हाम्रा लक्ष्य र योजना किन प्राप्त भएनन ? एकले अर्कोलाई दोष थोपर्ने बाहेक हाम्रा हतियार अरु हुन सकेनन् । छोरा छोरी मरेर, सिँउदो पुछिएर छटपटिएका, बाबु आमा गुमाएर शहारा विहिन बनेकाको आत्मालाई सोधेर, देशको माटो मुठीमा राखेर शहीदलाई सम्झनेहरुको सोंच यथार्थमा देखिएको छैन ।

आफु सत्तामा पुग्ने भर्याङ र आफनो स्र्वाथमा प्रेरित हुने वाहेक शहीदको सपनामाथि सम्बोधन हुन सकेको देखिँदैन । शहिदको मान मनितो त्यतिबेला हुने थियो जति बेला जुन प्रकारको उद्देश्य प्राप्तीका लागी उनीहरुले आफनो जीवन उत्सर्ग गरेका थिए ।

राजनीतिमा कस्तो नेतृत्वलाई स्विकारी रहेका छौं जसले शहीद घोषणा गर्छ तर शहीदको विचार भेटाउन सक्दैन । आयोग गठन गर्छ त्यस्को कार्यको बर्षौंसम्म खोजवीन गर्दैन । आफनो जीवन निर्वाहको लागि राज्यको सबै संयन्त्र प्रयोग गर्छ तर शहीदहरुबाट आस्रित परिवारको हकमा आँखा चिम्लि रहन्छ । दाम भेटछ । आलिसान घर पाउँछ । गरगहना खोजेर पहेंलपुर हुन्छ । आफ्ना छोराछोरीलाई बिदेशका महङ्गा स्कुलहरु पढाउँछ । धन कमाउने व्यापारको लागि स्वास्थ्य प्रतिष्ठानहरु पाउँछ । स्वास्थ्य परीक्षणको लागि बिदेशमा जाने राज्यको ढुकुटी दोहन गर्छ तर भेटिएका वा नभेटिएका शहीदका आस्रितहरु पेटभरी खान अन्नको गेडा पाउँदैन । सानो सानो झुपडी भुकम्पले भत्काउँदा पनि ओत लाग्ने ठाउँ पाउँदैन । बिरामीले थलिदा सिटामोलको ट्याव्लेट पाउँदैन । स्कुलको मुख त परै जावस् दिनभर कुल्लि काम गरेर पेट पाल्ने काम पाउँदैन । यस अबस्थामा राज्यले शहीदका सोंच र विचार लागु गर्ने तर्फ कसरी थाहा पाउला ! अनि हराएका शहीदको थात थलो कसरी पत्ता लगाउला ?

[email protected]

लेखकबाट थप

स्वेत अपराध र दण्डहीनता

प्युठानले थाहा नपाएको श्रीखण्ड

निर्वाचनको लेखा

Tags :
प्रतिक्रिया दिनुहोस