लघुवित्त कार्यक्रमले जीवनस्तरमा धेरै सुधार ल्याएको छ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लघुवित्त कार्यक्रमले जीवनस्तरमा धेरै सुधार ल्याएको छ


१४ माघ २०७४, आइतबार


नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल इन्भेष्टमेन्ट बैंकको सहकार्यमा लघुवित्त कार्यक्रमबाट अहिलेसम्म २० हजार सात सय भन्दा बढी व्यक्तिलाई ऋण प्रवाह गरिसकेको छ । पुँजीको अभावमा काम गर्न नसकिरहेका अवकाशप्राप्त सैनिक तथा तिनमा आश्रित परिवार, बहालवाला सैनिकका परिवार तथा एकल महिलाहरूका लागि ल्याइएको यस कार्यक्रमले साँच्चै नै लोकप्रियता कमाइरहेको छ । लघुवित्त कार्यक्रमबाट सैनिकको जीवनमा ल्याएको परिवर्तन, नेपाल इन्भेष्टमेन्टको लगानीको अवस्था तथा यसका समग्र प्रभावलगायत विषयमा नेपाल इन्भेष्टमेन्ट बैंकका डेपुटी म्यानेजर अमन श्रेष्ठसँग प्रशासन डट कमका एस राज उपाध्यायले गरेको कुराकानी ।

कस्तो चलिरहेको छ लघुवित्त कार्यक्रम अनि फिल्ड अवलोकनको क्रममा के कुराले यहाँलाई खुसी बनाउँछ ?
पुँजीको अभावमा व्यवसाय सञ्चालन गर्न नसकिरहेको अवस्थामा लघुवित्त कार्यक्रमअन्तर्गत हामीले जुन स–सानो ऋण प्रवाह गरेका छौँ । त्यसबाट व्यवसाय गरेर आफ्नो परिवार धानेका छोराछोरी पढाएको र बचत समेत गरेर सामाजिक कार्य गरेको देख्दा अत्यन्तै खुसी महसुस हुन्छ ।

लघुवित्तबाट ऋण लिने बढीजसोले कुन व्यवसाय अपनाएका छन् ?
धेरैजसो व्यक्तिले कृषि तथा पशुजन्य उत्पादनमा नै लागेको देखिन्छ । कुनै ठाउँमा केही राम्रो होला, कुनैमा केही । ओभरल त्यो ठाउँको बनोट, रिसोर्सेजको परिचालन गरेर मान्छेले विभिन्न किसिमका काम गरिरहेको पाउँछौँ ।

लघुवित्त कार्यक्रमले सामाजिक जीवनस्तर बढोत्तरीमा कतिको सहयोग पुर्‍याएको छ ?
लघुवित्त कार्यक्रमले आर्थिक, सामाजिकलगायत समग्र जीवनस्तरमा धेरै ठुलो सुधार र परिवर्तन ल्याएको हामीले देखेका छौँ । केही पनि नगरेर चुप लागेर बसेको अवस्थामा अब आफ्नै घरमा आफ्नै परिवारसँग बसेर जुन काम गरिरहेका छन् । त्यसबाट परिवारको स्तर त पक्कै पनि माथि उठ्छ नै । जब मान्छे आर्थिक रूपमा बलियो हुन्छ, तब सामाजिक प्रतिष्ठामा बढोत्तरी आउँछ । आय आम्दानी बढ्ने भयो । छोराछोरीले राम्रो शिक्षादीक्षा पाउने भए । हरेक सामाजिक कार्यमा उसको सम्मानजनक सहभागिता रहने भयो । उसप्रति समाजको हेर्ने दृष्टिकोणमा नै फरक आउँछ ।

त्यसो भए बैंकले ठिकै ठाउँमा लगानी गरिरहेको छ त ?
लघुवित्त कार्यक्रमअन्तर्गत ऋण प्रवाह गर्न मान्छे छान्न सबैभन्दा ठुलो चुनौती हो । हामीले नेपाली सेना कल्याणकारी बोर्डसँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गरिरहेकोले यसमा केही सहज भएको छ । किनकि उनीहरूभित्र को मान्छे लगनशील र केही गर्न खोजिरहेको छ । कसको आर्थिक अवस्था के छ ? आफ्नो कसलाई दिँदा उपयुक्त हुन्छ भन्ने कुरा पहिल्यै छानिसकेकाले हामीले ती व्यक्तिलाई ऋण प्रवाह गर्दा धेरै नै सजिलो भएको छ । यसबाट हामीलाई धेरै सहयोग प्राप्त भएको छ ।

अनुगमनका क्रममा देशभर घुम्नु पनि भएको छ, स्थलगत रूपमा हेर्दा बैङ्कले प्रवाह गरेको ऋणको कतिको सदुपयोग भएको पाउनु भएको छ ?
नेपाली सेनामा कार्यरत सैनिक अवकाश पाएपछि घर फर्किन्छ । ऊ एक–दुई महिना त काम खोजेर बस्छ । काम नपाएपछि अवकाश हुँदा पाएको पैसा म्यानपावरलाई तिरेर ऊ विदेश जान्छ । विदेश गएपछि यता बालबच्चा कसले हेर्ने त ? जसको ठुलो परिवार छ,उनीहरूको हेर्ने मान्छे पनि होलान् । तर, एकल परिवारमा त बालबच्चाको पनि बिजोग भएको अवस्था छ । त्यो अवस्थामा यस कार्यक्रमबाट ऋण लिएर व्यवसाय गर्नेले राम्रै आम्दानी गरिरहेका छन् । अधिकांशले तरकारी खेती, बाख्रा पालन, गाई पालन र भैँसी पालन गरेका छन् । छोराछोरीलाई राम्रै शिक्षादीक्षा दिइरहेका छन् । त्यति मात्र होइन, केही रकम बचत पनि गरेका छन् । यसले कार्यक्रम प्रभावकारी भएको देखिन्छ ।

यस कार्यक्रमका के-के चुनौती देख्नुहुन्छ ?
कतिपय मान्छेलाई बैंकिङ प्रक्रियाबारे थाहा छैन । ऋण लिइसकेपछि कसरी सावा र व्याज तिर्ने भन्ने कुराको ज्ञान अभाव छ । आर्थिक अनुशासनमा बसेपछि बैंकले पनि पत्याउने हुन्छ नि । त्यही बुझाउन हामीलाई अलिकति च्यालेन्जिङ छ । जस्तो : कतिपय अवस्थामा ऋणीले नबुझेर दुई महिनापछि पनि किस्ता र ब्याज तिरेका छन् ।

हामीले फिल्डमा गएर पनि समयमा पैसा तिर्नुपर्छ भनेर यसबारे सम्झाउँदै, बुझाउँदै आएका छौँ । अलिकति डिफल्ड पनि निस्किएका छन् । ती डिफल्डलाई हामीले निष्क्रिय गरेर न्यूनीकरण गर्दै लगिरहेका छौँ । समग्रमा भन्ने हो भने यसका सकारात्मक पक्ष नै धेरै छन् ।

आजका दिनसम्म आइपुग्दा बैंकले ऋण प्रवाह कसरी गर्दै आएको छ ?
राष्ट्र बैंकको सर्कुलर अनुसार कुनै व्यक्तिले ऋण लिएर दुई वर्षसम्म राम्रो व्यवसाय गरेर नियमित रूपमा किस्ता तिरेको खण्डमा दुई वर्षपछि उसको ऋणमा वृद्धि गर्ने भन्ने छ । ती योजनाअन्तर्गत नै एक लाख लिनेले तीन लाखसम्म, तीन–चार लाख लिनेले सात लाखसम्म परियोजना हेरी ऋण पाउन सक्छ ।

भनेको दोस्रो चरणमा ऋण लिन चाहनेले पहिलो चरणमा समयमै ऋण तिरेको हुनुपर्‍यो हैन त ?
हो । राम्रा व्यक्तिलाई रिटर्न गर्नु बैंकको लक्ष्य हुन्छ । जुन व्यक्ति राम्रो काम तथा परिश्रम गरिरहेको छ । र, समयमा किस्ता बुझाउँछ । त्यो बैंकका लागि राम्रो क्लाइन्ट हो नि । त्यस्तो क्लाइन्टलाई त बैंकले छोड्न चाहँदैन । बैंकले उसलाई केही न केही त रिटर्न गर्न चाहेकै हुन्छ । त्यो यही र एउटै कुराबाट दिनुपर्छ भन्ने छैन । जस्तो अहिले माइक्रोफाइनान्समा होला । भोलि व्यापार बढाउन चाह्यो भने त्यसमा ऋण चाहिएला । घर जग्गा जोड्ने अवस्था आउला । त्यसपछि उ अझ माथि पुग्न चाहला । अगाडी बढ्दै गर्दा जाँदाबैंकले उसलाई धेरै हेर्नुपर्दैन । किनभने त्यो क्लाइन्टलाई त बैंकले पहिले नै चिनिसकेको हुन्छ, को क्लाइन्ट कस्तो हो भनेर । जसले गर्दा बैंकलाई पनि सजिलो हुन्छ । र,ऋणीलाई पनि फाइदा नै हुन्छ ।

यी चुनौतीको समाधानका लागि केही योजना पनि बनाउनुभएको छ कि ?
हाम्रो सेन्ट्रल लेबलबाट जुन फिल्ड भिजिट हुन्छ, त्यतिबेला त्यो ठाउँमा ऋणीलाई बोलाएर सेमिनार जस्तो एउटा वर्कसप राख्छौँ । उनीहरूलाई कसरी काम गर्नुपर्छ ? के गर्नुपर्छ ? भनेर काउन्सिलिङ गर्नुपर्छ । नबुझेका कुरा विशेषज्ञमार्फत बुझाउँछौँ । यसका साथै नेपाली सेना कल्याणकारी बोर्ड अन्तर्गत रहेको इपिसेन्टर कार्यालयहरूमार्फत हरेक महिना या तालिका अनुसार तालिम दिने योजना छ ।

त्यो व्यावसायिक तालिम मात्र होइन, एउटा कोर्स राखेर बैंक र काम गर्ने तरिकाबारे हामीले सिकाउँछौँ ।

यस कार्यक्रमको सफलता र प्रभावकारितासँगै अझ यसलाई वृद्धि गर्न बैंकको के योजना छ ?
नेपाल इन्भेष्टमेन्ट बैंकबारे भन्नुपर्दा लोन पोर्टफोलियो बढ्दै छ । लोनपोर्टफोलियो बढेपछि माइक्रोफाइनान्स डिप्राइभ सेक्टरको लगानी गर्नुपर्ने रकम पनि वृद्धि हुँदै छ । त्यो अनुसार हामी नेपलिज आर्मी वइलफेयर बोर्डसँग मिलेर बढीभन्दा बढी उनीहरूको हिताधिकारीलाई यसमा समावेश गरेर सेवा पुर्‍याउने हाम्रो योजना छ ।

यो कार्यक्रमले देशमा बढ्दो बेरोजगार समस्या समाधानमा कतिको सहयोग पुगेको देख्नुहुन्छ ?
विदेशमा गएर आएका मान्छे त विदेशमा केही हुँदो रहेन छ भनेर फेरी स्वदेशमै आएर कृषि कर्म गरिरहेको हामीले विभिन्न पत्रपत्रिकामा पढिरहेका छौँ । जो विदेश जान खोजिरहेका छन्, त्यस्तोलाई रोक्न यो माइक्रोफाइनान्सले धेरै काम गरेको छ । हामी विदेश जान लागेको मान्छेलाई यस कार्यक्रमबारे जानकारी दिएर स्वदेशमै व्यवसाय गर्न सल्लाह दिन्छौँ । आफ्नै परिवारसँग बसेर काम गर हामीले भन्छौँ । र, त्यसले गर्दा विदेश जाने मान्छेलाई केही हदसम्म यसले रोकेकै छ ।

बराबर रूपमा स्थलगत अवलोकनमा गइरहनु हुन्छ, ऋणीहरूको चाहना के पाउनुहुन्छ ?
ऋण लिइसकेपछि आफ्नो व्यवसाय हेरिदियोस् भन्ने ऋणीको चाहना हुन्छ । ऋण लिएर व्यवसाय गरेपछि आम्दानी र समाजमा प्रतिष्ठा बढेको छ भनेर उनीहरू देखाउन कुरेर बसिरहेका हुन्छन् ।

हामी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म घुम्छौँ । हामी गएका ठाउँमा उनीहरूले ऋण लिनुअघि र अहिलेको अवस्था भन्छन् । यसले खुसी बनाउँछ ।

नेपाल इन्भेष्टमेन्ट बैंकबाट जो ऋण लिएर काम गरिरहेका र ऋण लिन चाहन्छन् उनीहरूका लागि तपाइको सुझाव के छ ?
यो लघुवित्त कार्यक्रम (माइक्रोफाइनान्स प्रोग्राम) भनेको धेरै राम्रो छ । एकदम सहुलियत ब्याजदरमा ऋण दिइरहेका छौँ । यसबाट ऋण लिएर तपार्इँले आफ्नो राम्रो व्यवसाय गर्नुस् । ऋणको राम्रो सदुपयोग गर्नुस् । आफ्नो परिवार र आफ्नो बालवच्चसँग खुसीसँग बस्नुस् ।

एस राज उपाध्यायबाट थप,

सैनिक परिवारको सहारा

भूतपूर्वहरुले बनाएको वर्तमान पहिचान

के निश्कन्छ मतपेटिकाबाटः देवता कि दानव ?

पति सेनामा, पत्नी व्यवसायमा

लघुवित्तले भिन्नै परिचय स्थापित गराएको छ

लघुवित्त कार्यक्रमले मध्यम तथा निम्न वर्गीय परिवारलाई सहयोग पुर्‍याएको छ

सैनिक परिवारको आर्थिकस्तर बढाउन लघुवित्त कार्यक्रम सञ्चालन गरेका हौं

सैनिक परिवारको जीवनस्तर उकास्न लघुवित्त कार्यक्रम सञ्चालन गरेका हौं

सैनिक परिवारलाई हौसला

Tags :
प्रतिक्रिया दिनुहोस