रहस्य बुझ्ने माध्यम « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रहस्य बुझ्ने माध्यम


१३ माघ २०७४, शनिबार


यस संसारमा कोही परमात्मामा विश्वास गर्छन् र कोही सन्देह गर्छन् । कोही आत्मालाई मान्छन्, कोही यसलाई नकार्छन् । यसमा विश्वास गर्ने र नगर्नेमा अनादिकालदेखि विवाद छ तर एउटा अर्को सत्यमाभने कुनै विवाद छैन, त्यो हो मृत्यु । आस्तिक, नास्तिक सबैले मर्नुपर्छ ।

मृत्यु एक यस्तो यथार्थ हो, जो सुनिश्चित छ र प्रतिपल निकट आइरहेको छ । मृत्युपूर्व हामीसँग केही समय छ । त्यसको सही ढंगले उपयोग गर्न सक्यौं भने जन्म र मृत्युको रहस्य बुझ्न सक्छौं । जन्म र मृत्युको रहस्य बुझ्ने प्रयोगको नाम ध्यान हो ।

एक जीवन छ, जो दृश्य छ र इन्द्रियहरूको पकडमा छ । अर्को एक जीवन छ जो इन्द्रियहरूको शक्तिशाली सञ्जाल पनि पर्याप्त छैन । मृत्युपारको जो जीवन छ, त्यो क्षितिज जस्तै छ, त्यसले बोलाउँछ, आकर्षित गर्छ तर सामान्यतः पकडमा आउँदैन । विशेष ध्यानका प्रयोगबाट त्यसलाई बुझ्न सकिन्छ । हिन्दू, बौद्ध र जैनहरूको जातीय स्मृतिको प्रयोग, तिब्बती लामाहरूको बार्डो प्रयोग र अहिले पश्चिमका परामनोवैज्ञानिकहरूले विकसित गरेका ‘न्यू एज आन्दोलन’ का गुह्य प्रयोगहरूद्वारा पूर्वजन्मका स्मृतिलाई बोधमा ल्याउने प्रयास गरिँदैछ ।

अमेरिकामा एउटा अद्भूत घटना भयो । विलियम बार्नसलाई एक जहाज डुबिरहेको स्मृतिले बच्चादेखि नै दुःख दिन्थ्यो । जब उनी पाँच वर्षका भए, उनले एक जहाजको भव्य चित्र बनाए र आफ्ना आमाबाबुलाई भने, ‘यो जहाज मैले बनाएको थिएँ तर डुब्यो ।’ उनले बनाएको चित्र प्रसिद्ध जहाज टाइटानिकको थियो । त्यस जहाजका निर्माता थिए टोमी एन्डिज, जो स्वयम् विलियमको विगत जन्म थियो । पछि रिग्रेसन थेरापीको सघन प्रयोगबाट विलियमले आफ्ना पूर्व जन्मका स्मृतिहरू उतार्न सफल भए । उनले एक किताब लेखेका छन्, ‘आइ बिल्ट द टाइटानिकः पास्ट लाइफ मेमोरिज अफ अ मास्टर शिप बिल्डर’ (मैले नै टाइटानिक बनाएँः जहाज निर्माताको पूर्वजन्मका स्मृतिहरू) । विलियम पछि गएर रिग्रसन थेरापीका प्रमुख प्रवक्ता भए ।

पूर्वमा जति धर्महरू विकसित भए हिन्दू, जैन, बौद्ध सिख, यी सबैले पुनर्जन्मको धारणा मानेका छन्, त्यही धारणा नै यी धर्मको मूल आधार हो । पुनर्जन्मको मान्यता यी धर्महरूबाट हटाइएन भने यिनीहरू आधारविहीन हुन्छन् । पश्चिममा जो धर्महरू विकसित भए, यहुदी, इसाई र इस्लाम यी एक जन्ममा विश्वास गर्छन्, पुनर्जन्म मान्दैनन् तर विगत शताब्दीमा पूर्वीय धर्महरूको ठूलो छाप पश्चिममा पर्यो ।

१९८२ मा अमेरिकामा गरिएको जनमत सर्वेक्षणअनुसार २० प्रतिशत अमेरिकी पुनर्जन्ममा विश्वास गर्थे । हाल माफक्स न्युजले गरेको सर्वेक्षणमा २५ प्रतिशत अमेरिकी पुनर्जन्ममा गहिरो विश्वास गर्छन् । पश्चिमका मूर्धन्य व्यक्तिहरूले आज पुनर्जन्ममा विश्वास गर्न थालेका छन्, जस्तै हेनरी फोर्ड, बिटल्सका जर्ज ह्यारिसन, नायक सिल्भेस्टर स्टालोन, रिचड गेरे, स्टेफिन सिगल, गायिका म्याडोना इत्यादि ।

अमेरिकी प्रसिद्ध कार निर्माता र समाजसेवी हेनरी फोर्ड लेख्छन्, ‘मेरो धर्मले मलाई केही पनि दिन सकेन, मेरो काम र समृद्धिले पनि मलाई सन्तोष दिएन । जब मैले २६ वर्षको उमेरमा पुनर्जन्मको सिद्धान्त स्वीकार गरें, मेरो समय बन्धनको सीमा टुट्यो । पुनर्जन्मप्रतिको श्रद्धाले मलाई गहिरो शान्ति र असीम स्वतन्त्रता दिएको छ । यो श्रद्धा अनेकौं जन्मपछि आउने रहेछ ।’

अमेरिकी डाक्टर मोडीको अमेरिकाभरि झन्डै मरेका ‘नियर डेथ एक्सपिरियन्स’ गरेका व्यक्तिहरू तर पछि जीवित हुन आएकाहरूको अनुभवको सँगालो र त्यसको विश्लेषणले पनि आत्माको अमरताको धारणालाई पुष्टि गरेको पाइन्छ । पश्चिममा न्युएज आन्दोलनमा भइरहेको ओबीसी ‘आउट अफ बडी एक्सपिरियन्स’ तथा ‘पास्ट लाइफ थेरापीका’ उपलब्धिहरूबाट पनि यसको पुष्टि भएको छ । मेरो विश्वास छ यसै शताब्दीमा आत्माको अमरता र पुनर्जन्मको सिद्धान्त पश्चिमको प्रयोगशालामा वैज्ञानिक रूपले प्रमाणित हुनेछ र एक जन्ममा विश्वास गर्ने पश्चिमी धर्महरूले आफू सच्चिन बाध्य हुनु पर्नेछ ।

सामान्य चेतना मरेको १२ दिनपछि नै नयाँ जन्मकालागि जुर्मुराउन थाल्छ र एक वर्षपछि कुनै बेला जन्म लिन्छ । धेरै निकृष्ट र अतिउच्च चेतनालाई उपयुक्त गर्भ खोज्न समय लाग्छ । ओशोको खोज छ, बुद्धको पछिल्लो जन्म ७८ सालअघि, महावीरको २ सय ५० वर्षपूर्व, कृष्णको २ हजार वर्ष र ओशो स्वयम्को ७ सय वर्षपूर्व भएको हो ।

विगत शताब्दीमा रूसका महान् गणितज्ञ पीडी अस्पेन्स्की (जो सम्बुद्ध गुरु जर्ज गुर्जिएफका शिष्य थिए) ले मृत्युको साक्षात्कारको धेरै प्रयोग गरे । मृत्युअघि डाक्टरहरूले उनलाई अब जुनसुकै बेला प्राण जाने बताएपछि उनी ओछ्यानबाट उठी हिँड्न थाले र हिँड्दाहिँड्दै बोधपूर्वक शरीर त्यागे । अस्पेन्स्की र गुर्जियफ जस्ता व्यक्तिहरूले बोधपूर्वक शरीर छोडेका हुनाले उनीहरूको चेतना अझै जागृत छ र आज पनि आफ्ना शिष्यहरूलाई मद्दत गरि रहन्छन् । गुर्जियफले शरीर त्यागि सकेपछि पनि सधै वार्तालाप गरिरहने केही शिष्यलाई यस पंक्तिकारले पनि भेट्न मौका पाएको छ ।

सामान्य व्यक्ति अचेतै मर्छन् र शरीर छोडिसकेपछि तिनको आत्मा एक गहिरो निन्द्रामा रहन्छ । बोधपूर्वक शरीर छोड्नु ध्यानको गहिरो प्रयोग र उपलब्धि हो । तिब्बतमा विकसित बार्डोको प्रयोग शरीर छोडिरहेको चेतनालाई मार्गदर्शन गरी पूर्ण होशाम शरीरबाट मुक्तगर्ने शरीर छोडेपछि पनि आत्मालाई राम्रो ठाउँमा जन्माउने प्रयोग हो । ओशो यस प्रयोगमा सिद्धहस्त हुनुहुन्थ्यो ।

स्वामी आनन्द अरूणको सन्तदर्शनबाट

Tags :
प्रतिक्रिया दिनुहोस