प्रदेश सभाका सांसदको ऐतिहासिक शपथ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रदेश सभाका सांसदको ऐतिहासिक शपथ


८ माघ २०७४, सोमबार


प्रदेश १
एक घन्टा अलपत्र परे सांसद
प्रदेश १ का सांसदलाई आइतबार बिहान १० बजे विराटनगरस्थित वीरेन्द्र सभाहलमा शपथ खुवाउने कार्यक्रम थियो । सांसद र अन्य आगन्तुक समयमा नै पुगे । सभाहलबाहिर ठूलै भिड जम्मा भइसकेको भयो । तर, सांसदहरूको शपथ कार्यक्रम राखिएको सभाहलको ढोका खुलेन । करिब डेढ घन्टा सांसद बाहिरै अलपत्र परे ।

तोकिएको समयमा सभाहलमा कुर्सी व्यवस्थापन भइसकेको थिएन । धमाधम कुर्सीमा कभर राखिँदै थियो । ११ बज्नै लाग्दा सभाहलको ढोका खोलियो र सांसद भित्र पसे । अतिथि र सांसद कहाँ बस्ने भन्ने छुट्याइएको थिएन । जसले जहाँ सिट पाए त्यहीँ बसे ।

कार्यक्रम औपचारिक रूपमा सुरु भएपछि बल्ल उद्घोषकले सांसदहरूलाई बायाँतिर बस्न आग्रह गरे । सभाहल एकछिन फेरि अस्तव्यस्त भयो ।

प्रदेश प्रमुख गोविन्द सुब्बाले ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीलाई शपथ गराए । उनले अन्य सदस्यलाई शपथ खुवाए । संघीय समाजवादीका जयराम यादवले भने मैथिलीमा शपथ लिए । सबै सांसदलाई नेपालीमा शपथको मस्यौदा बाँडिएको थियो । उनले उल्था गरेर मैथिलीमा शपथ खाएको र मस्यौदा पनि मैथिलीमै सारेर हस्ताक्षर गरेको बताए ।

प्रदेश २
शपथमा नै सांसदको हुटिङ
जनकपुरस्थित उद्योग वाणिज्य संघको सभाहलमा बिहान ११ बजे प्रदेश २ का सांसदको शपथ कार्यक्रम भयो । धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईंले कार्यक्रमको उद्घोषण सुरु गर्नेबित्तिकै सांसदहरूले मैथिलीमा शपथ गर्न पाउनुपर्ने भन्दै हुटिङ थाले ।

उद्घोषकले आफ्नो रुचिअनुसारको भाषामा सांसदहरूले शपथ लिन पाउने बताएपछि मात्रै उनीहरू शान्त भएर आसनग्रहण गरे । धेरै सांसदको माग मैथिलीमा शपथ गर्न पाउनुपर्ने थियो ।

प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले ज्येष्ठ सदस्य लगनलाल चौधरीलाई मैथिली भाषामै शपथ गराउन थाले । तर, अर्का प्रदेश सभा सदस्य जगत यादवले हुटिङ गरेर हिन्दीमा शपथ गर्न पाउनुपर्ने माग गरे । लगत्तै ओमप्रकाश शर्माले भोजपुरीमा पनि शपथ गराउनुपर्ने माग गरे । सभाहल एकछिन अस्तव्यस्त बन्यो ।

चार भाषामा शपथ
हुटिङकाबीच सांसदहरूको आ–आफ्नो रुचिअनुसारको भाषामा शपथको व्यवस्था मिलाइयो । सांसदहरूले मैथिली, नेपाली, हिन्दी र भोजपुरी भाषामा शपथग्रहण गरे ।

२४ सदस्यले नेपालीमा, ४७ ले मैथिलीमा, ११ ले हिन्दी र २५ जनाले भोजपुरीमा शपथ लिए । प्रदेश २ मा प्रत्यक्षतर्फ निर्वाचित ६४ र समानुपातिकतर्फका ४३ गरी १०७ सांसद छन् । प्रदेश प्रमुख कायस्थले २१ माघमा प्रदेश सभाको बैठक डाकेका छन् ।

प्रदेश ३
सडक सिँगारेर सांसदको स्वागत
शपथ ग्रहणमा सहभागी हुन आउने प्रदेश सभाका सांसदको स्वागतका लागि आइतबार हेटौँडाका मुख्य सडक सफा गरेर सडक दायाँबायाँ घडा राखिएको थियो । स्थानीयवासी सडकमा नै आएर सांसदलाई फूल दिएर स्वागत गरे ।

समूह बनाएर साना सवारीसाधन रिजर्भ गरी अन्य जिल्लाका सांसद हेटौँडा पुगेका थिए । शपथको समय सुरु हुने वेलासम्म पनि सांसदहरू आउने क्रम जारी थियो । हेटौँडा बजारको सुरक्षा व्यवस्था निकै कडा बनाइएको थियो । प्रदेश प्रमुख अनुराधा कोइरालाले संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभाका ज्येष्ठ सदस्य एमाले सांसद डोरमणि पौडेललाई शपथ गराएकी थिइन् ।

बाँकी सदस्यलाई पौडेलले शपथ गराए । प्रदेश ३ मा प्रत्यक्षतर्फ निर्वाचित ६६ र समानुपातिकतर्फका ४४ गरी ११० सांसद छन् । अधिकांशले नेपाली र केही सांसदले मातृभाषामा शपथ लिए । शपथ कार्यक्रमपछि सांसदहरूका लागि एभोकाडो एन्ड अर्किड रिसोर्टमा दिवाभोज व्यवस्था गरिएको थियो ।

राजधानीकै चर्चा
सर्वसाधारणझै सांसदहरू पनि प्रदेश राजधानीकै चर्चा गरिरहेका थिए । मकवानपुरका सांसदले हेटौँडालाई राजधानी बनाउने प्रतिबद्धता गरे । मुनु सिग्देल, ओम घलान, जुनेली श्रेष्ठ र सन्तबहादुर प्रजाले राजधानीका लागि हेटौँडा नै सबैभन्दा उत्तम भएको बताए ।

प्रदेश ४

दीपक मनाङेसहित दुईजना अनुपस्थित

प्रदेश प्रमुख बाबुराम कुँवरले आइतबार आफ्नो पद सम्हालेलगत्तै प्रदेश सभा सदस्यहरूलाई शपथ गराए । पोखराको नदीपुरस्थित प्रदेश सभास्थल ९नगर विकास प्रशिक्षण केन्द्रको हल०मा शपथग्रहण कार्यक्रम राखिएको थियो ।

दुई सांसद भने शपथ समारोहमा अनुपस्थित रहे । प्रदेश प्रमुख कुँवरले ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई शपथ गराए । बाँकी सदस्यलाई श्रेष्ठले शपथ गराए । प्रदेश सभास्थल रंगरोगन र मर्मतसम्भार गरेर सजाइएको थियो ।

दुई सांसद अनुपस्थित
मुस्ताङबाट निर्वाचित स्वतन्त्र सांसद दीपक मनाङेको नामले चिनिने राजीव गुरुङ र तनहँुका एमाले सांसद रामबहादुर गुरुङ शपथग्रहणमा उपस्थित थिएनन् । मनाङेलाई हालै सर्वोच्च अदालतले हत्या आरोपमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको थियो । यसअघि उनलाई पुनरावेदनले पाँच वर्षको सजाय सुनाएको थियो । उनी पक्राउ पर्ने डरले कार्यक्रममा उपस्थित भएनन् ।

एमाले सांसद गुरुङ काठमाडौंबाट पोखरा आउने जहाज डिले भएका कारण कार्यक्रममा पुग्न सकेनन् । उनी आइतबार मात्रै विदेशबाट काठमाडौं आएका थिए । शपथ कार्यक्रम सकिएपछि मात्रै उनी पोखरा पुगेका थिए । प्रदेश ४ मा प्रत्यक्ष निर्वाचित ३६ र समानुपातिकतर्फका २४ गरी ६० सांसद छन् ।

प्रदेश ५
निर्धारित समयमा पुगेनन् सांसद
प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सांसदहरूलाई बिहान ११ बजे बुटवल उद्योग वाणिज्य संघको सभाहलमा शपथ खुवाउने कार्यक्रम थियो ।

तर, निर्धारित समयमा ३० सांसद पनि उपस्थित भएनन् । त्यसकारण निर्धारित समयमा कार्यक्रम सुरु हुन सकेन । एक घन्टा ढिलो सुरु भयो । प्रदेश प्रमुख झाले ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेललाई शपथ गराए । बाँकी सांसदलाई पोखरेलले शपथ खुवाए ।

प्रदेश ५ मा प्रत्यक्ष निर्वाचित ५२ र समानुपातिकतर्फका ३५ गरी ८७ सांसद छन् । आइतबार ८५ सांसदले शपथ लिए । सभाहलमा सांसदहरूका लागि सेतो रङको कुर्सी राखिएको थियो । अन्य अतिथि र आगन्तुकका लागि प्लास्टिक कुर्सीहरूको व्यवस्था गरिएको थियो ।

शपथपछि प्रदेश प्रमुखले सबै सांसदसँग छुट्टाछुट्टै परिचय गरेका थिए । त्यसपछि सांसदहरू फोटो खिच्नमा व्यस्त बने । प्रदेश प्रमुख झाले पनि आइतबार नै पदबहाली गरेका हुन् । रुपन्देही व्यापार संघको कार्यालयमा उनको अस्थायी कार्यालयको व्यवस्था गरिएको छ ।

दुई सांसद अनुपस्थित
रुपन्देहीका सहायक सिडिओ शम्भुप्रसाद रेग्मीका अनुसार शपथ समारोहमा दुई सांसद अनुपस्थित रहे । उनका अनुसार रुपन्देहीकी राजपा सांसद विना पन्त र अर्घाखाँचीकी एमाले सांसद जलपा भुसाल शपथ कार्यक्रममा सहभागी भएनन् ।

प्रदेश ६
शपथ लिन हेलिकोप्टर चार्टर्ड
प्रदेश ६ का सांसदहरूले अस्थायी मुकाम सुर्खेतमा आइतबार शपथग्रहण गरेका छन् । प्रदेश प्रमुख दुर्गाकेशर खनालले उनीहरूलाई शपथ गराएका हुन् । खनालले ज्येष्ठ सदस्य हिमबहादुर शाहीलाई शपथ गराए । बाँकी ३९ सदस्यलाई शाहीले शपथ खुवाए ।

प्रदेश प्रमुख र सांसद नपुगेपछि कार्यक्रममा दुई घन्टा ढिलाइ
प्रदेश सांसदलाई बिहान ११ बजे शपथग्रहण गराउने कार्यक्रम थियो । त्यहीअनुसार सबैलाई निम्ता गरिएको थियो । तर, प्रदेश प्रमुख खनाल र प्रदेश सभाका आधाजसो सदस्य समयमा सभास्थल पुग्न सकेनन् । उनीहरू काठमाडौंमै थिए । शनिबार मौसम खराबीका कारण जहाज उड्न नसकेपछि आइतबार बिहान उनीहरू सेनाको हेलिकोप्टर चार्टर्ड गरेर सुर्खेत पुगे ।

प्रदेश प्रमुख खनाल आफैंले पदभार ग्रहण गरेका थिएनन् । त्यसैले विमानस्थलबाट सीधै पदबहाली गर्न प्रदेश प्रमुखको कार्यालय पुगे जहाँ उनले सेनाको सलामी पनि थापे । त्यतिन्जेल बिहान ११ बजे तोकिएको सांसदहरूको शपथ कार्यक्रम दिउँसो १ बजेका लागि सारिएको थियो ।

सांसदहरूको शपथ कार्यक्रम जिल्ला समन्वय समितिको साँघुरो सभाहलमा गरियो । आगन्तुक धेरै भएपछि कार्यक्रम नै अस्तव्यस्त बन्यो । कार्यक्रम सकिने वेलासम्म पनि कुर्सी प्रबन्ध गर्नमै आयोजक व्यस्त थियो ।

प्रदेश ७
प्रदेश प्रमुखको पर्खाइमा ५ घन्टा
बिहान १० बजे सांसदहरूलाई शपथग्रहण गराउने कार्यक्रम तय थियो । तर, प्रदेश प्रमुख नै नपुगेपछि झन्डै पाँच घन्टा ढिलो मात्रै कार्यक्रम सुरु भयो । काठमाडौंमै रहेका प्रदेश प्रमुख मोहनराज मल्ल जहाजबाट धनगढी फर्कने कार्यक्रम थियो ।

तर, हुस्सुका कारण जहाज नउडेपछि उनी सडकमार्गबाट आइतबार मध्याह्न मात्र धनगढी पुगेका थिए । केही सांसद पनि तोकिएको समयमा कार्यक्रमस्थल पुगेनन् । त्यसैले दिउँसो २ बजेका लागि शपथ कार्यक्रम सारियो । तर, सारिएको समयमा पनि एक घन्टा ढिलो गरी शपथ कार्यक्रम सुरु भयो ।

जिल्ला समन्वय समितिको सभाहलमा शपथ कार्यक्रम राखिएको थियो । प्रदेश प्रमुख मल्लले ७४ वर्षीया ज्येष्ठ सदस्य दिव्येश्वरी शाहलाई शपथ गराए । बाँकी ५१ सदस्यलाई शाहले शपथ गराइन् । प्रदेश ७ मा ५३ सांसद छन् ।

एक अनुपस्थित, एकको छुट्टै शपथ
डोटीबाट निर्वाचित भरतकुमार खड्का शपथ कार्यक्रममा उपस्थित भएनन् । सोमबार छोरीको बिहे भएका कारण उनी अनुपस्थित भएका हुन् । उनको शपथ पछि हुनेछ । त्यस्तै, चुनकुमारी चौधरी शपथ सकिएपछि मात्रै कार्यक्रममा पुगिन् । उनलाई छुट्टै शपथ गराइयो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस